कविता श्रीनिवासन नेपाली रंगमञ्चका लागि परिचित र अपरिचित नाम दुवै हो। उनले गत वर्ष बुद्धको कथामा आधारित ‘बोधिछाया’ र यसपल्ट कुमारीको कथामा आधारित ‘कुमारी एन्ड दि बिस्ट’ नाटक लेखन र निर्देशन गरिन्।
पुराना सांस्कृतिक कथालाई वर्तमान कलाको स्वरूपमा ढालेर प्रस्तुत गर्नु र ती कथामा भगवान भएर बाँचेका पात्रलाई मानवीय गुणसहित देखाउनु उनको विशेषता हो।
जाम्बिया, पपुवा न्युगिनी र भारत हुँदै अमेरिका पुगेर बायो केमेस्ट्री, आर्किटेक्चर र सिटी प्लानिङ अध्ययन गरे पनि उनी कला क्षेत्रबाट बाहिर रहिनन्। त्यसै यात्राको क्रममा बलिउड हुँदै हाल उनी नेपाली रंगमञ्चसम्म आइपुगेकी छन्। नेपालकै पहिलो अनलाइन सिरिज ‘पि एस जिन्दगी’ मा लेखन, निर्देशन र अभिनय गरेकी छन्। सँगै ‘थ्रि सिस्टर्स’ र ‘आना इन दि ट्रोपिक्स’ मा पनि अभिनय गरेकी थिइन्।
यो अन्तर्वार्तामा उनले नाटक निर्माण प्रक्रिया, नेपाली विषय, सांस्कृतिक कथाहरूको महत्वसँगै कुनै कालखण्डका कथालाई नयाँ शैली र पुनर्व्याख्यामार्फत प्रस्तुत गरिनु किन जरुरी छ भन्ने कुराकानी गरेकी छन्।
तपाईंले गर्नुभएका दुवै कथामा भगवान पात्रलाई मानवीय स्वरूप दिनुभएको छ। त्यस्तो किन?
कारण एउटै छ, मानिसहरूले भगवानको रूपमा हेरेर हैन मानवको रूपमा हेरेर उनीहरूको सङ्घर्षलाई सजिलै आत्मसात् गर्न सक्छन्। र मानवको रूपमा देखाउँदा समकालीन नाटक र नाचका तरिका पनि प्रयोग गर्न पाइन्छ त्यसैले।
नेपालको सांस्कृतिक कथासँग काम गर्दा कस्तो लाग्यो तपाईंलाई?
यहाँ एकदमै रोमाञ्चक र अद्भूत कथा छन्। नेपाल संस्कृति र परम्परामा धनी छ। यहाँका हरेक मन्दिरमा कथा छन्। अझ समाजमा पनि सुन्दर अन्तर्विरोध पाउन सकिन्छ। यहाँको सामाजिक परम्परामा धेरै नियम छन्। सँगै धेरै अपवादहरू पनि छन्। ती एक हिसाबले कडा छन् र एक हिसाबले नरम पनि। मलाई यो संयोग एकदमै गज्जब लाग्छ। यहाँ अन्तरजातीय विवाह वर्जित छ तर पनि भइरहेका छन्। र थोरै अपवाद बाहेक उनीहरू समुदायबाटै बाहिर धकेलिएको मैले देखेको छैन। आउजाउ नहुने आफन्त पनि परिवारबाट बाहिर गएका छैनन्।
यस्तो संरचनामा धेरै कथाहरू हुन्छन्। काम गर्ने ठाउँ धेरै छन्।
अनि यहाँका कथामा नैतिक पाठको भारी पनि छैनन्। भारतीय कथामा अक्सर अन्तिममा नैतिक पाठ दिइएको हुन्छ। यहाँका कथाले पढिसकेपछि पाठकलाई सोच्ने ठाउँ दिन्छन्। कथा अर्गानिक र प्रष्ट लाग्छन्।
हाम्रो रंगमञ्चले ती कथाबाट उत्कृष्ट कसरी निकाल्न सक्छ त? कसरी उपभोग गर्न सक्ला? वा भएको छ कि छैन?
मलाई थाहा छैन यहाँका रंगमञ्चले यतैको कथा किन प्रयोग गरिरहेका छैनन्। हुनसक्छ यहाँ रंगमञ्च नै 'वेस्टर्न फर्म'बाट सुरु गरियो। रंगमञ्चको परम्परा यहाँबाटै सुरु भएको भए राम्रो हुन्थ्यो। अथवा हुनसक्छ यहाँ भएका रंगमञ्चका स्वरूपको निरन्तरता भएन। केही नाटक बनेका पनि छन्। मैले भर्खरै ‘राजेन्द्रलक्ष्मी’ नाटक हेरेको थिएँ।
विदेशी नाटक नेपालीमा अनुवाद गर्ने वा रूपान्तरण गर्ने काम भइरहेको छ। नेपाली रंगमञ्चमा 'नन्' नेपाली कथा किन धेरै? ‘बोधिछाया’ गर्ने बेला मैले नेवारीबाट नेपालीमा अनुवाद गरिएको चित्तधर हृदयको किताब पढेको थिएँ। उहाँले बुद्धको जीवनबारे नेवारीमा लेख्नुभएको थियो। त्यसमा बुद्धलाई नेवार मान्छे बनाउनुभएको थियो। यस्ता कथा अरू धेरै खोज्न बाँकी छन्। नेपाली रंगमञ्चले खोज्नुपर्छ।
र यदि विदेशकै कथा गर्ने भए यहाँको सेटिङ र जीवनशैलीसँग ढाल्नुपर्छ। त्यसले नेपाली संस्कृति धनी बनाउँछ।
‘कुमारी एन्ड बिस्ट’ को सामग्री खोज्दाका केही कुरा बताउनुहोस् न।
मलाई ‘ब्युटी एन्ड दि बिस्ट’ कथा जस्तै नेपाली कथा बनाउनु थियो। खोज्दै जाँदा कुमारी कथामा त्यो पाएँ। महेश्वर जिजुराज उपाध्यायले कुमारीबारे लेख्नुभएको किताब पाएँ। उहाँले नेवार संस्कृतिका कथा खोज्न र बाहिर ल्याउने काम गरिरहनु भएको रहेछ। एक पुस्ताबाट अर्को पुस्तामा एकले अर्कालाई सुनाएको भरमा बाँचेको यो कथा उहाँले लेखेर प्रकाशन गर्नुभएको रहेछ।
कथा छानिसकेपछि अर्को समस्या। हामीले छानेका १० जना कलाकारमा ६ जना ‘ब्याले’ नाच्ने थिए। त्यो नाच यस्तो प्राचीन कथाका लागि उपयुक्त थिएन। त्यसैले ब्यालेलाई कम्टेम्पोररी फर्मसम्म ल्याएर कुमारीको नेवार झलक दिन ‘चर्या’ नाच प्रयोग गर्यौं। यसलाई कन्टेम्पोररी इन्टरप्रिटेसन अफ कुमारी भन्छु म।
यो कथा धेरै पुरानो भएकाले त्यो बेला कस्तो थियो भन्ने केवल कल्पना हो। त्योबेलाको अवस्था कसैले देखेको छैन। केबल शब्दमा वर्णन छ। यसलाई देखाउन हामी जे गर्छौं त्यो पनि फ्यान्टेसी नै हो। यो ऐतिहासिक व्याख्या हो। चर्या नाच मात्र प्रयोग गरेको भए पनि हुन्थ्यो होला। तर मेरो बुझाइमा कथा भएका बेला चर्या आइसकेको थिएन। त्यसैले अहिले कम्टेम्पोररी फर्ममा भन्नु र चर्या भन्नुमा कुनै फरक देखिनँ।
यो नाटकको सैद्धान्तिक विषयमा केही भन्नुहुन्छ?
यो कुमारी (अहिले जीवित कुमारी) र बिस्ट ‘चण्डा’ को प्रेम कथा हो। चण्डाको वध गरेर कुमारी शक्तिमा आएकी थिइन्। तर कथा पढेदेखि नै मलाई बिस्ट खराब पात्र भन्ने लागेन। मलाई कुमारी र बिस्टप्रति उति नै सहानुभूति छ। बिस्टको बलिदानलाई म नराम्रोमाथि राम्रोको विजय भनेर हेर्न चाहन्नँ। हामीभित्र अनेक इच्छा हुन्छन्। हामी हरेक कुरामा बलिदान गरिरहेका हुन्छौं। समाजलाई अगाडि बढ्न जहिल्यै पनि व्यक्तिगत बलिदान चाहिन्छ। बिस्ट त्यस्तै हो।
कुमारीले समाजको लागि आफ्नो इच्छा छोडेकी हुन्। किनकि नेपाली समाज धेरै शक्तिशाली छ। समाजले के भन्ला भन्ने कुरा पहिलो प्राथमिकतामा पर्छ। व्यक्तिगत र सामाजिक स्वतन्त्रताबीच जहिल्यै पनि सङ्घर्ष हुन्छ। बिस्ट केबल बलिदान भएको एक जीवन हैन। ऊ हाम्रो पाटोको एक अङ्ग पनि हो। समाजमा बस्न हामीले गरेको बलिदान।
हामी गर्न मन नलागेको काम पनि गरिरहेका हुन्छौं। सामाजिक भूमिका पाउन व्यक्तिगत चिजको बलिदानी दिइरहेका हुन्छौं। चण्डाले केही गरेको हैन। ऊ त केबल कुमारीसँग मायामा परेको हो। उसलाई आफू कुमारीको हातबाट मर्दैछु भन्ने पनि थाहा थिएन। कुमारीले त्यो समाजमा रहन चण्डाको वध रोजिन्।
त्यसैले पनि यसमा कुमारी एकदमै राम्रो वा चण्डा एकदमै खराब भनेर श्यामश्वेत केही छुट्याइएको छैन। दुबैजना 'ग्रे जोन'मा छन्।
सानो उमेरबाटै तपाईंले विभिन्न देशका सिमाना काट्नुभयो। फरक संस्कृति, भाषा र परम्परामा बाँच्नुभयो। त्यो यात्राले एक व्यक्तिको रूपमा केही परिवर्तन गर्यो?
यो उत्तर दिन मलाई गाह्रो छ। किनकि त्यो नभएको भए मेरो जीवन कस्तो हुन्थ्यो, थाहा छैन। अर्को वैकल्पिक अनुभव पनि भएन। तर त्यसले नयाँ बाटो र ठाउँमा हिँड्न र भिज्न सक्ने बनायो। केही समयपछि छोड्ने ठाउँमा पनि नछोडुन्जेल अपनत्वसहित बस्न सिकेँ। परिवर्तनबाट नडराउने भएँ। करिअर कताबाट कता पुग्यो। परिवर्तन भइरह्यो। म त्यसैमा मिसिइरहेँ। त्यो यात्रा नभएको भए सायद म परिवर्तनसँग डराइरहेको हुन्थेँ।
अभिनयपछि निर्देशनमा आउनुभएको छ। दुई कुरामा फरक के रहेछ?
मेरो लागि अभिनय शरीरसँग आबद्ध हुने प्रक्रिया हो। यसमा शारीरिक रूपमा धेरै काम हुन्छ। आफूलाई कुनै पात्रको लागि पूरै गुमाउन पाइन्छ। चरित्रमा डुब्न सकिन्छ।
निर्देशनमा भने अलि धेरै जिम्मेवारी छ। अझ नेपालमा त सानो-सानो जिम्मेवारी पनि लिनुपर्छ। निर्देशकको काम नाटकसँग सम्बन्धित हरेक पक्षसँग सन्तुलन मिलाउन धेरै केन्द्रित हुन्छ। जसको बाध्यता अभिनयमा हुँदैन। अभिनय गर्नु बच्चा हुनुजस्तो हो। वर्तमानमा लिन हुनु। निर्देशन गर्नु आमाबाबुजस्तै हुनु हो। जसले भविष्य पनि देखेका हुन्छन्। तर वर्तमानमा बाँच्न छोडेका हुँदैनन्।
दुइटाको सम्बन्ध कस्तो हुनुपर्छ? कसरी काम गर्नुपर्छ?
यो विषयगत कुरा हो। कसैको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा गाह्रो छ। मेरो सम्बन्ध एक निर्देशकको रूपमा सबैखाले कलाकारसँग एकै प्रकारको हुँदैन। हरेकको क्षमता र व्यक्तिगत केमेस्ट्रीले धेरै फरक पर्छ।
मैले सोध्न खोजेको चाहिँ एउटा भिजनमा काम गरिरहेको निर्देशकले दर्शकसम्म पुग्ने माध्यम कलाकारको अभिनय नै हो। कलाकारले पनि त्यसलाई लैजाने छुट्टै भिजन बनाएको हुनसक्छ। ती दुई भिजनबीच कस्तो सम्बन्ध हुनुपर्छ?
दुवै पक्ष कथा र नाटक निर्माणमा केन्द्रित हुनुपर्छ। के बनिरहेको हो र त्यसका लागि के सबभन्दा उपयुक्त हुन्छ भन्ने ख्याल गर्नुपर्छ। अभिनय र निर्देशनलाई व्यक्तिगत रूपमा लिएर जानु हुँदैन।
कुनै कुरा निर्देशकले भनेकै हुनुपर्छ भन्ने हुँदैन। एक निर्देशक वा कलाकारको रूपमा कुनै कथामा आफूभन्दा माथि पुगेर कसरी भूमिका खेल्ने भन्नेमा कलाकार र निर्देशकको मुख्य ध्यान हुनुपर्छ। दुईमध्ये एक सीमित हुन खोजे उसको इगो भारी भइदिन्छ। इगोले सम्भाव्यताहरू थुनिदिन्छ।
मैले मेरो मात्र भिजनमा नाटक बनाउँछु भन्नासाथ अरू सम्भावना बन्द हुन्छन्। कलाकारले त्यस्ता चिज ल्याउँछन् जुन मैले सोचेको हुदिनँ। त्यसैले मैले उनीहरूलाई सुन्नैपर्छ। निर्देशकले अरूलाई सुन्नुपर्छ। मैले देखाएको भिजनमा काम गर्नेभन्दा पनि राम्रो काम गर्ने प्रक्रियाको एक माध्यम म हुँ। निर्देशक रेडियो च्यानल जस्तो हो। आफ्नो च्यानलका लागि चाहिने फ्रिक्वेन्सी कलाकारमार्फत टिप्छ र दर्शकसम्म पुर्याउँछ। मरो अभिनयको अनुभवले पनि यही भन्छ। कलाकारले व्यक्तिगत कुरालाई छोडेर चरित्रसँग पुग्नुपर्छ।
एक निर्देशकको रूपमा तपाईंले सबैभन्दा धेरै सङ्घर्ष गर्ने कुरा के हो?
सङ्घर्ष धेरै खाले हुन्छन्। कहिलेकाहीँ निर्देशकको काम धेरै एक्लो भइदिन्छ। आफू राम्रो चिज गर्दैछु कि छैन? तरिका सही बन्दैछ कि हैन? जस्ता कुरा थाहा पाउन गाह्रो हुन्छ। आफ्नो दृष्टिकोणमा काम गरिरहँदा बाहिरको दृष्टिकोण बुझ्न गाह्रो भइसक्छ।
नेपालमा व्यवहारिक रूपमा मैले सङ्घर्ष गर्ने भनेको कलाकारको समय व्यवस्थापन पनि हो। यहाँ ढिलो आउने चलन छ। हुनसक्छ कलाकार धेरैतिर व्यस्त छन्। राम्रो काम गर्न यसै पनि स्रोत र साधन कमी छ। स्पेश पाउन गाह्रो छ। यहाँको वर्क कल्चरमा परिवर्तन जरुरी छ।
बाहिर ढिलो आउनु अपवाद हो। यहाँ समयमा पुग्ने कुरा खासै वास्ता गरिँदैन। यो एकदमै सिरियस काम हो। सँगै ढिलो आउनुसँग कारण पनि छन्। सोसियल नेटवर्क उताभन्दा यहाँ धेरै छ कलाकारको। मानिसहरू नजिक छन् जसले कलाकारको समय माग गर्छ। रंगमञ्चमा पैसा कम छ। यसबाट मात्र कमाउन गाह्रो छ। कलाकार बाँच्न अन्यत्र काम गर्न नपुगी हुँदैन। समयको त्यो अभावले गर्दा फोकस अलिक कम भएको जस्तो लाग्छ।
त्यसको असर आफ्नो चरित्र खेल्न कलाकारलाई कसरी फरक परिरहेको छ? के कुरामा सङ्घर्ष गरिरहेका छन् उनीहरू?
यहाँको कलाकारको शारीरिक सबलता यथार्थवादी नाटकको लागि मात्र सीमित भएको जस्तो लाग्छ। मानसिक रूपमा पुग्न खोजे पनि पात्रको शारीरिक गहिराइमा पुग्न गाह्रो छ। त्यसैले यहाँको नाटकको फर्ममा पनि सीमितता छ। स्पिच डेलिभरी लगायत साना तर महत्त्वपूर्ण पक्षमा काम गराउन गाह्रो छ। यदि कलाकारसँग एउटा पात्रसँग बिताउन सक्ने पर्याप्त समय हुँदो हो त त्यस्ता साना साना कुरामा काम गर्ने ठाउँ हुन्थ्यो। सँगै आर्थिक र सामाजिक कारणले उनीहरू बाँधिएका छन् जसले गर्दा पात्रसँग लामो समय बिताउन सकिरहेका हुँदैनन्।
नाटकमा हरेक पलको महत्त्व हुन्छ। त्यो स्वच्छन्द तब देखिन्छ जब लामो समयसम्म अभ्यास हुन्छ। तब मात्र स्टेजमा आश्चर्य पारिदिने अद्भुत पल सिर्जना गर्न सकिन्छ। त्यस्तो पल धेरै कमले मात्र दिइरहेका छन्। त्यो पल हेरेपछि तपाईंलाई लाग्छ ‘ओहो यस्तो कसरी गरेको होला?’
फेरि त्यो पल आएर गइहाल्ने हैन। सजीव भइरहनुपर्छ। रोबोटले दोहोर्याएको जस्तो पनि हैन। हरेकपल्ट नयाँ बन्नुपर्छ। झन् झन् सजीव भइराख्नुपर्छ। यहाँको पर्फरमेन्समा त्यस्तो विरलै देखिन्छ। जादु होस् न स्टेजमा। घर फर्किँदासम्म पनि प्रस्तुतिले प्रभाव पारिराखोस् दर्शकलाई।
बाहिरतिर रंगमञ्च समूहहरू सधैँ सक्रिय हुन्छन्। हरेक दिन जानु उनीहरूको लागि काम हो। कुनै प्रोडक्सन नहुँदा पनि उनीहरू आफ्नो क्राफ्टको लागि अभ्यास गरिरहेका हुन्छन्। यहाँ त्यसो गइहाल्न सक्ने अवस्था छैन। तर यसको लागि नाटक गरेरै पुग्ने अवस्था नआउन्जेल कुनै कल्पना गर्न सकिँदैन।
आफ्नो क्यारेक्टरमा वर्क आउट गर्ने कुरामा यहाँका कलाकारहरू कस्तो भएको पाउनुभएको छ?
उनीहरूमा इच्छा तीव्र छ । तर यहाँ तालिम पनि सीमित छ। केवल ३ महिना सिकेका भरमा काम गर्नुपर्छ। भारतमा हेर्ने हो भने एनएसडी जस्ता स्कुल छन्। अभिनय वा निर्देशनमा डिग्री गर्न सक्ने ठाउँ छ। कुन विषयमा इच्छा छ छानेर पढ्न सकिन्छ। यहाँ त्यस्तो अवसर कम छ। मानिसहरूले आफ्नो प्रयासबाट गरिरहेका छन्। बाहिरबाट मान्छे ल्याएर पढाउने प्रयास पनि भइरहेको छ। तर मुख्यतः यहाँका कलाकारसँग रंगमञ्चको साधन नै एकदमै कम छ। पात्र विकास गर्न, कल्पना शक्ति जगाउन तथा त्यो पात्रले कसरी सोच्छ भनेर बुझ्ने काम कठिन छ।
यहाँ स्तानिसलाभास्की लगायत नाटकका प्रणेतालाई बुझ्ने कुरामा पनि स्टेरियोटाइप धेरै छ। उनको बारेमा नबुझ्ने वा नसुन्नेभन्दा पनि कम सुन्ने वा कम बुझ्ने धेरै छन्। स्तानिसलाभास्की त एउटा तरिका मात्र हो। त्यसलाई मेथड एक्टिङ भनिन्छ। अभिनय बुझ्ने अरू धेरै तरिका छन्। तिनका बारेमा पर्याप्त खोजी भएको छैन।
भारतमा म बस्दा एउटा जापनी इस्क्रिप्टमा काम गरेका थियौं। जसको लागि नाटकको असली लेखकलाई जापानबाट बोलाएर तालिम दिइएको थियो। त्यो जापानको परम्परागत गैर यथार्थवादी रंगमञ्च शैलीमा बनाइएको थियो। प्रस्तुत गर्न फरक तालिम तथा शारीरिक अवस्था दमदार चाहिने। एकदम ढिलो शारीरिक गति देखाएर त्यसले पात्रको चेतनामा कसरी असर गर्छ भनेर देखाइएको थियो। नाटकमा अर्कै संसाधन सिर्जना गरिएको।
हाम्रोमा रंगमञ्च बलियो हुने फरक फरक अभिनय र निर्देशनका साधन अझै थपिनु जरुरी छ। यहाँका नाटक अहिले पनि यथार्थवादमै अल्झिरहेका छन्। केही प्रयास भएका छन् तर पर्याप्त छैनन्। यथार्थवादमा मात्र अडिँदा रंगमञ्च सीमित हुने डर हुन्छ। त्यसैले पनि ‘बोधिछाया’ र ‘कुमारी एन्ड दि बिस्ट’ लाई नाचको फर्मबाट भन्ने कोसिस गरेको हुँ। नाचले बिलकुलै नयाँ तरिकाबाट कथा भन्न सक्छ।
अन्त्यमा, ऐतिहासिक र सांस्कृतिक कथाको पुनर्व्याख्या किन जरुरी छ? के गरिनुपर्छ?
मलाई लाग्छ कथा बाच्न नयाँ नयाँ स्वरूपमा जानैपर्छ। केही कुरा नयाँ बन्नुपर्छ। केही पुराना हराउनुपर्छ। रामायण वा महाभारत अहिलेसम्म बाँचेको मुख्य कारण तिनमा समय क्रमसँगै पुनर्व्याख्या र विवेचना भइरहेकाले हो। ती कथाबाट प्रभावित भएर अरू कथा बनिरहेकाले हो। हामीले देखाएको कुमारीको कथा पनि हराउने क्रममै थियो। धेरैले कुमारी चिन्छन्। उनी कसरी बनिन् जान्दैनन्। किनकि यसबारे कसैले भनेको वा देखाएको छैन। पुनर्व्याख्या भएन भने कथाको सान्दर्भिकता घट्दै जान्छ। सान्दर्भिकता नहुने हरेक चिज लोप भएका छन्।
यस्ता नेपाली कथा जोगाइराख्न रंगमञ्चले नयाँ साधन प्रयोग गर्दै नयाँ नयाँ कोणबाट कथाको पुनर्व्याख्या र विवेचना गर्नु जरुरी छ।