प्रियंका तुलाचन भिजुअल आर्टिस्ट हुन्। उनले काठमाडौं विश्वविद्यालयको कला विद्यालयबाट बिएफए प्राप्त गरेकी छन्।
अहिले उनी पारिवारिक अभिलेख, पारिवारिक इतिहास, संस्कृति, विरासत र स्मृतिलाई जोड दिने अभिलेख सामग्रीसँग काम गरिरहेकी छन्। यही क्रममा प्रियंकाले 'सतलदेवी गौचन' शीर्षकमा फोटो-कथा तयार गरेकी छन्।
उनको यो फोटो-कथा भ्वाइसेस अफ विमेन मिडिया संस्थाको 'शी इज द स्टोरी' कार्यक्रमको सहजीकरणमा तयार भएको हो। संस्थाले १३ जना महिला फोटोग्राफरहरूले तयार पारेको फोटो-कथाहरू समेटेर किताब पनि प्रकाशन गरेको छ।
प्रियंकाको फोटो-कथा सतलदेवी गौचनका बारेमा छ जसलाई उनको गाउँमा माता मूम भनेर पनि चिनिन्छ। उनी म्याग्दी, तातोपानीको एउटा गाउँमा पाको उमेर बिताइरहेकी छन्।
सतलदेवी नेपालका केही गाउँघरमा केटीहरूको राजीखुसी बिनै बिहे गरेर लगिने 'छोप्ने प्रथा' की भुक्तमान हुन्।
सेतो कपाल छोपिएको टोपी सार्दै, चाउरिएका गाला झन् चाउरी पार्दै उनी भन्छिन्, '१३ वर्षको उमेरमा मेरो कर्म फुट्यो। मलाई अर्काले लतारेर, छोपेर तीन ठाउँ लगे।'
उनी डेढ वर्षको हुँदा उनका बुबाआमा बितेका थिए। उनले जीवनमा तीन पटक छोप्ने प्रथाको सामना गरिन्। पहिलो पटक १३ वर्षकी मात्र थिइन्। त्यो पीडा उनीभित्र गढेको छ।
अहिले जीवनको उत्तरार्द्धमा उनको दैनिकी हिरासँग बित्छ। हिरा उनको कुकुर हो जो पोहोरदेखि उनीसँगै छ।
हेर्नुहोस् सतलदेवीको दैनिकीको फोटो-कथाः