गुड फ्राइडे सिनेमा
इरानी फिल्म हेरेपछि धेरैले भनेका छन्, लेखेका छन् — आहा! कस्तो जीवनजस्तै जीवन्त फिल्महरू!
आममान्छेको दैनिक जीवनका मसिना घटनाक्रम जोड्दै व्यावहारिक र दार्शनिक विषयमा घोत्लिन बाध्य पार्नु इरानी फिल्मका विशेषता हुन्। सामान्य घटनाक्रम, थोरै लगानी तर यथार्थपरक र कलात्मक फिल्मका लागि इरानी सिनेमा संसारभरका दर्शकमाझ प्रख्यात छन्।
यस्तै फिल्म हो 'जस्ट ६.५'।
यसलाई 'ल अफ तेहरान' नाम पनि दिइएको छ। सन् २०१९ मा बनेको यो एक थ्रिलर ड्रामा फिल्म हो।
यसले संसारका विभिन्न ठाउँमा भएका विभिन्न महोत्सवहरूमा उत्कृष्ट फिल्मका रूपमा आधा दर्जनभन्दा बढी धेरै अवार्ड र पुरस्कार जितेको छ।
सईद रूस्ताईको निर्देशनमा यो फिल्मको समीक्षकहरूले पनि खुब प्रशंसा गरेका छन्। उनीहरूले यसलाई 'इरानी समाजको गम्भीर वास्तविकता देखाउने' सिनेमा भनेका छन्।
लागुऔषधको अपराधमा केन्द्रित यो फिल्मले इरानी समाजको कथा उत्तिकै सशक्त रूपमा भनेको छ।
समाद एक लागुऔषध अनुसन्धान अधिकृत हुन्। उनी लामो समयदेखि नासर खाकजाद नामका लागुऔषध कारोबारीको खोजीमा छन्।
एकदिन छापा मार्ने क्रममा समाद र उनको टिमले एक जना सानोतिनो लागुऔषध कारोबारीलाई पक्राउ गर्छन्। तिनैले उनलाई अर्का ठूला कारोबारीबारे जानकारी दिन्छन्।
ती ठूला कारोबारीको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नासरसँग कारोबार जोडिएको हुन्छ।
के समाद अब ती साना कारोबारीमार्फत् नासरसम्म पुग्लान्?
कि उनको खोज त्यहीँ सीमित हुन्छ?
यसका लागि फिल्म हेर्नुहोला।