भारतीय गायक अरिजित सिंहले गाएको नेपाली गीत अहिले चर्चामा छ। त्यो गीत हो द ड्रिमक्याचर्स् ब्यान्डको 'आफूलाई'।
सन् २०२१ मा सार्वजनिक भएको यस गीतलाई अरिजितले गत शनिबार नेपालमा कन्सर्ट हुँदा गाएका हुन्। यो गीत खासै चर्चित नभए पनि आफूलाई मनपर्ने बताउँदै उनले गाएका थिए।
द ड्रिमक्याचर्स् ब्यान्डका गायक तथा संगीतकार अंगु भुटियाले उक्त गीतमा अत्यधिक कमेन्ट आउन थालेपछि बल्ल त्यसबारे जानकारी पाएको बताए।
सुरूमा अरिजितले आफ्नो गीत गाएको कुरा उनले पत्याएका थिएनन्। युट्युबसँगै सामाजिक सञ्जालमा समेत धेरैले भन्दा पनि विश्वास गर्न गाह्रो भएको उनले बताए।
'अरिजितले गीत गाएको भिडिओ नै देखेपछि नपत्याउने कुरै थिएन। त्यही पनि मलाई सपनाजस्तै लागिरहेको छ,' सेतोपाटीसँग कुरा गर्दै उनले भने, 'त्यो सुनेपछि म ट्वाँ परेँ। मेरो साथी र दाइ सँगै हुनुहुन्थ्यो। हामी तीनजना 'आम्बो' भनेर नाच्न थाल्यौं।'
'आफूलाई' शीर्षकको गीत भुटिया र उनको साथी वर्षा थापाले गाएका हुन्। भुटियाले नै यो गीत लेखेका हुन्।
'यो गीत मेलै मेरो कोठामा बसेर लेखेको हो। यो एउटा प्रेम गीत हो,' उनले भने, 'एउटा मान्छेले एकतर्फी माया गर्छ र अर्को मान्छेबाट माया फिर्ता चाहँदैन। शब्दमा त्यस्तै कुरा लेखेको छु।'
उनले गीतमा लेखेका छन्-
'आफू आफूलाई अन्धकारमा थुनेर
कि तिमी आउँछौ भनी यो मनलाई फकाउन
हराई बस्छु सपनाको बादलमा म
कि तिमी पाए मलाई केहीको खाँचो नै भएन...'
२४ वर्षीय भुटिया दक्षिण सिक्किमको नाम्ची सहरमा बस्छन्। कक्षा ८ मा पढ्दा उनले गीतार बजाउन सुरू गरेका थिए। केही वर्षपछि साथीहरूले गीत गाउन उक्साएर उनले गीत गाउन थाले।
उनका अनुसार सिक्किममा नेपाली भाषा बोल्नुका साथै नेपाली गीत धेरै सुनिन्छ।
'बोली र लवज नमिले पनि हाम्रोमा नेपाली गीतको ठूलो महत्व छ,' उनले भने, 'संगीत मेरो लागि करिअरभन्दा पनि सोख हो। यसमै भविष्य बनाउने वा नबनाउने भन्ने अझै सोचिसकेको छैन। आरिजितले मेरो गीत गाएपछि गायन क्षेत्रमा लाग्न हौसला भने मिलेको छ।'
हेर्नुस् भिडिओ: