नेपाल र विश्वभर फैलिएका नेपाली श्रोता निम्ति संगीत क्षेत्रले यो साता महत्वपूर्ण समाचार ल्याएको छ। नेपालको चर्चित र लोकप्रिय रक ब्यान्ड '१९७४ एडी' अब फेरि एक भएको छ।
करिब एक दशकअघि मुख्य गायक फिरोज स्याङ्देन अचानक अमेरिका गएपछि यो ब्यान्डको अवनति सुरू भएको थियो। लगत्तै अर्का गायक एड्रियन प्रधानसमेत अनुपस्थित भएपछि प्रशंसकहरू निराश भए। सर्वकालिक हिट गीत गाउने दुवै गायक साथमा नभएपछि ब्यान्ड खल्लो भयो।
फिरोज र एड्रियन गायक मात्र नभई सर्जक पनि थिए। यस्तोमा क्षतिपूर्ति हुन निकै मुश्किल पर्छ।
बीचमा ब्यान्डले नयाँ सदस्यहरू मार्फत् आफूलाई अघि बढाउने कोशिस गरेको थियो। एल्बम पनि निस्कियो। तर, पुरानो चमक ब्यूँतने सम्भावना देखिएन।
यस्तै अलमलबीच अचानक पाँचै जना पुराना सदस्य फिरोज, एड्रियन, निराकार याक्थुम्बा, मनोज केसी र सञ्जय श्रेष्ठ फेरि ब्यान्डमा सँगै काम गर्न राजी भएका छन्। संयोगले यसै वर्ष '१९७४ एडी' स्थापनाको २५ वर्ष पुग्दैछ।
ब्यान्डमा संलग्न भए पनि फिरोज अमेरिकामै रहेकाले केही समयपछि मात्र काठमाडौं आइपुग्नेछन्। बाँकीका चार सदस्यले भने आइतबार सेतोपाटीका लागि गिरीश गिरीसँग यसरी संवाद गरे–
अलग्गिन चाहने ब्यान्डका सदस्यले ब्यान्ड टुक्रिँदाको पीडा उसको मनपराउने श्रोताहरूलाई हुन्छ भन्ने हेक्का राख्छन् कि राख्दैनन्?
निराकार– श्रोताका बारेमा सोच्ने काम पछि मात्र हुन्छ। तत्काल त आफ्नै भोगाइ सोचिरहेका हुन्छौं। यो अन्य सम्बन्ध जस्तै हो। झट्ट आवेशमा प्रतिक्रिया निस्कन्छ। तर्कले पछि मात्र काम गर्छ।
सञ्जय– पहिले त 'शक' हुन्छ। एउटा चरण पछि मान्छेले स्वीकार्छ।
एड्रियन– ब्यान्ड भनेको एउटा परिवारजस्तै हो। परिवारभित्र कुन बेला कसलाई के चित्त बुझ्दैन। त्यस्तो बेलामा नकारात्मक भावनाहरूले जित्ने पनि हुन्छ। त्यस्तै अवस्थाले विकास गर्ने परिस्थितिमा 'ब्रेकअप' हुने हो।
हाम्रा गीत सुनेरै आफूलाई हुर्काएका वा संगीतसँग जीवन जोडिएका फ्यानहरूका निम्ति भने हामीले एउटा कठोर परिस्थिति तयार पारिदिएका हुन्छौं। बितेका पाँच वर्ष धेरै फ्यानहरूलाई भेट्दा उनीहरू प्रत्येकले असाध्यै भित्री मनबाट हामीलाई फेरि एक भएको हेर्ने चाहना प्रकट गरे।
हामी व्यक्तिगत कारणले छुट्टियौं। त्यो एक ठाउँमा छँदैछ। तर, हामीले फ्यानहरूका भावनासँग पनि खेलवाड गरेछौं जस्तो लाग्दैछ। त्यो कुराले मलाई एकदमै ठूलो 'रियलाइजेसन' भएको छ। यस्तै परिस्थितिले ब्यान्डलाई फेरि एक बनाएको हो।
पाँच जना फेरि एकजुट हुँदा, फिरोज स्याङ्देन पनि नेपालै फर्कने हो?
निराकार– हामीले नयाँ एल्बमको निम्ति काम सुरू गरिसकेका छौं। अमेरिकामा भए पनि फिरोज हाम्रो साथमै छन्। एक सातादेखि सुरू भएको रिहर्सलमा लाइभ च्याट वा अडियो क्लिपहरू पठाएर हरेक गीतमा मिलेर काम गरिरहेका छौं। हामी फेरि साथमा संगीत अभ्यास गर्न चाहन्छौं भन्ने भावना भित्रैबाट पलाएर नै एक भएका हौं। दर्शकका अगाडि साथै देखा पर्ने लोभ मात्र होइन।
हामीले संगीत सुरू गर्दा मानिसले यति धेरै मनपराउने छन् भनेर सोचेकै थिएनौं। केवल संगीतमै केन्द्रित थियौं। यसरी तयार भएका गीतलाई धेरैले मनपराए। फेरि त्यही अवस्था तयार पार्ने प्रयास गर्दैछौं। कसरी राम्रो संगीत तयार पार्ने भन्ने नै ध्याउन्न हो।
अहिलेको समयमा राम्रो संगीत तयार पार्न सबै एकै ठाउँमा बस्नुपर्छ भन्ने छैन। मन मिल्नु जरुरी हुन्छ। एउटै ब्यान्डमा आइपुग्यौं भनेर सोच्न जरूरी थियो। त्यो भएको छ। सानो सानो कुरामा फिरोजको 'फिडब्याक' लिइरहेका छौं।
ऊ सेप्टेम्बरमा आउँदैछ। त्यसपछि चार महिना यहाँ कन्सर्ट गर्ने योजना बनाएका छौं। फिरोज फर्केपछि हामी उता जान्छौं। उता कन्सर्ट गर्छौं।
यसरी हामी अलग ठाउँमा बसे पनि साथै काम गर्नेछौं। यो विश्वका ठूला ब्यान्डहरूमा पनि लागू हुन्छ। फरक ठाउँमा रहेर पनि ब्यान्डका निम्ति एक साथ काम गरिरहेका हुन्छन्।
सञ्जय– मुख्य कुरा हामी पाँच जना नभइकन कुनै पनि कन्सर्ट हुँदैन।
ब्यान्ड फेरि एक हुन तपाईंहरू बीचमा आपसमा केही प्रतिबद्धता पनि भएको छ?
निराकार– व्यक्तिगत प्रतिबद्धता हो, त्यो भनेको एकसाथ मिलेर काम गरौं भन्ने हो। हाम्रो समझदारी अब पाँचै जनाबिना ब्यान्डको सार्वजनिक कार्यक्रम कतै नगर्ने भन्ने हो। कुनै नयाँ संगीत सिर्जना पनि हुनेछैन। एक जना अनुपस्थित हुँदा तयार भएको संगीत सार्वजनिक हुने छैन।
त्यसबाहेक भ्रमण नभएका बेला वा बचेको समय हामी सबै आ–आफ्नो 'साइड प्रोजेक्ट' गर्न मुक्त छौं। त्यस्तो पहिले पनि गरेकै हौं। तर, ब्यान्डको नाम आउनासाथ अनिवार्य रुपमा पाँच जना हुनैपर्ने शर्त राखेका छौं।
एड्रियनजी, तपाईंलाई अघिल्ला दुइटा ब्यान्ड छाड्दा र पछिल्लो पटक यो ब्यान्ड छाड्दा के अन्तर महशुस भएको थियो?
एड्रियन– मेरा निम्ति जीवनका प्रत्येक पाइलाहरू सिकाइको अवसर भयो। फरक-फरक ब्यान्डसँगको अनुभव मात्र होइन पछिल्लो समय एक्लै गीत गाएर अघि बढ्दाको अनुभव पनि सिक्ने अवसर बन्यो।
कालिङपोङ हुँदै मैले पहिलो ब्यान्ड 'युरेका' गठन गरेको थिएँ। तर, त्यसमा भिजनै थिएन, स्कुल ब्यान्ड थियो। त्यसपछि एक कदम अगाडि जाने हिसाबले 'फ्लेम्स' ब्यान्डमा गएँ। त्यसमा मेरा नाताका दाजुभाइ थिए। तर, त्यो पनि कालिङपोङभन्दा बाहिर ननिस्कने भएपछि छाडेर काठमाडौं आएँ।
काठमाडौं आएपछि 'रेजुलुसन' ब्यान्डमा पनि काम गरेँ। त्यहीँ निराकार दाइसँग भेट भएर यता आएको थिएँ।
मैले हरेक कुरा सिकाइकै हिसाबले गर्दै आएँ। पछि-पछि आर्थिक हिसाबले पनि सोच्नुपर्ने भयो। यस्तोमा तीता अनुभवहरू एक ठाउँमा छँदैछन्। त्योभन्दा बढी, सबै ब्यान्डमा काम गर्दा र छाड्दा मैले सिक्ने नै काम गरेँ।
एक हिसाबले परिपक्व भएर सोच्दा अब संगीतमा प्रतिबद्ध भएर लाग्नुपर्छ भन्ने सोचाइ आयो। अहिले भर्खर हामीले अठोटका साथ 'नाइन्टिन सेभेन्टी फोर एडी' मै सबै एकजुट भएर काम गर्ने निर्णय गरेका हौं।
निराकार– एड्रियनले म ब्यान्ड छाड्छु भनेर छाडेकै थिएन। न ब्यान्डले एड्रियनलाई छाड भनेको थियो। सुरूमा ब्यान्ड खडा गर्दा संगीत तयार पार्ने जुन उत्साह र ऊर्जा थियो, त्यसैले हामीलाई माथि उठाएको थियो। हामी कन्सर्टलाई सोचेर होइन, राम्रो संगीत कसरी तयार पार्ने भन्ने सोचेर मिहिनेत गर्थ्यौं। एकोहोरो लागि परेका थियौं। अरू कुरा सोच्दै सोचेनौं।
संगीतमा त्यसरी एकोहोरो लागेको देख्दा परिवारका सदस्य र साथीभाइ पनि 'यसबाट के फाइदा छ?' भनेर हाँस्थे। यस्तो अवस्थामा पनि एकोहोरो लागिरहेका हामीलाई त्यही नसाले संसारभर डुलायो। हाम्रा गीत सबैतिर सुनियो।
अघि बढिरहेकै क्रममा व्यक्तिगत कारणले फिरोज स्याङदेन अमेरिका गए। चार जना बाँकी रहँदा पहिलेकै जस्तो हिसाबले काम गर्छौं भनेर जति लाग्दा पनि सकेनौं। हामीमा निराशा बढ्यो। त्यही बेला एड्रियन प्रधानका एकल कार्यक्रम पनि भइरहेका थिए।
स्थापनाकालमा गरेको कडा मिहिनेतले ब्यान्डलाई जुन उचाइमा लगेको थियो त्यसले नै दिइरहेका अवसरबाहेक नयाँ उपलब्धि भएन। यसैगरी चलिरहेका बेला एक पटक एड्रियन कार्यक्रमका लागि बाहिर गएको थियो। यता काठमाडौंमा कार्यक्रम गर्न ब्यान्डलाई निम्तो आयो। मैले त्यसमा नयाँ भाइहरूलाई राखेर प्रस्तुत गरौं भन्ने कुरा निकालेँ। ब्यान्डमा सहमति लिएरै त्यसो गरेको थिएँ।
तर, त्यसलाई पत्रपत्रिकाले अर्कै हिसाबले समाचार बनाइदिए। हामीबीच नभएको विभाजनलाई 'ठूलो समाचार' बनाइदिए। हामी पनि बलियोसँग नजोडिएकै बेला प्रहार खेप्नुपर्यो। यो मिलाउने प्रयास पनि गरेनौं। 'भइहाल्यो' भनेर परिस्थितिअनुसार अघि बढ्यौं। भएको त्यही हो।
हाम्रो विषयमा पत्रपत्रिका र सोसल मिडियाले ज्यादा भूमिका खेलिदियो। यस्तो बेलामा हाम्रै साथीभाइ कोही एड्रियनको पक्ष लिने, कोही हाम्रो पक्ष लिने काम गरेर पनि बिगारिदिए। सोसल मिडियामा लडाइँ चल्दा त घाउ झनै बल्झिँदै जाँदो रहेछ।
एड्रियन— म भारतमा भएका बेला ब्यान्डलाई कन्सर्टको प्रस्ताव आएछ। निराकार दाइले म्यासेज पठाउनुभयो। मैले तत्काल नभ्याउने जवाफ दिएँ। यस्तोमा 'यतैको भाइ लिएर कन्सर्ट गर्छु है' भन्नुभयो। म्यासेजमा प्रज्ज्वललाई मात्र राख्ने कुरा थियो। तर, कन्सर्टमा रोहित जोन क्षेत्रीले समेत गाएछन्।
त्यसपछि लगत्तै पत्रपत्रिकामा मैले ब्यान्ड छाडेको खबर आयो। त्यसपछि न ब्यान्डले मलाई खबर गर्यो, न मैले केही गरेँ। ब्यान्ड छाडेको भनेर मैले कसैलाई भनेकै छैन। परिस्थितिले जता लग्यो, म त्यतै बढेँ।
यी सबका बावजुद, ब्यान्ड स्थापना गर्दाताका हामीमा भएको जोश-जाँगर हराउँदै जानु पनि मुख्य कारण थियो। सायद फिरोज दाइ अमेरिका गएकाले हराएको थियो। हामी संगीतप्रति गम्भीर भएनौं। फिरोज दाइबिना निस्केको एल्बम 'आठ अठार' केवल औपचारिकताका लागि निकालेको जस्तो भयो। हिट हुने कुरै भएन। मेरो निम्ति भने संगीत हातमुख जोर्ने माध्यम पनि थियो। त्यस्तो बेलामै स–साना कुरा हामीबीच निस्कन थाले। तिनैले निराशा पनि बढाउँदै लग्यो।
अहिले कसरी कुरा मिल्यो?
निराकार– सामाजिक सञ्जालले हाम्रो सम्बन्ध ध्वस्त पार्दै लगेपछि सम्हालिने अवस्थै रहेन। हामी सबै त्यसैमा डुब्यौं। यो सबै बुझ्न केही समय लाग्यो। बसेर कुरा गर्नुपर्ने विषयमा हामी पन्छिएका कारण बिग्रिरहेको थियो।
एड्रियन– ब्यान्ड छाडेको दुई वर्ष पछाडि मेरो र फिरोज दाइको अमेरिकामा भेट भयो। हामी मिलेर काम गर्ने कुरा भयो। सँगै काम गर्यौं पनि। एउटा एल्बम पनि निकाल्यौं। तर, ब्यान्डका सबै मिलेर काम गर्दा जुन ताकतका साथ 'फोर्स' निस्कन्थ्यो, त्यो भएन।
त्यसलगत्तै पोहोर निराकार दाइसँग सानेपाकै इन्टरनेशनल क्लबमा भेट भयो। 'द म्यान फ्रम काठमाडौं' सिनेमाको कार्यक्रम थियो। त्यसमा हाम्रो गीतको ट्रयाक भनेर कुरा गर्न बोलाइएको थियो। निराकार दाइ र मेरो धेरै समयपछि पहिलोपटक बसेर कुराकानी भयो। हामी सकारात्मक हुँद गयौं। जीन्दगीभर 'झगडै' गरेर मर्नु पनि थिएन। तलदेखि सँगै अभ्यास गरेरै यति माथि आइसकेका थियौं।
हामी पाँच जना थियौं। यति पाँच जनाले आ-आफ्नो बाटो लाग्नु मूर्खता हो भन्ने भयो। विस्तारै 'रियलाइजेसन' भयो। उता फिरोज दाइलाई पनि मैले सोध्दा ठ्याक्कै त्यही कुरा गर्नुभयो।
'मिल्न त मिल्ने, तर कसरी?' भन्ने कुरा आयो। यस्तैमा सबै कुरा मिल्दै गयो। मनमुटाव विर्सँदै गयौं।
ब्यान्डमा सबैको प्रयास जोडिएर गीत तयार हुन्थ्यो भन्नुभयो। पाँच जनामध्ये क-कसको के-के योगदान महत्वपूर्ण हुन्थे?
एड्रियन– ब्यान्डमा एकै जनाले मात्र शब्द, संगीत र स्वर दिने हिसाबले कहिल्यै काम भएन। 'टिमवर्क' हुँदै आयो। जस्तो, शब्द फिरोज दाइको छ भने संगीत निराकार दाइको हुन्छ। त्यसैगरी मनोजले शब्द लेखेर सञ्जयले कम्पोज गरेको हुन्छ। यसरी मिलेर काम गर्ने भएकैले हाम्रा कम्पोजिशनहरू अलि बेग्लै भएका हुन्।
निराकार– संगीतका स-साना 'फ्रेज'हरू मा धेरै ध्यान दिन्छौं। चार बारको फ्रेज छ भने पनि त्यसलाई विशेष ध्यान दिएर कसरी कम्पोज गर्ने भन्दै प्रत्येक 'मेजर'मा घोत्लिन्छौं। त्योबाहेक संगीतको मामिलामा हामी खुला सोचका छौं। एउटै ढर्रा नपछ्याएर अनेक सम्भावना खोजिरहन्छौं।
जस्तो 'गुराँसै फुल्यो' लोक धूनमा आधारित छ। तर यसमा अफ्रिकन प्रभाव पनि मिसाएका छौं।
हाम्रो एउटै ध्यान श्रोताका निम्ति कसरी मिठो गीत बन्न सक्छ भन्ने हुन्छ। त्यसैले श्रोताले हाम्रा गीत मनपराइरहेका हुन्छन्। जुन किसिमले गीत तयार पार्दै आएका छौं, त्यसनिम्ति पाँचै जना आवश्यक पर्छ। प्रत्येकले हरबखत आ-आफ्ना दृष्टिकोणबाट कसरी सिँगार्ने भनेर दिमाग लगाइरहेकै हुन्छन्।
मनोज– खासगरी 'एरेन्जमेन्ट' हिसाबले ब्यान्डका उत्पादन असाध्यै बलिया हुन्छन्। अभ्यास गरिरहँदा ड्रम्स बजाउनेले पनि गितार बजाउनेलाई 'आइडिया' दिइरहेको हुन्छ। यसरी एक अर्काले सघाउँदा धेरै फरक पर्छ।
ब्यान्ड पुरानै संरचनामा एक भएपछि व्यवस्थापन पनि नयाँ ढंगले गर्ने हो?
सञ्जय– त्यो पनि गर्दैछौं। पहिले व्यवस्थापनका कुरामा त्यत्ति ध्यान दिएका थिएनौं। सायद, हाम्रो कमजोरी यसैमा थियो। अवस्था बिग्रिनुको एउटा कारण त्यो पनि हो। अबको कोशिश भनेको गल्ती नदोहोर्याउने। र, अप्ठ्यारा कुरा कसरी सच्याएर भनौं वा राम्रो गरेर जाने भन्ने सोचिरहेका छौं। अहिलेलाई पुरानै पाँच जना एक ठाउँमा आएर काम सुरू गर्नु नै मुख्य उपलब्धि ठानेका छौं।
एक साता यता पाँचै जना मिलेर नयाँ एल्बमको काम सुरू भइसकेछ। कस्ता गीत तयार पारिरहनुभएको छ?
निराकार– मलाई त नयाँ एल्बम एउटा विष्फोट जस्तो हिसाबले आउँछ भन्ने लागेको छ। यत्रो वर्षदेखि थुप्रिएका हाम्रो ऊर्जा अब बाँध फुटेजस्तो निस्कने अवस्थामा छ। अहिले काम गर्ने क्रममै यति धेरै 'आइडिया' थुप्रो लागिसकेको छ। यसले पक्कै श्रोताका लागि राम्रो सिर्जना तयार हुन्छ भन्ने विश्वास छ। पाँचै जना फेरि एक भएर अघि बढ्न सुरूमा एउटा गीत गरौं भन्ने थियो। तर, काम थाल्दा यति धेरै 'इनपुट' आउन थाल्यो, एउटा गीत होइन एल्बमै निकाल्नुपर्ने अवस्था देखियो।
कतिवटा गीत तयार भए?
सञ्जय– एक सातादेखि भइरहेको रिहर्सलमा चार वटा गीतमा काम गरिरहेका छौं। तयार कुनै भइसकेको छैन।
कस्ता कस्ता गीत छन्?
निराकार– लोक गीत, लोकरक, ब्याले र 'फास्ट रक' छ।
यी गीत एकै साथ एल्बमका रुपमा सार्वजनिक हुन्छ कि एक-एक वटा अलग्गै रिलिज गर्नुहुन्छ?
मनोज– पुरानै हिसाबले एकै पटक एल्बमै निकाल्ने योजना छ। दसैं अगाडि तयार हुन्छ होला। एल्बम तयार पार्दा-पार्दै बीचमा 'टुर' योजना पनि छ।
पुराना साथी अलग भएका बेला ब्यान्डमा केही नयाँ सदस्य थपिएका थिए। अब पुरानै पाँच जनाले चलाउने भनेपछि नयाँ सदस्यले के गर्छन्?
निराकार– हामीले प्रायः हाम्रै म्युजिक स्कुल 'काठमाडौं ज्याज कन्जर्भेटरी'का भाइहरूलाई लिएर काम गरेका थियौं। नयाँ पुस्ताका भाइहरूलाई उनीहरूको ऊर्जाको निम्ति ठाउँ चाहिएको थियो, त्यो पाए।
एउटा एल्बम 'नयाँ सपना' पनि मिलेरै निकाल्यौं। त्यो राम्रो अनुभव भयो। ती भाइहरूमध्ये धेरै त विदेश पढ्न गइरहेका छन्। प्रज्वल अष्ट्रेलिया गइसक्यो। अगस्टमा अर्का दुई जना संगीत नै पढ्न नेदरल्यान्ड्स जाँदै छन्। रोहित तन्नेरी पुस्ताका असाध्यै सम्भावना भएका गायक हुन्। केही वर्ष हामीसँग काम गरेर उनको 'करिअर'लाई पनि राम्रो खुड्किलो भयो। उनलाई भविष्यमा अगाडि बढ्न हाम्रो साथ-सहयोग रहनेछ।
सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी