यसपालि दसैं फूलपातीमा एकसाथ तीनटा नेपाली फिल्म प्रदर्शनमा आए। तीनमध्ये '१२ गाउँ' र 'छक्का पञ्जा ५' को व्यापार आक्रामक रह्यो।
अर्को फिल्म 'ज्वाइँ साब' ले पनि जति शो पाएको थियो, त्यसमा दर्शकहरूको संख्या राम्रो देखियो।
अहिले यी तीनवटै फिल्म तेस्रो सातामा प्रदर्शनरत छन्।
'ज्वाइँ साब' को चर्चा खासगरी 'छक्का पञ्जा' सँग जोडेर पनि गरियो, किनकि यसमा पहिले 'छक्का पञ्जा' टिममा रहेका जितु नेपालको मुख्य भूमिका छ।
तीनटा फिल्म एकैदिन रिलिज हुँदा आफ्नो फिल्म चेपुवामा परे पनि सकारात्मक प्रतिक्रिया पाउँदा अभिनेता जितु नेपाल खुसी छन्।
उनले यसअघि 'ह्यारीकी प्यारी' मा शीर्ष भूमिकामा अभिनय गरेका थिए। व्यावसायिक हिसाबले सफल नभए पनि त्यसमा उनको कामको तारिफ भएको थियो।
यसपटक 'ज्वाइँ साब' ले व्यापारिक हिसाबले पनि सन्तुष्टि दिएको जितु बताउँछन्।
'निर्मातालाई के छ दाइ अब तपाईं सुरक्षित हुनुहुन्छ भनेर सोधेको थिएँ। उहाँले म सुरक्षित भएँ सर, एकदमै खुसी लाग्यो, फेरि अर्को फिल्म बनाउँछु भन्नुभएको छ,' सेतोपाटीसँग छोटो भिडिओ कुराकानीमा जितुले भने।
आफूहरूले यो फिल्मबाट टन्नै पैसा कमाऔंला भन्ने सोच समेत नराखेको जितुले बताए।
काम दर्शकसमक्ष पुगोस् भन्ने चाहना रहेको बताउँदै उनले भने, 'प्रतिक्रिया कस्तो आउँछ भन्ने थियो। जेजति प्रतिक्रिया पायौं, सबै सकारात्मक र राम्रा छन्। म हास्य कलाकारका रूपमा चिनिएको भए पनि दर्शक रूवाउन सफल भएँ भन्ने लागेको छ। एकदमै खुसी लागेको छ।'
छोरीको बिहेसँगै ज्वाइँ भित्र्याउने यो फिल्मको कथावस्तु दर्शकलाई नौलो लागेको पनि जितुले बताए।
'ज्वाइँ साब' राम्रो भएसँगै उनलाई आगामी फिल्मका पनि प्रस्ताव आइरहेका छन्।
जितुले फिल्म 'कंगारू' साइन गरिसकेका छन्। त्यस्तै अर्को फिल्म 'कार्साङ' प्रदर्शनमा आउने तयारीमा छ।
'एउटा स्क्रिप्ट छ। निर्माता/निर्देशकसँग बसाइ भइरहेको छ तर फाइनल भइसकेको छैन,' जितुले भने, 'टिम राम्रो भयो, कथावस्तु राम्रो लाग्यो र मलाई सुहाउने क्यारेक्टर भयो भने काम गर्छु।'
हेर्नुहोस् भिडिओः