दसैंमा सिनेमा
छोटा फिल्मः
१) रिलेसनसिप म्यानेजर, निर्देशकः फाल्गुनी ठोकर, भाषाः हिन्दी।
घरेलु हिंसामाथि बनेको एक शक्तिशाली कलाकर्म। महिलाहरू किन घरेलु हिंसा सहन बाध्य हुन्छन्? हिंसा कसरी असामान्यबाट सामान्य हुँदै दैनिकीको पाटो बन्छ? पारिवारिक संरचनाको कारण त्यस्तो दुश्चक्रबाट निस्कनु किन कठिन हुन्छ? यदि कोही निस्किने नै हो भने त्यसको सम्भावित बाटो कस्तो हुन सक्छ?
यी प्रश्नको असाध्य चित्तबुझ्दो गरी जवाफ खोजेको छ यो फिल्मले।
२) अनुकूल, निर्देशकः सुजय घोष, भाषाः हिन्दी।
एआइ र रोबोटको विकासले कस्तो भविष्य निम्त्याउँदैछ? मानिसले सिर्जिँदै गरेको 'स्वर्ग' कसरी 'नर्क' मा बदलिन सक्नेछ? यी प्रश्नमा हामी आज घोत्लिँदै छौं।
तर विख्यात भारतीय निर्देशक सत्यजीत रेले सन् १९७८ मा यस्तो गम्भीर विषयलाई न्याय गर्ने गरी एउटा कथा लेखेका थिए 'अनुकूल'। त्यसैमा आधारित उही शीर्षकको छोटो फिल्म सुजय घोषले २०१७ मा आएर बनाएका हुन्।
यसको कलात्मक पक्ष त बेजोड छ नै, विषयको दार्शनिक र सैद्धान्तिक बुझाइ र प्रस्तुति २०२३ को कुनै एआइविज्ञ वा वैज्ञानिकको भन्दा कम छैन।
३) द क्रश, निर्देशकः माइकल क्रिग, भाषाः अंग्रेजी।
निर्देशक क्रिगको पहिलो फिल्म रहेको यो आइरिस नाटक–सिनेमा हेर्दा लाग्छ- यहाँ कोही अभिनय गरिरहेका छैनन्, खाली आफ्नो जीवन बाँचिरहेका छन्।
हुन पनि फिल्मका मूल पात्र निर्देशकका आफ्नै छोरा छन्। बाल मनोविज्ञानको बेजोड प्रस्तुति रहेको यो फिल्म अस्कार पुरस्कारका लागि मनोनीत भएको थियो।
४) टेस्ट ड्राइभ, निर्देशकः समिर चन्द, भाषाः हिन्दी।
नाटकमा उम्दा काम गरिसकेपछि सिनेमामा छिर्न आतुर एक अभिनेता कसै गरी निर्देशककहाँ पुग्छ। तर ऊ त्यहाँ पुग्दा उसलाई भनिएको भूमिका अरू कसैले पाइसकेको हुन्छ।
त्यसपछि जे हुन्छ, त्यो नमेटिने गरी दर्शकको हृदयमा बस्छ।
५) द मिनिएचरिस्ट अफ जुनागढ, निर्देशकः कौशल ओजा, भाषाः हिन्दी।
भारतको विभाजनकाल। एउटा मुस्लिम परिवार भारतमा छिमेकीहरूभन्दा पछि छुटेको छ। तर एकदिन उसलाई पनि सीमापार जानुछ। तर जीवनभरको कमाइ कसरी छाड्नु? त्यही संघर्षका बीच एउटा भयानक रहस्य टुट्छ जसको गोपनीयताले परिवारलाई धानेको थियो।
लामा फिल्मः
१) सच अ लङ जर्नी, निर्देशकः स्टर्ला गुन्नार्सन। भाषाः अंग्रेजी।
१९७१ सालमा भारत र पाकिस्तानबीच युद्ध छेडिने समयलाई पृष्ठभूमिमा राखेर बनेको छ यो फिल्म। यसको मूल विषय मुम्बईको एक पारसी परिवारमा आएको उथलपुथल छ तर त्यसका कारण युद्ध एक्लै छैन। सिमानामा भारत र पाकिस्तानबीच गोलाबारी भइरहँदा, भारतले बंगालको मुक्तिवाहिनीलाई भरथेग गरिरहँदा उक्त पारसी परिवार र भारतका त्यस्ता हजारौं परिवारमा दुई पुस्ताबीच उत्तिकै तीव्र द्वन्द्व चलिरहेको छ।
२) आगन्तुक, निर्देशकः सत्यजित रे, भाषाः बंगाली (अंग्रेजी सबटाइटलसहित)।
सत्यजित रेले निर्देशन गरेको आखिरी सिनेमा हो यो। ३५ वर्ष हराएका एक युवतीका मामा अचानक भारत फर्केर भान्जीलाई तार पठाउँछन्, 'म आउँदैछु, स्वीकार्नु वा नस्वीकार्नु तिम्रो कुरा।'
मामाको आगमनसँगै परिवार र इष्टमित्रका लागि एउटा बिल्कुलै नयाँ संसारको घुम्टो खुल्छ। त्यसमा के छ त? यो प्रश्नले बाँधिरहन्छ, पूरा अवधिभर।
३) द एक्ट अफ किलिङ र द लुक अफ साइलेन्स, निर्देशकः जोशुआ ओपनहेइमर, भाषाः इन्डोनेसियाको स्थानीय भाषा (अंग्रेजी सबटाइटलसहित)।
सन् १९६५–६६। इन्डोनेसियामा 'कम्युनिस्टविरोधी' हिंसा र मारकाट उत्कर्षमा छ। एकाध वर्षमा पाँचदेखि दस लाख मानिस मारिन्छन्।
तर चालीस वर्षपछि इन्डोनेसिया पुग्दा विदेशी फिल्ममेकरले देख्छन्- ऊ बेलाका पीडित आज पनि आवाजबिहीन छन्। ऊ बेलाको आमसंहार गराउने सुहार्तोलाई देशले इतिहासका किताबमा नायक बनाएको छ। ऊ बेलाको मिलिसिया आजसम्म जीवित छ। त्यसका कार्यक्रममा मन्त्रीहरू जान्छन्। अनि जसले आफ्नै हातले सयौंलाई मारेका हुन्, तिनको गुनासो छ- इतिहासमा हाम्रो भूमिकाको उचित मूल्यांकन भएन।
यो अवस्थालाई समेटेर निर्देशकले पहिलो भागमा ऊ बेलाका हत्याराहरूलाई नरसंहारको 'रोल–प्ले' गर्न लगाएर इतिहासको उत्खनन गरेका छन्।
अनि दोस्रो भागमा ऊ बेला मारिएका एक युवाका भाइलाई हत्याराहरूसामु खडा गरेका छन्, अप्ठ्यारा प्रश्नहरूसहित। परिणाम- इन्डोनेसिया देशको सिंगो इतिहास बोक्ने एउटा अभूतपूर्व कलाकर्म बनेको छ।
४) मामा, निर्देशकः पाब्लो डि ला शिका। भाषाः अंग्रेजी सबटाइटलसहित, कंगो।
यो फिल्मबारे हेर्नुहोस् मेरो लामो समीक्षाः प्रेम दिवसका लागि एक अमर प्रेम कथा।
५) द डे इन्डिया बर्न्ड, बिबिसी वृत्तचित्र। भाषाः अंग्रेजी।
भारत विभाजन भयो। घाउहरूमा खाटा बसे। धेरैले विगतलाई बिर्सी पनि सके। तर केही पात्र छन् जसले मानिसको पत्याउनै नसकिने बर्बरता देखेका छन्। तिनै पात्रहरूका स्मृतिलगायत ऊ बेलाका फुटेजहरू समेटेर तयार पारिएको छ यो वृत्तचित्र।
एक त आजको दक्षिण एसिया बुझ्न पनि त्यस खाले विगतलाई हामी सबैले बुझ्नु जरूरी छ। तर त्योभन्दा पनि महत्वपूर्ण, यो क्षेत्रलाई फेरि त्यस्तै विग्रह, द्वन्द्व र हिंसामा धकेल्ने सचेत प्रयासहरू अहिले भइरहेका छन्। तिनले निम्त्याउने भविष्य कस्तो हुन सक्छ भनेर बुझ्न पनि यो वृत्तचित्र हेर्नै पर्छ।
सबै फिल्म निःशुल्क हेर्ने लिंकका लागि यहाँ क्लिक गर्नुहोस्।
यी पाँचै फिल्मको विस्तारित भिडिओ रिभ्युका लागि यहाँ हेर्नुहोस्ः
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
(जीवन क्षेत्रीको पुस्तक 'नुन–तेलः विगततिर पदयात्रा' हालै प्रकाशित छ र अमेजनमार्फत नेपाल बाहिरका ११ देशमा समेत उपलब्ध छ। उनले पाठकहरूका लागि नियमित रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस् द हिमालयन गेज।)