फोटो पत्रकार बीजु महर्जन काठमाडौंको कीर्तिपुरमा जन्मे-हुर्केकी हुन्।
विभिन्न मिडिया संस्थाहरूमा आवद्ध भएर काम गरेकी बीजुले केही समयअघि 'सोरिङ अन स्टेज' शीर्षकमा फोटो-कथा तयार पारेकी छन्।
उनको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
बीजुले रंगकर्मी संगीत उराँवको फोटो-कथा तयार पारेकी छन्।
संगीतालाई घरम 'सुगिया' भनेर बोलाउँछन्। सुगिया अर्थात् सुगा। संगीता सुगाजस्तै उड्न चाहन्छिन्। रंगमञ्चले सुगियाको जीवनमा पखेटा थपिदिएको छ, उनी त्यही पखेटा फैलाउँदै सपनाको उडान भर्दैछिन्।
पूर्वी तराईको सुनसरी जिल्ला, गडी गाँउपालिकामा जन्मेकी हुन् संगीता। आर्थिक, शैक्षिक र राजनीतिक रूपमा पछि परेको कुडुख समुदायमा हुर्केकी संगीताले बिस्तारै बुझिन् – संविधानमा उल्लेखित हरेक समुदायलाई दिइएको समान हक र अधिकारबाट कुडुख बञ्चित रहेछ! पहिचान विहीन यही समुदायभित्र महिलाकै परिचय खुम्चिएको छ।
तर संगीता खुम्चिएर बसिनन्। सुगियाले उड्ने क्षितिजलाई अँगालिन्। अभिनय उनका लागि त्यही क्षितिज बनिदियो।
'बाल क्लबमा आबद्ध हुँदै सडक नाटक, नृत्यमा सहभागी हुन थालेँ। आमाको साथ मिल्यो,' उनी भन्छिन्।
एक साँझ नागरिक कला केन्द्रबाट उनलाई दसदिने नाटक तालिममा सहभागी हुन बोलाइयो।
'छातीबाट सल हट्छ कि, हलचल गर्दा शरीरको कुनै भाग देखिने हो कि भन्ने सोच्दासोच्दै कतिखेर नाटकमा स्वतन्त्र भएर पोखिन थालेँ, हेक्का छैन,' उनले भनिन्, 'अभिनयमा मैले कहिल्यै खुम्चिनुपरेन।'
तालिमपछि आफ्नै भाषा, गीत र नृत्यमाथि बनेको नाटक गृहजिल्लामा देखाइन्। यसपछि उनलाई शिल्पीका घिमिरे युवराजले काठमाडौं बोलाए। तीनमहिने नाटक तालिम भयो।
संगीताले एकल प्रस्तुति दिइन्। शिल्पीको छात्रावृत्तिले संगीतालाई काठमाडौंमै राख्यो। अभिनयमा आफूलाई सावित गर्दै उनले पढाइ पनि अगाडि बढाइन्। हाल स्नातकोत्तर पढिरहेकी उनी परिवारमै काठमाडौं बस्ने र पढ्ने एक मात्र सदस्य हुन्।
दर्जन हाराहारी नाटकमा अभिनय गरिसकेकी संगीतालाई लाग्छ, 'जीवन नाटकजस्तै छ। मेरा लागि नाटक नै जीवन बनेको छ।'
हेर्नुहोस् बीजु महर्जनले तयार गरेको फोटो-कथाः
पनि हेर्नुहोस्ः