ठ्याक्कै एक वर्ष भयो मैले कवि मनु मन्जिललाई भेटेको। पोहोर माघ एक गते काठमाडौंबाट विराटनगर हुँदै इटहरी पुगेर उनलाई फोन गरेको थिएँ। त्यस दिन भेट हुन सकेन। दुबै जनाको सुविधाअनुसार दुई दिनपछि भेट भयो। भेटको उद्देश्य भन्नु नै उनलाई भेट्नु मात्र थियो। आपसमा पूर्वपरिचित नभएकाले धेरै गफ हुनु पनि के नै थियो र!
एउटा चिया पसलमा चिया गफ लम्बिँदै जाँदा कविसँग कविताको कुरा हुने नै भयो। मनु मन्जिलका कविताप्रति मलाई एउटा अनौठो आकर्षण हुन्छ। मलाई औधी तानेका कविताको रचनागर्भको जिज्ञासा राखेँ। कुरा सुन्दै जाँदा रेकर्ड गरेर केही लेख्न पाए हुन्थ्यो जस्तो लाग्यो। रेकर्ड गर्न अनुमति मागेँ।
आफ्नो उही चिरपरिचित मुस्कानका साथ उनले भने, 'हो! रेकर्ड गर्ने र!'
'अनुमति भयो भने...।'
'केही लेख्नुहुन्छ कि?'
'अब रेकर्ड गरेपछि त...!'
उनले अनुमति दिए। गफ लम्बियो। दुई चरण चिया खाँदासम्ममा झन्डै डेढ घन्टा बित्यो। गफको बिट मारियो। दिउँसोको न्यानो घाममा आलुचप र पकौडाले आतिथ्य गरेर बिदा गरे।
आज, भोलि भन्दाभन्दै समय बितेको पत्तै भएन, केही लेखिएन। मैले मागेर उनले दिएको केही टिपोटको कागज पनि बेपत्ता भयो। बहानाबाजी किन गर्नु! मेरो अकर्मण्यताले मोबाइलमा गरेको रेकर्ड यो आकारमा आउन एक वर्ष लाग्यो।
तपाईंले एउटा कवितामा देशको माटोको गन्ध अर्थात् बास्नाको कुरा गर्नुभएको छ। आफ्नो माटोको बास्नाको कुरा कवितामा लेख्न मात्रै प्रिय हो कि व्यवहार पनि कविता लेखेजस्तै हुन्छ?
देशको मायाको कुरा शब्दमा व्यक्त गर्न नै सकिँदैन। हामी जे व्यक्त गर्छौं त्यो चाहिँ ट्रान्सलेसनको पनि ट्रान्सलेसन अर्थात् अनुवादको पनि अनुवाद मात्र हो। हाम्रो मनमा जुन भावना छ त्यसको अनुवादको अनुवाद, प्लेटोको भाषामा इमिटेसन अफ इमिटेसन।
तपाईंले सोधेको कुरा 'देश' कविताको हो। त्यसको अन्तिम ६ लाइनमा मैले के लेखेको छु भने–
मैले यही देश बुझेको छु, यही देश लेख्छु
म यही देशबाट हिँडे, यही देशसम्म पुग्छु
बगर भए यो भूमि कुनै ढुंगा भएर बसूँला
बगैंचा भए फूलको थुंगा भएर बसूँला
हारे, दुखे आँसु यही देशलाई
जिते, रमाए मुस्कान यही देशलाई।
हरेक मानिस एउटा ज्योग्राफीसँग जोडिएको हुन्छ। आमा उसको जरा हुन्छ, अरू पनि होला तर हामीले देख्ने भनेको आमा नै हो। आमाको गर्भबाट बाहिर आएपछि सबैभन्दा पहिला जोडिने भनेको माटोसँगै हो। म यो देशभित्रै हुँदा माटोको फिल (अनुभव) धेरै हुँदैन। जब म यहाँबाट बाहिर जान्छु, दूरबाट फर्केर हेर्दा देशको माया अचम्मै लाग्छ।
कस्तो हुँदो रहेछ भने, एकपटक म कोलकातामा थिएँ। राति त्यहाँको हाउडा ब्रीज हेर्दा हाम्रो देशमा यस्तो पुल कहिले बन्ने होला भन्ने लाग्यो। बडेबडे ट्रेन आएका छन्, लाखौं मानिस हिँडेका छन्, मेरो देशमा यस्तो व्यवस्थापन कहिले होला! देशबाहिर जहाँजहाँ गएँ यस्तो पुल कहिले बन्ला, रेल कहिले कुद्ला भन्ने लाग्दो रहेछ।
मानिसहरू जिरो ग्लास लगाएर टकटक हिँडेका छन्। हाम्रा मानिसहरू यसरी कहिले हिँड्ने होला! हाम्रो देशबाट त युवाहरू रूँदै विदेश हिँडेका छन्। जति पर गयो आफ्नो देश उति वर हुँदो रहेछ।
यो यथार्थ हो तर घरभित्र रहँदासम्म त्यसको अनुभव हुँदैन। घरबाट बाहिर निस्केपछि मात्रै घरको महत्त्व थाहा हुन्छ। राट्रप्रेम, माटोको प्रेम भनेको यही हो।
मैल 'देश' कवितामा यही फिलिङ व्यक्त गर्ने प्रयास गरेको छु।
नारीलाई व्यक्त गर्ने तपाईंका दुई वटा कविताको कुरा गर्छु। 'आदर्श नारी' मा नारी हुनुको गौरवको कुरा छ। नारीको कोमलता, मन र हृदयको कुरा ससम्मान प्रकट गर्नुभएको छ। 'घरको आँधी' मा नारीको आवेग र क्रोधको कुरा छ। यी अति सुन्दर तर परस्पर विरोधी विम्बहरू कसरी सिर्जना गर्नुभयो?
तपाईंले भनेको पहिलो कविता मैले 'उनी जीवनको रङले कविता लेख्छिन्' भनेर सुरू गरेको छु। गम्भीर भएर यो कविता हेर्नुभयो भने तपाईंले यसमा धेरै आधुनिक होइन, गाउँघरकी सामान्य नारी भेट्नुहुन्छ। मेरो समयका औसत नारीको कुरा गरेको हुँ। म गाउँमा हुर्केको मान्छे हुँ। मेरी आमा, मेरी भाउजू र उनीहरूजस्तै गाउँले नारीको कुरा गरेको हुँ।
हाम्रा घरमा हरेक गतिविधिको केन्द्रमा नारीहरू नै हुन्छन्। आमाको रूपमा, दिदीबहिनीका रूपमा, प्रेमिकाका रूपमा, छोरी–बुहारीका रूपमा, यस्ता अनेक रूपमा होला। यसरी केन्द्रमा नारी नै हुन्छिन् तर हामीले यसमा ध्यान दिएका हुँदैनौं।
यसमा ध्यान पुगेका बेलामा मैले 'आदर्श नारी' लेखेको हुँ।
'घरको आँधी' मा नारी कुनै रूपमा क्रुद्ध भएको अवस्थाको चित्र छ। नारीहरू क्रोधमा हुँदा पनि उनीहरूको सुन्दरता हराउँदैन भनेको छु।
समय एक छिन घरभित्र विप्लव उफारेर मजा लिन्छ
तर एकै छिन हो,
आँधी घर हल्लाएर गइसकेको हुन्छ
हेर्नू, अझै उनको अधरबाट जून खसेको हुँदैन।
यसो भनेर क्रोधमा पनि नारीबाट नहराउने सौन्दर्य र कोमलताको कुरा गरेको छु।
पुरूषको क्रोध र नारीको क्रोधमा ठूलो फरक हुन्छ। क्रोधमा पनि आफ्नो सौन्दर्य र जिम्मेवारी नगुमाउने गुण नारीमा मात्रै हुन्छ। मलाई कस्तो लाग्छ भने जीवनको केन्द्र भनेकै प्रेम हो। यसमा पुरूषभन्दा नारी बढी सक्षम हुन्छन्।
मैले अझै जान्न चाहेको कुरा, 'आदर्श नारी' र 'घरको आँधी' का परस्पर विपरीत विम्बहरूका बारेमा हो।
अमेरिकाका संसार प्रसिद्ध समालोचक क्लिन्ट ब्रुक्स कविताको सौन्दर्य नै पेरोडक्स अर्थात् विरोधाभास हो भन्छन्। एउटै विम्बको दायाँबायाँ दुवैतिर अर्थ लाग्ने, उनले चाहिँ एउटा विम्बबाट निस्कने 'सेभरल सेड्स अफ मिनिङ' अर्थात् अर्थका अनेक छाया भनेका छन्।
तपाईंले पनि विरोधाभासकै कुरा उठाउनुभयो। कविताको सौन्दर्य नै यही हो।
तपाईंले नारीको आधा चेहरा देख्नुहुन्छ, आधा देख्नुहुन्न, एउटा देखिएको अनुहार, अर्को नदेखिएको अनुहार। यसलाई मैले सौन्दर्यको आधा चेहरा भनेको छु। दायाँबाट हेर्नुहुन्छ आधा मात्रै, बायाँबाट पनि आधा मात्रै, पछाडिबाट हेर्नुहुन्छ आधा मात्रै, अगाडिबाट पनि आधा मात्रै।
मैले शान्त अवस्थाकी र क्रोधको अवस्थाकी एउटै नारीको चित्र खिच्ने प्रयास गरेको हुँ। कवितामा सकेसम्म नारीको पूर्णरूप खिच्ने मेरो प्रयास हो।
तपाईंले 'कविले जीवनलाई कवितामा ल्याउनै पर्छ र श्रोताले कवितालाई जीवनमा ल्याउनै पर्छ' भन्नुभएको छ। यसको तात्पर्य के होला?
संसारमा सधैं सबैले भन्ने गरेको कुरा हो– आर्ट फर लाइफ अर्थात् कला जीवनका लागि। यसको व्याख्यातिर नजाऔं। मैले बुझेको कुरा के हो भने हाम्रो जीवन, हाम्रो प्रकृति र हाम्रो जीवनको सही तस्बिर ल्याउन सकिएन भने त्यो जीवन्त कविता हुनै सक्दैन।
कविले आफू जागेको, जिउँदो अवस्थामा मात्रै कविता लेख्न सक्छ। धेरै ज्ञानी जस्तो र धेरै जान्नेजस्तो भएर, स्वाङ पारेर कविता लेख्न सक्दैन। जब ऊ सबैभन्दा बढी प्राकृतिक, सबैभन्दा बढी स्वाभाविक हुन्छ र सबैभन्दा बढी मानवीय हुन्छ तब मात्रै कविता लेख्न सक्छ। जीवनलाई गहिरो रूपमा अनुभूति गरेको बखत मात्रै उसले कविता लेख्न सक्छ। यसरी मात्रै कविले जीवनलाई कवितामा ल्याउन सक्छ। यस्तो कविता मात्रै जिउँदो हुन्छ।
पाठक वा श्रोताले यो जिउँदो कवितालाई जीवनमा लग्यो भने जीवन त पायो तर कविता छुटायो। यसो हुनु भनेको सौन्दर्य छुट्नु हो। जीवन सही ढंगले बाँच्न जीवनको अनुभूति चाहिन्छ। यसका लागि काव्यमा जाऊ, संगीतमा जाऊ भनेको हो।
कविता, काव्य वा कलामा जागेको मान्छे, जिउँदो मान्छे बोलेको हुन्छ। यस्तो आवाज हाम्रो जीवनमा ल्याउन सक्यौं भने मात्र जीवन बाँचेका हुन्छौं।
यसै कारण कविले कवितामा जीवन ल्याउनुपर्छ अनि श्रोता, पाठक अर्थात् समाजले जीवनमा कविता ल्याउनुपर्छ।
'हामी कवि र कविता' को एउटा कार्यक्रममा तपाईंले बन्दुक भिरेर आफ्नो बालक छोराका सामुन्ने उपस्थित भएको एउटा लडाकुका विषयमा पनि कविता सुनाउनुभयो। त्यो लडाकुलाई तपाईंले रेशमसँग तुलना गर्नुभएको छ।
त्यहीँ आफ्नी छोरीका विषयमा पनि एउटा कविता सुनाउनुभयो। त्यो कविताको रचनागर्भबारे पनि श्रोताहरूलाई जानकारी गराउनुभयो। होमवर्क नगरेकोमा छोरीलाई गाली गर्नुभएको थियो। उनले तपाईंलाई एउटा चिठी छाडिन्। त्यसबाट तपाईंले कविता बनाउनुभयो।
मलाई यी दुई कविता तपाईंले कुन मनले, कस्तो भावकुताले लेख्नुभयो होला जस्तो लाग्छ। यसबारे केही बताउनुहुन्छ?
तपाईंले भनेको पहिलो कविता माओवादी योद्धा अर्थात् लडाकुको कथा हो। मेरो गाउँको एउटा युवक बन्दुक बोकेर माओवादीको युद्धमा सामेल भयो। ऊ जाँदा उसकी श्रीमती गर्भवती थिइन्। ऊ नौ वर्षपछि घर फर्कियो। उसले आफ्नो सन्तान चिनेन। यो म आफैंले देखेको घटना हो।
माओवादीको युद्ध चरम अवस्थामा थियो। त्यो लडाकु पनि युद्धको वेगमा थियो। कम्ब्याट ड्रेस लगाएर, काँधमा बन्दुक बोकेर घर आएको थियो। उसकी आमाले एउटा बालक देखाएर यो तेरो छोरो हो भनिन्। त्यो बालक देखेर लडाकु बेस्सरी रोयो।
मलाई कस्तो लाग्यो भने जीवन त आखिर विरोधाभास न रहेछ! कम्ब्याट ड्रेस लगाएको छ, बन्दुक भिरेको छ। उसले छोरो काखमा राख्यो अनि बेस्सरी रोयो। हेर्नुहोस् त यहाँ कति विरोधाभास छ!
मैल सोचेँ– युद्धमा हिँडेको यो लडाकुले कविता लेख्दैन, यसको कविता म लेख्छु।
यसरी मैले उसको कविता लेखेँ। जहाँ प्रेमले छुन्छ, त्यहाँ मात्र म कविता लेख्न सक्छु। लडाकुको कविता त्यही प्रेमले लेखिएको हो।
छोरीको कविता अलिक फुर्सदमा लेखेको हुँ। मेरी सानी छोरी स्कुलको होमवर्क गर्न अल्छी गर्थिन्, केके स्वाङ पार्थिन्।
एक दिन मैले उनलाई भनेँ– तिमी ठूलो मान्छे हुँदिनौ, केही गर्न सक्दिनौ, पछि भूतिनी हुन्छ्यौ।
भूतिनी उनको आफ्नै शब्द थियो, भूतकी श्रीमतीलाई भूतिनी भन्थिन्। उनलाई बाबाले भनेको सानो कुराले पनि चित्त दुख्थ्यो। त्यही कुरा ममीले भन्दा केही हुन्नथ्यो।
एक दिनको कुरा, छोरीले होमवर्क गरिन्, म कलेज गएँ। फर्केर घर पुग्दा मेरो सिरानेको छेउमा एउटा चिठी देखेँ। छोरीले बाबालाई चिठी लेखेर छोडेकी रहिछन्, दुई कक्षामा पढ्थिन्।
मैले चिठी पढेँ। चित्त साह्रै दुखेको रहेछ– बाबा ठूलो मान्छे भएर म सानी मान्छेलाई हकार्नुभयो, ठूलो मान्छे भएर सानो मान्छेलाई रूवाउनुभयो।
नेपाली भाषामा ठूल्ठूला अक्षरमा लेखेको त्यो चिठी त्यस्तै तीस–पैंतीस शब्दको हुँदो हो। अन्तिममा चाहिँ अंग्रेजीमा 'आई लभ यू' पनि लेखेकी रहिछन्।
छोरीको चिठीले मलाई द्रवित बनायो। त्यो उनले लेखेको पहिलो चिठी थियो। अचानक मेरो मनमा यो चिठी हराउन दिनुहुन्न भन्ने विचार आयो। छोरीको त्यो भावनालाई मैले मेरो भाषामा लेखेँ भने कस्तो होला भन्ने लाग्यो। त्यसलाई मैले अलिक विस्तार गरेर कविता बनाएँ, अलिक लामो पनि छ।
त्यो कविताले म आफैंलाई कहीँ आकाशबाट केही आएजस्तो सन्देश दिन्छ। यसले मलाई भित्र कतै छुन्छ। छोरीको अभिव्यक्तिले धेरै छोएका बेला त्यो कविता लेखेको हुँ। त्यो कविता आफ्नै लागि पनि एउटा सन्देश हो।
तपाईं कविता कसरी लेख्नुहुन्छ?
मान्छेहरू कविता फिलिली आउँछ भन्छन्। मलाई त्यसरी आउँदैन। कविता मलाई बिस्तारै आउँछ। एउटै हरफ मनमा दोहोरिइरहन्छ। त्यसरी कविताले मलाई तानेको होला, शब्दमा र भावमा अझै परिष्कार खोज् भनेको होला। म यस किसिमको प्रभावमा परेका बेला मात्रै कविता लेख्न सक्छु, बिस्तारै लेख्छु।
केही कविता मैले एकै बसाइमा सरर्र लेखेको पनि छु तर थोरै मात्रै। धेरै जसो चाहिँ मन्त्र जसरी दोहोरिँदै आएका हरफहरू बिस्तारै लेख्दै, परिष्कार गर्दै कविता पूरा गरेको छु।
मलाई म आफू एउटा ट्रान्सलेटर (अनुवादक) मात्रै हुँ जस्तो लाग्छ। भित्रबाट मलाई अह्राउँछ, एउटा भावना पैदा हुन्छ। त्यो कुरा म मनमै टिप्छु, दोहोर्याइरहन्छु। अनि फुर्सद मिलाएर कविता बनाउँछु।
यसकारण म आफ्नो भावनाको, भित्रबाट अह्राएको कुराको अनुवादक मात्रै हुँ जस्तो लाग्छ।
मैले तपाईंका धेरै कविता तपाईंकै स्वरमा युट्युबमा सुनेको छु। कति कविता त मैले रोकीरोकी, दोहोर्याई–तेहर्याई पनि सुनेको छु, त्यसको भावमा प्रवेश गर्ने प्रयास गरेको छु।
कतिपय कविताले मलाई तान्दैन। खास गम्भीरताबिनै यसै लेखेको पो हो कि जस्तो पनि लाग्छ। जब म आधाबाट उता लाग्छु, अत्यतिर पुग्न थाल्छु तब मलाई त्यही कविताले निकै बलियो गरी तान्छ। कहिलेकाहीँ त निकै भावुक बनाउँछ। यस्ता केही कविता छन्। तिनले मलाई द्रवित पनि बनाएका छन्। मलाई यस्तो किन भएको होला, तपाईं केही भन्न सक्नुहुन्छ?
तपाईंले भनेको ठिकै होला। कविता भनेको एउटा ड्रामा (नाटक) हो। त्यहाँ केही घटित भएको हुन्छ। त्यो चाहिँ अन्त्यतिर भएको हुन्छ। माथितिरका हरफहरूलाई पृष्ठभूमि मान्नुहोस्। कवितामा पहिलो हरफको ठूलो महत्त्व हुन्छ। पहिलो हरफ राम्ररी लेख्न नसक्नेले अन्तिम हरफ पनि लेख्न सक्दैन। पहिलो हरफले पाठकलाई नेतृत्व गर्छ।
पहिलो हरफको ट्रान्स्फर्मेन (रूपान्तरण) हुँदै हरफहरू थपिँदै जान्छन् र कविता पूरा हुन्छ। अन्तिम हरफ योजनाबद्ध हुँदैन, कसरी आउँछ भन्ने पनि थाहा हुँदैन।
मलाई कविता सुरू भएको थाहा हुन्छ। यसरी सुरू गर्छु भन्ने थाहा हुन्छ तर कसरी टुंगिन्छ भन्ने कहिल्यै थाहा हुँदैन। त्यसको पूर्वज्ञान हुँदैन। त्यो एउटा सर्प्राइज (आश्चर्य) हुन्छ। कथा जोडेर कविता हुने होइन।
तपाईंलाई पनि सर्प्राइजले तानेको हुन सक्छ। त्यसैले तपाईंलाई द्रवित बनाएको हुन सक्छ। धेरै पाठकले सर्प्राइज नै मन पराएका छन्।
कविताको टोटल वेट (पूरा भार) अन्तिम हरफले थामेको हुन्छ भनिन्छ। हो, भार थाम्ने हरफ भयो भने अन्तिमतिर पुगेपछि पाठकलाई कविता मन पर्छ। तपाईंलाई पनि त्यस्तै भएको हुनुपर्छ।
ए, त्यसो भए कविताको सुरूआत चाहिँ योजनाबद्ध हुन्छ तर अन्त्य चाहिँ अचानक हुन्छ?
त्यस्तो हुँदैन। सुरू पनि अचानक नै हुन्छ नत्र त कविले जति बेला पनि लेख्न सक्नुपर्ने हो। त्यस्तो हुँदैन। जहाँ पनि जति बेला पनि कविता आउँदैन। कविलाई पनि एउटा भावनाले तान्नुपर्छ। त्यसलाई उसले शब्दमा उतार्दै अघि बढाउँछ।
मैले अघि भनेँ नि! कविले जागेको क्षणमा, ब्युँझेको अवस्थामा मात्रै कविता लेख्न सक्छ। जागेको क्षणको मान्छेले ईश्वरको काम गर्न सक्छ। जागेको खेलाडीको खेल हेर्नू त कस्तो हुन्छ!
नृत्यंगनाको नृत्य हेर्नुहोस् त! जागेकी नृत्यंगनाबाट त जादु नै हुन्छ।
कविता पनि यस्तै हो। अरू बेला त सामान्य हुन्छ। जागेका बेला मात्रै काव्य, कला सिर्जना हुन्छ।
तपाईंले कविको भाषामा विरोधाभास हुन्छ भन्नुभएको छ। कविको बाटो अनिश्चित हुन्छ भन्नुभएको छ। यो के भन्नुभएको हो, प्रस्ट पार्नू न!
म एउटा पुस्तक विमोचन कार्यक्रमका अवसरमा काठमाडौं गएको थिएँ। त्यहाँ कवि नवराज पराजुलीसँग भेट भयो। हामी बाहिर कतै कफी पिउँदै थियौं। उनले एउटा प्रश्न गरे– दाइ, कविको खास बाटो चाहिँ कुन हो?
मैले फ्याट्ट भनेँ– जति अनसर्टेन (अनिश्चित) बाटो हिँड्न सक्यो, कविको प्रगति त्यति नै बढी हुन्छ।
एउटा प्राध्यापकको कुरा गरौं न! ऊ आफ्नो विषयमा जति बढी जानकार हुन्छ, उसमा जति बढी ज्ञान हुन्छ त्यति नै बढी उसको ख्याति हुन्छ। एउटा व्यापारीलाई आफ्नो क्षेत्रको जति बढी ज्ञान हुन्छ उसले त्यति नै बढी लाभ प्राप्त गर्छ।
कविता चाहिँ यसरी बन्दैन। उसले आर्जन गरेको विषयको ज्ञानले कविता बन्दैन। इतिहास, राजनीति, अर्थशास्त्र, उद्योग–व्यवसाय जेजे छन् ती सबैको बाटो तिनकै शास्त्रले तय गर्छन्। कविताको बाटो यस्तो हुँदैन, अनिश्चित हुन्छ।
जति अनिश्चितताको बाटो हिँड्न सक्यो, कवि त्यति नै अघि बढ्छ।
गायक जोन लेननको एउटा हरफ छ– तिमीसँग जीवनमा अनुत्तरित केही प्रश्न छन् भने वही जाने बतासलाई सोध।
यो के भनेको होला! प्रोफेसरलाई सोध भनेको भए निश्चित उत्तर हुन्थ्यो। बरू डाँडाकाँडालाई सोध भनेको भए पनि हुन्थ्यो होला! वही जाने बतासको जबाफ के होला! यो त धेरै अनिश्चित कुरा भयो तर हेर्नुहोस् त, भावना कति सुन्दर छ!
कहीँ जबाफ नपाएपछि कसलाई सोध्ने! वही जाने बतासलाई सोध्ने त हो नि!
कविको बाटो पनि यस्तै अनिश्चित हुनुपर्छ। कवि हिँड्ने बाटो अरू कोही पनि नहिँडेको हुनुपर्छ। जानेकै, चिनेकै बाटो हिँडेर त म फरक ठाउँमा पुग्दिनँ। कवि अर्थात् म प्रभावित हुन सक्छु तर एक पाइलो भए पनि मेरो बाटो फरक हुनुपर्छ र त्यो सधैं अनिश्चित हुन्छ।
कवि आफूले नजानेको क्षेत्रमा प्रवेश गर्नै पर्छ। कवितामा जे नयाँ कुरा दिन सकिन्छ त्यसले कवि व्यक्तित्व परिभाषित गर्छ। यसो नगर्ने हो भने त चोरीको बात लाग्छ। अनिश्चित बाटोको उज्यालोले कविको काव्यिक परिचय दिन्छ। यसकारण कवि अनिश्चितताको बाटो हिँड्नै पर्छ।
कहिलेकाहीँ कविता कृति पढ्दा मलाई निकै नाम चलेका कविका कविताले पनि छुँदैन। त्यसलाई अनुभूति गर्ने मेरो क्षमताको सीमितता पनि हुन सक्छ, कविलाई दोष लगाउँदिनँ। जब त्यही कविता उही कविका मुखबाट सुन्छु, त्यस बेला उल्टो परिणाम भइदिन्छ, आहा! क्या सुन्दर कविता! आफूले पढ्दा बेकारको जस्तो लागेको कविताले यसरी छोइदिन्छ। म अचम्ममा पर्छु, यस्तो किन भएको होला!
मेरो विचारमा तपाईं एकदमै राम्रो श्रोता तर अलिक खराब–खराब पाठक हो।
ए, हो र!
हो, यसको कारण के हो भने खासमा कवितामा एउटा साउन्ड (ध्वनि) हुन्छ, एउटा संगीत हुन्छ। कविताको आन्तरिक लय हुन्छ। कहिलेकाहीँ त्यो ध्वनि, त्यो संगीत र लय पाठकले पहिचान गर्न सक्दैन, न्याय दिन सक्दैन।
कवि स्वयंले त्यो कविताको ध्वनि र संगीतलाई न्याय दिन सकेको हुन्छ। लय समातेको हुन्छ। न्याय भएपछि श्रोतालाई मन पर्ने भइगयो। यसै कारणले तपाईंलाई पनि कविता सुन्नमा बढी आनन्द आएको होला।
तपाईंले पढ्दा अक्षर मात्रै थियो। सुन्दा कविको ध्वनि र संगीत पनि आयो। यसकारणले पनि तपाईंलाई मन पर्ने भयो।
टी.एस. इलियटले भनेका छन्– पोयट्री इज ब्युटिफुल बिफोर इट इज अन्डरस्टुड। अर्थात् कविता बुझिनुभन्दा अघि सुन्दर हुन्छ। पेन्टिङ पनि त्यस्तै हो, त्यसलाई बुझ्नुभन्दा पहिले नै आहा जस्तो लाग्छ।
सिधा कुरा चाहिँ के हो भने कविता राम्रो छ भने पाठक र श्रोतालाई तान्छ। तानेन भने त्यो नराम्रो कविता हो। ध्यान दिनुपर्ने कुरा के हो भने कविता शान्त ठाउँमा बसेर पढ्नुपर्छ।
इन्टरनेटमा मनु मन्जिल खोज्दा दुई वटा कविता सिधै उपस्थित हुन्छन्, 'दुस्मन' र 'पहराको साँघुरो बाटोमा'। मनु मन्जिल भनेको नै यी दुई कविता हो कि जस्तो पनि हुन्छ। यी दुई कविताले मलाई एकसाथ रोमाञ्चित र भावुक बनाउँछन्। यिनको उत्पत्तिको बिन्दु के होला, रचनागर्भ कस्तो होला, कुन भाव र मनस्थितिमा लेख्नुभयो होला भन्ने कुरा मेरो मनमा आइरहन्छ। म यसबारे थाहा पाउन चाहन्छु।
दुस्मन कविता लेखेको बीस वर्षभन्दा बढी भयो, २०५८ सालमा लेखेको हुँ। सन् २०१५ को 'नेपाल साहित्य महोत्सव' मा वाचन गरेपछि त्यो कविता भाइरल भयो। अहिलेसम्ममा कयौं मिलियन मान्छेले हेरेका छन्।
माओवादी द्वन्द्वको समय थियो। मेरी आमा चन्द्रनिगाहपुरमा बस्नुहुन्थ्यो। यहाँ (इटहरी) बाट जाँदा सात ठाउँमा मिलिटरी चेक हुन्थ्यो। भित्र गाउँमा राति माओवादी लडाकाहरू बन्दुक बोकेर हिँड्थे। नजिकै जंगल र खोलाकिनार थियो। त्यहाँ बन्दुक पनि पड्काउँथे।
बन्दुक पड्केको सुनेपछि मेरी आमा मेरो कोठामा आउनुहुन्थ्यो र मलाई छाम्नुहुन्थ्यो। रातमा तीन–चार पटक यसरी छाम्न आउनुहुन्थ्यो र मेरो छोरालाई ठीक छ, केही भएको छैन भन्ने ढुक्क भएर फर्किनुहुन्थ्यो।
दाइको जासुस भाइ, छोराको जासुस बाबु, ज्वाइँ–जेठान आपसमा जासुस छन्। कोही पुलिसको मान्छे, कोही आर्मीको मान्छे भन्या छन्। सबैलाई सबैप्रति शंका छ। सबै एकअर्काका दुस्मन जस्ता भएका छन्। समय यस्तो थियो।
एक दिन मर्निङ वाकमा हिँड्दै थिएँ, अचानक मेरो मनमा राम्रो खालको दुस्मन चाहिँ हुन्छ कि हुँदैन होला भन्ने सोचाइ आयो। त्यही सोचाइले चरम द्वन्द्वको समयमा मैले दुस्मन कविता लेखेँ।
त्यो समयमा दुस्मनप्रतिको यस्तो दृष्टिले पनि कहीँ वर्गीय युद्ध हुन्छ र भनेर कतिपयले आलोचना पनि गरे। दुस्मनलाई नै सुन्दर देखेपछि क्रान्ति हुँदैन भन्ने केही क्रान्तिकारी कविहरू पनि थिए।
सबै एकअर्काका दुस्मनजस्ता भएको युद्धको समयमा दुस्मनलाई नै सुन्दर देख्ने दृष्टिकोण दिएको भनेर जस दिनेहरू पनि छन्। यो कविता कयौं मिलियन मान्छेले रूचाए।
सम्भवतः सबकन्सस अर्थात् कतै भित्री तहमा हरेक मानिस अर्काको दुस्मन हुँदोरहेछ क्यारे! दुस्मन र दुस्मनीको एउटा परिवेश चलिरहेको हुन्छ क्यारे! त्यो दुस्मनलाई सुन्दर देख्ने दृष्टिकोणबाट चाहिँ कसैले पनि नहेरेको रहेछ क्यारे!
एक पटक पाँचथरबाट श्रीपाली थरका एक जना शिक्षक आउनुभयो। उहाँले ल, मलाई तपाईंका पाँच वटा किताब दिनुपर्यो भन्नुभयो। मैले किताब त छैन भनेँ। उहाँले तपाईं आफूले पढ्ने गरेको एउटा त होला नि, त्यही दिनुस्, म फोटोकपी गरेर लैजान्छु भन्नुभयो।
उहाँले दुस्मन कविता पाँचप्रति फोटोकपी गरेर ल्याउनुभएछ। अरू चाहिँ किन गर्नुभएन भनेर सोधेँ। गरिनँ, मलाई चाहिएको यही एउटा हो, चार–पाँच जना मान्छेलाई देखाउनु छ भन्नुभयो।
हो, मलाई कविका रूपमा ब्रेक पनि त्यही कविताले दियो।
'पहराको साँघुरो बाटोमा' चाहिँ म धनकुटाको नमस्ते झरना घुम्न जाँदाको एउटा घटनाबाट लेखेको हुँ।
हामी धेरै जसो ठूल्ठूला सडक खोज्छौं; धनको, लोभको, स्वार्थको बाटो खोज्छौं। हामीले जीवनका ससाना गोरेटाहरू बिर्सिसक्यौं। ससाना गोरेटामा पनि ठूल्ठूला घटना हुन सक्छन् भन्ने कुरा बिर्सिसक्यौं।
उहिल्यै कुनै दिन भेट भएपछि फेरि कहिल्यै नभेटिएको मान्छे पहराको त्यो साँघुरो बाटोमा भेटियो। धेरै फराकिला र धेरै मानिसहरू भएको ठाउँमा पनि ऊ भेटिएको थिएन तर पहरामा भेटियो–
जीवनमा चौडा सडक नै जम्मै यात्रा होइन
जीवनमा खुला मैदान मात्रै खुसीको परिभाषा होइन
जस्तो कि पहराको साँघुरो बाटोमा हजुरसित भेट भएथ्यो
अनेक फराक संसारमा जो कहिल्यै सम्भव भएन।
यसरी कविता टुंगिएको छ।
मलाई कस्तो लाग्छ भने एउटा दर्शनले भित्र कतै नछोइकन कविता आउँदैन। दार्शनिक भएर होइन, दार्शनिकले त विचार दिने हो। एउटा दर्शन क्षितिजजस्तो भएर खुलेपछि मात्रै कविता आउँछ।
तपाईं कविताका बारेमा बोल्दा गाउँको चर्चा गर्नुहुन्छ। तपाईंले मलाई सहर र गाउँका बीचमा के फरक छ भनेर कसैले सोध्यो अनि मैले माथि पनि मान्छे तल पनि मान्छे, जताततै मान्छे हुने चाहिँ सहर रहेछ भनेँ भन्नुभएको छ।
तपाईं आफू उपमहानगर, इटहरी सहरमा बस्नुभएको छ। काठमाडौंलाई चाहिँ तपाईंले मान्छे नै मान्छेको ठाउँ भनेर कटाक्ष गर्नुभएको छ। 'यो सहर कसको हो?' शीर्षकको कवितामा तपाईंले सहरी बडप्पन र विसंगतिप्रति कटाक्ष गर्नुभएको छ, मानौं, सहरप्रति तपाईंको दुस्मनी छ। तपाईंको कविमनले सहर र गाउँको भिन्नता कसरी छुट्ट्याउँछ?
मलाई कस्तो लाग्छ भने सहरमा प्राकृतिक जीवन सम्भव छैन। म सहरमै बसेँ, सहरमै पढेँ। सहरी जीवन बनावटी छ। म अफिस जानु छ, टाई लगाउन मन लागेको छैन तर जबर्जस्ती लगाउनै परेको छ। हाँस्न मन लागेको छैन तर जबर्जस्ती हाँसेको हुन्छु। रित्तो भएर पनि मसँग केही छ भनेर हिँड्नुपरेको छ।
काठमाडौंलाई मैले गाली गरेको होइन, गर्दिनँ तर काठमाडौं सहर गाउँजस्तो हुन सक्दैन। मैले काठमाडौंमै पढेँ, त्यहीँ आफ्नो करिअर बनाएँ। अहिले पनि मेरा किताब काठमाडौंबाटै छापिएर आउँछन्। म काठमाडौंलाई माया गर्छु।
गाउँमा प्राकृतिक जीवन छ। मेरो गाउँमा चौधरीहरू छन्, घरैपिच्छे आमाहरूले खान आइज बेटा भन्छन्। सहरमा त मलाई कहिल्यै कसैले यसो भनेको छैन। गाउँमा पुगेपछि मलाई प्राकृतिक र स्वाभाविक जीवनमा पुगेको अनुभव हुन्छ।
म कहिलेकाहीँ कल्पना गर्छु, भगवानले एकदमै राम्रो बस्ने ठाउँ रोज्यो भने त्यो कहाँ हुन्छ होला! सहरमा त मन्दिरमा पनि बसिसक्नु छैन, बाहिरको के कुरा! जताततै कोलाहल छ। भगवान आएर बस्ने ठाउँ खोज्यो भने त आपतै पर्छ होला!
गाउँ त जताततै शान्त छ। भगवान आएर रूखको हाँगामा बस्दा पनि भयो, हिउँ भएर हिमालमा बस्दा पनि भयो, एउटा साधारण किसान भएर उसको मुस्कानमा बस्दा पनि भयो। कसैको आँसुमा बसे पनि भयो।
हो, आधुनिकतामा सहर धेरै अगाडि छ। पढेलेखेको छ, बाठो छ तर गाउँजस्तो स्वाभाविक, प्राकृतिक, सुन्दर, ममतामयी र प्रेरक छैन।
तपाईंले कविता लेख्न कहिले थाल्नुभयो?
धेरै भयो। छ–सात कक्षामा पढ्दा नै लेख्न थालेको हुँ, '३८, ३९' सालतिर। सुरूसुरूमा छन्दमा पनि लेखेँ।
कविता लेखिरहनुभयो। बिस्तारै मानिसहरूले कवि भन्न थाले होला। साथीहरूले ए कवि भने होला। कहाँ पुगेपछि चाहिँ तपाईंलाई ए म त साँच्चै कवि भएछु भन्ने अनुभूति भयो?
धेरै वर्ष लाग्यो। प्रतियोगिताहरूमा लेख्थेँ। कहिलेकाहीँ पुरस्कार पनि पाउँथे तर कवि भएँ भन्ने भएन। लेख्ने प्रयास गरेको हुँ भन्ने लाग्थ्यो।
एउटा कवि उसको भाषाले अरूभन्दा फरक हुन्छ। अभिव्यक्ति भनेको शब्दहरूको एरेन्जमेन्ट (संयोजन) न हो! भावना त्यहीँबाट आउने हो। उसले शब्दहरू कसरी व्यवस्थापन गर्छ, कसरी जोड्छ, कसरी घटाउँछ त्यसबाट भावना उत्पन्न हुने हो।
धेरै अगाडिको कुरा हो। बैरागी काइँला विराटनगर आउनुभएको थियो। त्यही बेला मैले 'जाडो' शीर्षकको कविता लेखेको थिएँ। अहिले हेर्दा देख्छु, त्यो कवितामा मैले जाडो बुझाउन धेरै विम्बहरू प्रयोग गरेको रहेछु। त्यो कविता सुनेर बैरागी काइँला मजाले हाँस्नुभयो।
उहाँ किन हाँस्नुभयो भन्ने थाहा पाइनँ। उहाँसँग भेट पनि भएन। किन हाँस्नुभयो भनेर सोध्ने कुरा पनि भएन तर कसैले मलाई भन्यो– जब कविताले मजाले प्रभावित गर्छ तब यी मान्छे बेजोड हाँस्छन्।
यो कुरा सुनेर चाहिँ म पनि कविता लेख्दोरहेछु भन्ने लाग्यो, आत्मविश्वास पलायो। अलिक पछि कृष्णभूषण बलले पनि निकै तारिफ गर्नुभयो। यी घटनाबाट म निकै उत्साहित भएँ। कविताको भाषा यस्तो हुन्छ भन्ने थाहा पाउन थालेपछि पो कविता लेख्न सक्दिनँ कि जस्तो भयो।
मानिस ज्ञानतिर गएपछि शास्त्रीय हुन्छ, शास्त्रीय ज्ञानतिर जान्छ। यस बेला कविता लेख्न गाह्रो हुन्छ। यसै कारण मैले कविको बाटो अनिश्चित हुन्छ भनेको हुँ। कविता लेख्दा मेरो शास्त्रीय ज्ञान निल हुन्छ, कुनै सूत्र लागू हुँदैन। मेरो कवितामा मेरो आफ्नै शैली, आफ्नै भाषा, आफ्नोपन आउँछ।
बैरागी काइँला हाँसेको समय कहिलेतिरको हो?
बैसठ्ठी सालभन्दा अलिकति पहिलेको कुरा हो। बैसठ्ठीमा मेरो किताब निस्क्यो। किताब निस्किनुभन्दा थोरैअघिको समय हो।
मैले अघि पनि भनेँ, तपाईंका कतिपय कविता पढ्न थाल्दा मलाई यसलाई त के कविता भन्नु जस्तो पनि लाग्छ। जब आधाबाट अघि बढ्छु र करिब अन्त्यतिर पुग्छु म भावुक भइजान्छु।
तपाईंका कवितामा म अति सामान्य शब्दहरूको संयोजन भेट्छु। कहिलेकाहीँ त यस्तो पनि लाग्छ, तपाईंको शब्दभण्डार धेरै फराकिलो छैन तर तपाईंको कविताले तानेको तान्यै गर्छ। तपाईं खोजीखोजी सहज किसिमका शब्द प्रयोग गर्नुहुन्छ?
प्रकृतिले जे अह्राउँछ, हृदयले जे भन्छ, जुन शब्द प्रयोग गर भन्छ त्यही गर्ने हो। लेट योर नेचर स्पिक– आफ्नो प्रकृतिलाई बोल्न देऊ। मन्त्रजस्तै जपेको बखतमा जुन शब्द आउँछ, आफ्नो प्रकृतिले जे अह्राउँछ त्यही लेख्ने हो।
शब्दकोश हेर्न थालेँ, त्यहाँबाट शब्द खोज्न थालेँ भने त कविता हुँदैन। हृदयले नअह्राएको शब्द लेख्नै सक्दिनँ। हृदयले जे रूचाएको छ त्यसको संगतिमा आएर, त्यसैलाई मन्त्रझैं उच्चारण गरेर, हृदयमा शब्द दोहोर्याएर लेख्छु।
मलाई धेरै र जटिल शब्दले मात्रै कविता हुन्छ भन्ने लाग्दैन। एउटा कविले सकेसम्म थोरै शब्दमा आफूलाई अभिव्यक्त गर्नुपर्छ।
पारशमणि प्रधानले भन्नुभएको छ नि, 'शब्द थुपारीकन के हुन्छ, भाव भए पो कविता हुन्छ', तपाईंको पनि विचार त्यस्तै हो? अर्थात् यसबारे के भन्नुहुन्छ?
यो सही कुरा हो। जस्तो कि, सुलोचनामा देवकोटाले कठिन शब्दको प्रयोग धेरै गर्नुभएको छ। शाकुन्तलको त झन् कुरै नगरौं, कठिनतम भन्दा कठिनतम शब्दहरू छन्। मलाई त संस्कृत पढेको जस्तो लाग्छ।
उहाँकै मुनामदन हेर्नुस् त, सरलभन्दा सरल शब्द प्रयोग गर्नुभएको छ। देवकोटालाई महाकाव्यले भन्दा बढी मुनामदनले महाकवि बनाएको हो। उहाँका महाकाव्य कति जनाले पढेका होलान् मुनामदनको तुलनामा!
प्राविधिक रूपमा महाकाव्य लेखेर कोही कवि पनि महाकवि हुँदैन। महाकाव्य लेख्ने धेरै छन् तर महाकवि भएका छैनन्। देवकोटालाई महाकविको उपाधि जनताले दिएका हुन्, मुनामदनका पाठकहरूले महाकवि भनेका हुन्।
प्रकृतिले हामीलाई दिएकै सरलता, सरल लवज, सरल भाषा हो। सरलतामा विनम्रता पनि हुन्छ। पाठकले मलाई शब्दको आडम्बरले मन पराउँछन् जस्तो लाग्दैन। शब्दको आडम्बरमा त दम्भ देखा पर्छ। दम्भी कविलाई पाठकले मन पराउँछन् जस्तो लाग्दैन।
जहाँ मेरो विनम्रता प्रतिविम्बित होला त्यही नै पाठकलाई मन पर्ला। शब्दको सरलता भनेको भाषाको सहजता मात्रै होइन, कविको विनम्रता पनि हो, कवि झुकेको पनि हो। झुकेका केही विम्बहरू राम्रा हुन्छन्।
तपाईं मन्दिरमा पस्नुअघि झुक्नुहुन्छ। त्यहाँ झुकेकै राम्रो देखिन्छ। साना नानीहरूसँग झुकेर कुरा गर्नुहुन्छ। त्यहाँ पनि तपाईं झुकेको सुन्दर देखिन्छ। आमाका अगाडि पनि झुक्नुहुन्छ। सधैं शिर ठाडो पारेर मात्रै मानिस सुन्दर देखिने होइन।
कविहरू आफ्नो अभिव्यक्तिले झुकेको राम्रो देखिन्छ। एकदम स्वाङ पारेर बोल्ने कविलाई त म पढ्दै पढ्दिनँ। आडम्बर मन पर्दैन। मलाई त बडो विनम्र ढंगले, मलाई आफ्नो ठानेर, प्राकृतिक ढंगले बोल्ने कवि मन पर्छ।
म बिटल्सका गीतहरू सुन्छु, अति विनम्र लाग्छ, खुब मन पर्छ। संसारका बडेबडे कविहरूलाई हेरिरहन्छु। बडो विनम्र लाग्छन् र मन पर्छन्। मुनामदनमा देवकोटा, गौरीमा माधवप्रसाद घिमिरे धेरै मन पर्छन्।
'मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित' मा बैरागी काइँलालाई र 'काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन' मा कृष्णभूषण बललाई हेर्नुस् त, बडो विनम्र ढंगले शक्तिशाली रूपमा कविहरू बोलेका छन्। यसबाट म धेरै प्रभावित हुन्छु।
म बडो विनम्र भएको बखतमा, प्रेमले छोइएको बखतमा, म जागेको बेलामा, मेरो प्रकृति बोलेको बेलामा म लेख्छु र सम्भवतः त्यसमा मेरो विनम्रता प्रकट हुन्छ।
मैले केही वर्षअघि नृत्यंगना मिथिला शर्मासँगको एउटा अन्तर्वार्ता हेरको थिएँ, उहाँले नाच्ने मान्छेले गर्ने नमस्कारमा पनि कला हुन्छ भनेको सम्झेको छु। तपाईंसँग कुरा गर्दा पनि कताकता तपाईं कवितामै बोल्दै हुनुहुन्छ कि जस्तो पनि लाग्दै छ। साँच्चै, मिथिलाले भनेजस्तो कलाको त्यो पक्ष व्यावहारिक जीवनमा पनि प्रतिविम्बित हुन्छ? यसमा तपाईं के भन्नुहुन्छ?
यस्तो हुन सक्छ। मैले विनम्रताको कुरा गरेँ, यो पनि कवितासँगै सम्बन्धित छ। 'पहराको साँघुुरो बाटोमा' भन्ने कविताकै कुरा गरौं। पहराको साँघुरो बाटोमा हजुरसित भेट भएथ्यो– यो सम्बोधन हो, नमस्कार हो। यहाँ मैले 'हजुरसित' को साटो 'तपाईंसित' भनेको भए पनि हुन्थ्यो। प्रेमिकालाई 'तिमीसित' भनेकै भए पनि हुन्थ्यो।
मेरो मनले 'हजुर' भन्नुपर्छ भन्यो। यसमा लयको मिठास छ, हजुरसित..., कति राम्रो छ! 'तपाईं' र 'तिमी' भन्नुभन्दा राम्रो सुनिएको छ। यस्तै राम्रो कुरा व्यावहारिक जीवनामा पनि जानी–नजानी आउँछ होला।
छन्दोबद्ध कविताका बारेमा के भन्नुहुन्छ? तपाईंले कहिल्यै लेख्नुभएन?
सुरूका दिन थोरै लेखेँ तर त्यसलाई निरन्तरता दिइनँ। मसँग त्यो दक्षता नभएर पनि होला। छन्दमा लख्ने मेरा साथीहरू छन्, उनीहरू त्यसमा रमाउँछन्। छन्दको कविता लेख्न शब्दशब्दमा टेक्निकसँग खेल्नुपर्छ। यसो गर्दा मैले बोल्न चाहेको कुरामा सीमितता भयो, अलिकति बढी बोलूँ वा अलिकति कम बोलूँ भन्दा पनि कठिन हुने भयो।
छन्दमा लेख्न एउटा निर्धारित लयमा बस्नुपर्छ। त्यसका लागि चाहिने टेक्निकल ग्राफ माधवप्रसाद घिमिरेसँग थियो, बडो विछट्टको प्रतिभा। उहाँले चाहिँ सबै पुर्याएरै लेखेको जस्तो लाग्छ। लेखनाथ पौडेलमा त्यस्तो प्रतिभा थियो। देवकोटाले पनि छन्दमा 'फ्रीली' (स्वतन्त्र ढंगले) बोलेजस्तो लाग्छ। मुनामदनमा फ्रिली बोल्नुभएको छ। यसमा मुनामदन पनि विछट्टै छ।
लेखकलाई फ्रिडम (स्वतन्त्रता) चाहिन्छ। मैले छन्दको टेक्निकल ग्राफको साटो अलिक बढी स्वतन्त्रता रोजेँ। लोकतन्त्रमा कलामा पनि स्वतन्त्रता छ नि!
छन्दको टेक्निकल ग्राफमै बसेको भए पनि असफल चाहिँ हुने थिइनँ जस्तो लाग्छ। तपाईंभित्र कविता छ भने त्यसलाई छन्दमा पनि ल्याउन सक्नुहुन्छ। मैले फ्री आर्ट रोजेँ।
एउटा कुरा विचार गरौं, भूपि शेरचनको 'हामी' कविता छन्दमा लेखेको भए कस्तो हुन्थ्यो होला! गोपालप्रसाद रिमालको 'आमाको सपना' सम्झौं त!
कविता लेखनमा यो स्वतन्त्रताको अस्तित्व कायम भएर आयो।
तपाईं निबन्ध पनि लेख्दै हुनुहुन्छ, निबन्ध संग्रह प्रकाशनको तयारी छ। गद्य कविता भनिए पनि कविता र निबन्ध फरक विधा हुन्। यी दुई फरक विधामा कलम चलाउँदा लेखनका हिसाबले, भावका दृष्टिले के फरक पाउनुहुन्छ?
मैले नेपाल साहित्य महोत्वसमा यस विषयमा केही बोलेको छु। खासमा साहित्य लेखन भनेको काव्य लेखन नै हो; निबन्ध, कथा, उपन्यास कविता जे लेखे पनि। कथामा काव्यात्मकता छैन भने त्यो कथा नै बन्दैन, साहित्य त हुँदै हुँदैन।
म एन्तोन चेखवका कथा पढ्दा हरेक ठाउँमा काव्यिक अभिव्यक्ति भेट्छु। दोस्तोएभ्स्कीको उपन्यास पढ्दा कवितै कविता भेट्छु। हाम्रा देवकोटाका निबन्धहरू पढ्दा कवितै कविता भेट्छु। शंकर लामिछानेको निबन्धमा कवितै कविता छ। खगेन्द्र संग्रौलाको 'आँखाको लयमा' एक पटक हेर्नुहोस् त!
यसकारण हरेक साहित्यिक लेखन काव्य लेखन हो। विधा फरक हो। काव्यलाई निबन्धमा लेख्ने कि कवितामा, कथामा लेख्ने कि उपन्यासमा, फरक यति मात्रै हो।
'हामी कवि र कविता' कार्यक्रममा मा तपाईंले धेरै लेखिसकेँ, आजकाल अलिक कम गरेको छु भन्नुभएको छ। साँच्चै भन्नुभएको हो?
नलेखीकन त बाँच्नै सकिन्न तर बाहिर कति ल्याउने भन्ने मुख्य कुरा हो। राति कविता लेख्छु, कहिलेकाहीँ लाग्छ, आहा! कति राम्रो भयो, भूतो न भविष्यति जस्तो हुन्छ। बिहान उठेर फेरि पढ्छु, त्यही कविता खत्तम जस्तो लाग्छ। त्यो यसै फालिन्छ। यस्तो धेरै पटक हुन्छ।
अँ, यो चाहिँ रचना भयो है भन्ने कुरा आफ्नो मनले भन्छ। धेरै दिमाग लगाउनै पर्दैन। पढ्दै जाँदा यो चाहिँ कविता बन्यो भन्ने पक्का हुन्छ। कविको मन हो नि, त्यसले ठ्याक्कै भन्छ, यो चाहिँ कविता भयो भनेर।
त्यस्तो रचना मात्रै बाहिर आउँछ। बाँकी यसै हराएर जान्छ वा दराजमा थन्किन्छ।
***
(गोविन्द लुइँटेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)