सहरमा धेरैथोक भइरहेका छन्। त्यहाँ पनि धेरैथोक भइरहेको छ।
म पुग्दा पार्किङ नजिकै भित्तामा ठूलो पेन्टिङ बन्दै थियो। बाँसको भर्याङ लगाएर पेन्टिङ गर्न व्यस्त पेन्टरहरू। जङ्गलबाट माथि-माथि उडिरहेका चराहरू छन् पेन्टिङमा।
म तीन तला उक्लिन्छु जहाँ रिहर्सल गरिरहेका कलाकार भेटिन्छन्। जान्छु, रिहर्सल हेर्छु, कलाकारसँग केही गफ गर्छु अनि फर्किन्छु।
सहरमा नयाँ थिएटर खुल्दै छ। कथा घेराको ‘कौसी थिएटर’।
रंगकर्मी आकांक्षा कार्की र गुञ्जन दीक्षित दुई जनाको आँट र सपना दुवै भनिदिए हुन्छ त्यसलाई। माथिल्लो तलामा बन्दै छ सानो थिएटर अनि तल्लो तलामा नाटक ‘दयालु रुख’। दुवै सँगै तयार हुँदैछन्। दुवैलाई एकैपल्ट देखिनु छ।
आकांक्षा कार्कीको निर्देशन पहिलोपल्ट ‘लाइन’ नाटकमा हेरेँ। पछि ‘योनिका कथाहरू’। उनीसँग छोटो कुराकानी गर्दा आफूले गरिरहेको काम किन गर्दैछु भन्ने विषयमा उनी स्पष्ट भएको पाएको थिएँ। एउटा लामो अन्तर्वार्ता गर्न मन थियो। यसपल्ट त्यो मौका जुर्यो।
यो त्यही अडियो कुराकानी हो।
- कसैले भनेका कुनै कुरा पहिला बेठीक र अहिले ठीक वा उल्टो रहेछ भन्ने लागिरहेको छ त?
परिवार र साथीभाइ भन्थे मैले नाटकमा आएर दु:ख धेरै गरेँ। राम्रो एनजिओमा वा कतै काम पाउन सक्थेँ तर नाटकमा समय खर्च गरेँ। पहिला त्यस्तो कहिल्यै लागेन। अहिले कथा घेरोको आफ्नै थिएटर बनाइराख्दा र बढ्दै गएको खर्च र जिम्मेवारी सम्झिँदा भने त्यो कुरा ठिकै हो कि जस्तो पनि लाग्छ। बेलाबेला आउने ‘लो प्वाइन्ट्स’ हरूले त्यस्तो बनाउने रहेछन्। तर ती केहीछिन आउँछन् र फर्किएर जान्छन्।
- थिएटरको नाम ‘कौसी’ राख्नुभएको छ। केही समयपहिला काठमाडौँ मलको कौसीमा बसेको एउटा थिएटर ओर्लियो। अहिले आफ्नो घरको छतमा थिएटर बनाउँदै हुनुहुन्छ। यो कस्तो संयोग हो? अहिलेको समयमा कौसीले के महत्त्व राख्छ?
(मुस्कुराउँछिन्) मलाई कौसी थिएटर खोल्छु भन्ने थिएन। अरू धेरै घरका छत जस्तै मेरो घरको छत पनि खाली थियो। त्यो खाली ठाउँलाई केही वर्कसप गर्ने र रिहर्सल गर्ने ठाउँ बनाउने भन्ने सोचेका थियौँ। अभिनय कक्षा चलाउनसम्म मिल्छ भन्ने लाग्यो। धेरै खर्च नलाग्ने सानातिना हल होस्, प्लेब्याक थिएटर (चौतारी नाटक)को लागि रिहर्सल स्पेश पनि हुन्छ। यस्तै यस्तै। यसै पनि काठमाडौंमा रिहर्सल स्पेश कम हुँदै गइरहेको बेला।
बनाउँदै गर्दा भने पछिल्लो समयमा काठमाडौंमा थिएटर समूहहरू भए पनि नाटकघर कम हुँदै गएको आभास भयो। भएकामा सबैतिर नाटक प्याक भइरहने। टुरिजम बोर्ड वा नाचघर जस्ता हलहरू धेरै महँगा।
त्यसैले पनि बुवाको घर मागेर आफूले खर्च गरेर थिएटर हुर्काउँछु भन्ने आँट आयो। गुञ्जन (गुञ्जन दीक्षित)ले पनि साथ दिइन्। अनि यति त बनाइहालियो, अब थोरै थप्यो भने त नाटकघर नै बन्छ भन्ने लोभ लाग्यो।
महत्त्वको कुरा गर्दा यसले पक्कै पनि कला मात्र अभ्यास हुने ठाउँ थप्छ होला। धेरै नयाँ अनुहारहरू थिएटरमा तानिँदै छन्। कला देखाउनु छ। ठाउँ चाहिन्छ। उनीहरूलाई समावेश गर्ने ठाउँ हुनेछ यो र विशेषगरी हामी महिलाबाट नै सञ्चालित हुने भएकाले महिला कलाकारलाई सजिलो हुनेछ।
- महिलाहरूका लागि सजिलो अवस्था अहिले नभइरहेको भन्न खोज्नुभएको हो?
अहिले नभइरहेको भन्न खोजेको हैन तर अहिले चलिरहेको धेरैजसो थिएटर हामीभन्दा माथिल्लो उमेरको दाइ-दिदीहरूले चलाउनुभएको छ। उहाँहरूले आउनेजाने बाटो सजिलो बनाए पनि अनुमति लिनुपर्ने वा लामो पालो पर्खिनुपर्ने जस्ता समस्या छन्।
आफूलाई कतै साबित नगरी ठाउँ माग्न अप्ठ्यारो हुन्छ। त्यसअर्थमा हामीले यो ठाउँ सिक्न खोज्दै गरेको वा आफूलाई टेस्ट गर्न चाहने कसैले पनि प्रयोग गर्न सकोस् भन्ने बनाउन खोजेका छौँ। हामी शङ्का गर्दैनौं होला किनकि हामीलाई पनि एउटा स्पेश हुनु र नहुनुको दु:ख थाहा छ।
नाटक देखाउन हाम्रो निश्चित प्रोटोकल हुँदैन भनेको हैन तर अलि बढी पहुँचयोग्य बन्न सक्छौँ कि जस्तो लाग्छ। र काम गर्न चाहने महिला कलाकार, नाटककार तथा निर्देशकलाई पनि महिलाले नै चलाएको भएकाले आँट दिन्छ होला जस्तो लाग्छ।
म चाहिँ एउटा कलाकार नै हो। म थिएटरमा कलाकारको रूपमा आएको हुँ। स्कुलमा पनि एक्टर भएर काम गरेँ। ब्याङ्गलोर पढ्दा भने म धेरै निर्देशक भएँ किनकि त्यहाँ कसैले निर्देशन गर्दैन थियो। त्यसले पनि मलाई एक्टिङ भन्दा पनि मेकिङ तिर लिएर गयो। कसैले नगरेको भएर।
म तीन वर्ष पहिला नेपाल फर्किएँ। पहिला थिएटर र साइकोलोजी पढे पनि पछि मास्टर्स साइकोलोजिमा गरेकाले मलाई यहाँ आएर थिएटर गर्छु जस्तो लागेको थिएन। कतै साइकोलोजिस्ट भएर काम गर्छु भन्ने थियो। प्यासनको रूपमा केही नाटक गर्छु भन्ने सोच्थेँ। अहिले फुलटाईम थिएटर गर्छु। साइकोलोजी थिएटर प्राक्टिसमा पुगेर मर्ज भएको छ। म त्यतै कतै छु।

- एक अन्तर्वार्तामा रङ्गकर्मी सुलक्षण भारतीले आफू कलाकार मात्र हुन चाहेको तर यहाँ कोही नभएकाले लेखन र निर्देशनमा आउनुपर्यो भनेका थिए। तपाईंको आशय पनि त्यस्तै बुझियो। यस्तो किन भइरहेको छ? के कारण होलान्?
हाम्रो शिक्षा प्रणालीमा थिएटरलाई छुट्टै करिकुलम बनाएर पढाउन थालिएको छैन। थिएटरको छुट्टै डिग्री छैन। त्यो हिसाबमा मान्छेलाई नाटकमा यति धेरै फिल्ड छन् भन्ने पनि थाहा छैन। हामीले यहाँ दिने तीन महिने कोर्स ज्यादाजसो अभिनय नै केन्द्रित छन्। नयाँ आउनेलाई पनि अभिनय नै गर्नुछ।
कोही पनि म लाइट चलाउन सिक्छु, ब्याकस्टेजमा काम गर्न मन छ, प्रोडक्सन हेर्छु वा आर्ट म्यानेजमेन्ट गर्छु भनेर आउँदैनन् किनकि ती कुरा छन् भन्ने उनीहरूलाई थाहा छैन। दर्शकलाई पनि नाटकमा देखिएका अनुहार मात्र नाटकका हिस्सा लाग्छन्। एक्टिङ अलिक ग्लामराइज्ड छ अरू कुराहरू छैनन्। त्यसकारण पनि कसैले स्कोप देख्ने जोखिम गर्दैन।
भर्खरै मलाई अमेरिकन राजदूतावासले अमेरिका पठाएको थियो। त्यहाँ धेरै आर्ट अर्गनाइजेसन, थिएटर अर्गनाइजेसन तथा कम्युनिटी आर्ट हाउसहरूमा पुग्ने र बुझ्ने मौका पाएँ। देखेँ त्यहाँ नाटकको लागि पर्याप्त बजेट छ। कर्पोरेट हाउसहरू जोडिएका छन्। एउटा मान्छेले एउटा विधा समाएर काम गर्न सक्छ। यहाँ ती सबै कुराहरू हुन बाँकी भएकाले पनि समस्या भएको हो।
- त्यसमा कुनै सामाजिक मनोविज्ञानको असर देख्नुहुन्छ?
पक्कै पनि। हाम्रो समाजले जे चिज बाहिर देखिन्छ त्यसलाई मात्र राम्रो भन्ने गरेको छ। आँखाले नदेखेसम्म बुझ्दैन। सोसियल मिडिया पनि त्यसमै जोडिन्छ। एउटा एक्टरले आफूले नाटकमा अभिनय गरेको फोटो हाल्न सक्छ। उसले परिवारलाई यस्तो काम गर्दैछु भनेर बताउन सक्छ।
त्यही कुरा एउटा लाइट डिजाइनर वा ब्याक स्टेजमा काम गर्ने मान्छेले सक्दैन। सकिरहेको छैन। अहिले पत्रिकाहरूमा फिचर हुने भनेका कि त कलाकार र मुस्किलले निर्देशक हुन्। त्यस्तै फिचरको लोभले नयाँ पीडालाई पनि त्यतै तान्छ। अर्को पाटो मैले पहिला पनि भनेँ धेरै मानिसहरूले नाटकमा प्रयोग भएको लाइट, प्रब्स आदिको योगदान बुझ्दैनन्।
जबसम्म उनीहरू लाइट बुझ्ने हुँदैनन् तबसम्म लाइट डिजाइनरको प्रशंसा हुने कुरै भएन। अमेरिकामा नाटकको लाइट राम्रो लागेर लाइट डिजाइनर खोज्दा रहेछन् दर्शकले। यहाँ त्यस्तो हुन समय लाग्छ।
- अब नेपाली थिएटरको जेन्डरको कुरा गरौँ। समाजले थिएटरमा देख्ने जेण्डर तथा थिएटरभित्रको जेन्डरमा केही अन्तर छ?
मेरा सिनियर दिदीहरूले पनि फेस गरेको प्रश्न हो यो। अरूको अन्तर्वार्तामा पनि जवाफ पढेको छु। २-३ वर्ष पहिलासम्म पनि नेपाली थिएटरमा महिला प्रमुख पात्रको कमी थियो। पछि बिस्तारै राम्रा नाटकहरू बन्दै गए। पहिलो सर्त भनेकै राम्रो नाटक बन्नु हो। राम्रो नाटक बनेपछि मात्र महिला पात्रहरू प्रधान भएका नाटक कति थिए भएर हेर्न सकिन्छ।
ती नाटकहरूले स्टेरियोटिपीकल रोलहरूलाई च्यालेन्ज गरे कि गरेनन्। महिला पात्रहरू श्रीमती, रानी वा राजकुमारी मात्र भइरहे वा अरू केही बने? उनीहरूले स्ट्रगल गर्न थाले कि थालेनन्। थालेभने कसरी थाले? यी कुराहरू राम्रोसँग हेरेर मात्र थिएटरको जेण्डरलाई औँल्याउन सकिन्छ होला।
त्यो मूल्याङ्कन मैले गर्न सायद सक्दिन। मलाई यति थाहा छ पहिलाभन्दा अहिले धेरैथोक परिवर्तन हुँदैछ। महिला नाटक लेखक तथा निर्देशक थपिएका छन्। महिला मुख्य पात्र भएका नाटकहरू बनेका छन्। नेपाली फिल्ममा भन्दा थिएटरमा जेण्डर ब्यालेन्स्ड देख्छु म।
- निर्देशन गर्दा प्रोसेसमा धेरै काम गर्छु भन्नुभएको छ। एउटा निर्देशक भएर कुनै पात्र निर्माण गरिरहँदा सामाजिक संरचना र सोचाइलाई कसरी चुनौती दिन मन लाग्छ? कुनै पात्रलाई यति कमजोर हुन दिन्नँ वा बनाउँदिन भन्ने लाग्छ कि लाग्दैन?
म त्यो कुरामा धेरै ध्यान दिन्छु। कहिलेकाहीँ त के यति केयरफुल हुनुपर्छ र जस्तो पनि लाग्छ। विशेषगरी महिला कलाकारहरूसँग कुराकानी गर्दा उहाँहरू धेरै कुरामा दमित भएको पाउँछु। पुरुषहरू पनि दमित छन् तर महिलाको हकमा त्यसको मनोबैज्ञानिक असर धेरै छ। हरेक पाइला विरोधाभासमा टेकेको जस्तो।
थिएटरले प्रगतिशील हुन र स्वतन्त्रता खोज्न सिकाउँछ। तर हरेक दिन थिएटर सकेर उहाँहरू त्यही घरमा फर्किनुपर्छ जहाँ त्यो सिकाइ रिभर्स भइदिन्छ। थिएटरका धेरै महिलाको समस्या त्यही हो। यसमा वर्गको पनि भूमिका धेरै देख्छु म। मध्यम तथा निम्न वर्गका महिलाहरूलाई त झन् कमाउनुपर्ने बाध्यता पनि हुन्छ।
त्यसपछि सङ्घर्ष एउटा समस्याविरुद्ध मात्र रहँदैन। कुनै चरित्रमा काम गर्दा उहाँहरूले गर्ने सङ्घर्ष अर्कै तहको हुन्छ। हामी थिएटर अफ दि अप्रेस्डमा यसलाई ‘कप्स इन द हेड’ भन्छौँ। त्यो भनेको हाम्रो दिमागमा बसेको समाजको शक्ति सङ्घर्षको संरचना हो। भएको कुरा पनि देखाउन नसक्ने वा बोल्न नसक्ने अवस्था। दिमागको कुनै अदृश्य शक्तिले त्यसलाई रोकेर तथा दबाएर राख्न खोज्छ। परिवार र समाजले के भन्ला भनेर उनीहरू आफैंले आफैंलाई दबाइरहेका हुन्छन्। त्यसलाई फुटाउन समय लाग्छ।
‘योनिका कथाहरू’ गर्दा हामीले त्यही भित्री जालोलाई चिर्न खोज्दै एकआपसमा धेरै कथा सुनाएर अभ्यास गरिरहेका हुन्थ्यौँ। त्यसमा हामीलाई के कुरा किन गलत लाग्छ? हामीले यो कुरा गलत भनेर को बाट सिक्यौँ? भन्ने जस्ता प्रश्नहरूको उत्तर खोज्न खोजिन्छ। त्यसमा काम गर्दै आधा रिहर्सल सकिन्छ।
मैले नेपाल आएपछि धेरै काम गर्न पाएको छैन। तर यहाँ जतिपनि गरेँ त्यति बेला मैले नाटकमा प्रयोग गर्ने हरेक शब्दहरूमा सतर्क हुने गरेको छु। पोलिटिक्ली करेक्ट छ कि छैन ध्यान दिन्छु। अनि आफूले प्रयोग गर्ने हरेक पात्र नाटकमा किन जरुरी छ वा नभए के हुन्छ भन्ने कुरा पनि सोचिरहेको हुन्छु। रिहर्सलको प्रोसेसमा भने आफूले सोचेका तीनै कुराहरू थोरै थोरै हिन्ट दिएर अभिनय गर्ने पात्रलाई पनि सोच्न लगाउँछु।

- पहिला कलाकार, त्यसपछि निर्देशक र निर्देशकपछि थिएटरको निर्देशक। एक आवाज बोल्नलाई कुन कोण सबैभन्दा प्रभावकारी हुने रहेछ?
(लामो सोचेर) मलाई लाग्छ एक निर्देशक नै त्यो पोजिसनमा हुन्छ होला। एक पात्रको रूपमा तपाईं कुनै निर्देशकले भनेको कुरा वा भिजनमा काम गरिरहनुभएको हुन्छ। थिएटरको निर्देशकमा एक संरचनात्मक शक्ति होला वा छान्न पाउने अवस्था होला।
तर कुनै पनि विषयमा गहिरिन एक निर्देशकले कुन नाटक स्टेजमा जाँदा हुन्छ र कसरी भन्ने सोच्न पाउँछ। उसले उक्त नाटक स्टेजमा पुर्याउने शैली र उद्देश्यमाथि नियन्त्रण राख्न पाउँछ। कुन टेक्स्ट कुन तरिकाले समाजमा देखाउनुपर्छ भन्ने कुरा छान्न पाउँछ। कुन कुरा देखाउने तरिका सही हैन भन्ने कुरा रोज्न सक्छ।
- ‘युमा’ र ‘योनिका कथाहरू’ नाटकमध्ये कुनले सामाजिक गतिशीलतालाई धेरै योगदान पुर्यायो होला? नेपाली समाजमा कुन नाटकको ज्यादा महत्त्व छ जस्तो लाग्छ? कुन नाटकका पात्र जरुरी छन्?
‘योनिका कथाहरू’ २०१३ मा मण्डला थिएटरमा देखाएपछि सृजना सुब्बाले ‘युमा’ निर्देशन गर्नुभएको हो। एक महिला निर्देशकले महिला पात्र प्रमुख रहेको नाटक मञ्चन गरेको सुखद समय थियो त्यो। मलाई लाग्छ त्यो नाटक बनाउँदै गर्दा उहाँलाई ‘योनिका कथाहरू’ले पक्कै पनि प्रभाव पारेको हुनुपर्छ। त्यो हिसाबले महिलालाई सहरी र ग्रामीण भनेर छुट्याउने भन्दा पनि कस्तो प्रकारको कथाले कस्तो कस्तो कथा भनेर वा सुनाएर कसरी प्रभाव पार्न सक्छ भन्ने पनि हेर्नुपर्छ।
योनिका कथाहरूमा कथाको दायरा जस्तो भए पनि त्यसले अर्को कुनै कथालाई आउन उत्प्रेरणा दिन्छ भने त्यो पनि नराम्रो हैन। महिलाको अनुभव त विश्वव्यापी हुन्छ नि। त्यसमा यौनिकताका धेरै कुरा आएका छन्। मलाई लाग्छ महिलामाथि हुने हिंसाको मुख्य कारण यौनिकता दबाइनु हो। यौनलाई खुला हुन दिने वा यसलाई ट्याबु नबनाउने हो भने हिंसा कम हुन्छ जस्तो लाग्छ। दुवै नाटकले फरक सेटिङमा रहेर महिलाको लिबरेसन खोजेका छन्। त्यसरी हेर्दा दुवै नाटक आफैंमा महत्त्वपूर्ण हुन्।
- नेपालमा महिलालाई आफ्नो कथा सुनाउन के-केमा अप्ठ्यारो छ?
यो अप्ठ्यारो पक्कै छ। मैले मण्डला थिएटरमा जुलिया भन्ने एक जना साथी आएको बेला त्यो रियलाइज गरेँ। उनले माग्डालेना मुभमेन्ट (अमेरिकन रङ्गकर्मी बार्वरा क्रुगरले सुरु गरेको) को कार्यशाला सञ्चालन गरेकी थिइन्। त्यो कार्यशालामा म पनि सहभागी भएँ।
म आफूलाई जहिले पनि अरूभन्दा प्रोग्रेसिभ सोच्छु जस्तो लाग्थ्यो। तर कतिपय हाम्रा कथा चाहिँ जति नै नजिकको साथी वा मित्र वा ब्वाइफ्रेण्ड वा अरू कोही भए पनि पुरुषलाई सुनाउन नसकिने हुँदारहेछन्। खै केले अप्ठ्यारो पारिरहेको हुने रहेछ।
त्योबेला हामी सबै महिला कलाकार बसेर एकअर्काका समस्या सेयर गर्थ्यौँ। धेरै दबिएका कुरा बाहिर आएका थिए। त्यो मुभमेन्ट थिएटर अफ दि अप्रेस्ड (कचहरी नाटक) को महिला भर्सन हो जुन संसारभरि विभिन्न ठाउँमा अभ्यास हुन्छ।
त्यो मुभमेन्ट सुरु हुँदाको कथा रोचक छ। विभिन्न स्थानमा कचहरी प्रदर्शन हुँदा कथा बताउन तथा समस्या सुनाउन कोही महिला अगाडि आउँथेनन्। कारण स्पष्ट थियो किनकि उनीहरूमाथि हिंसा गर्ने पुरुष दर्शकदिर्घामा सँगै हुन्थे। त्यहाँ समस्या सुनाए बेलुका घरमा पुगेपछि समस्या थपिन सक्थ्यो।
त्यसैले उक्त कुराहरू महिलामा मात्र सिमित राख्नु जरुरी थियो। मण्डला थिएटरमा उनको कार्यशालामा सहभागी हुँदै गर्दा हामीले आफूसँग धेरै कथा भन्न बाँकी रहेको तर विभिन्न संरचनाका जालोहरूले छोपेकाले भन्न नसकेको निकर्ष निकाल्यौँ।
हामीलाई धेरै कुरा सहन सिकाइएको रहेछ। अरूको लागि दुःख खप्न सिकाइएको रहेछ। त्यसरी खप्ने, सहने, बुझिदिने कुरा हामीलाई पुरानो पुस्ताबाट थोपरिँदै आएको हो। त्यसलाई अझ महिलाको प्रकृति यस्तो वा उस्तो हुनुपर्छ भन्ने नियम बनाइएको छ। यसैले महिलाहरू धेरै कुरा सहेर बसिरहेका हुन्। घरको नराम्रो हुन्छ भनेर महिलाले धेरै बोझ आफूसँगै राखेका छन्। र थिएटरले त्यो बोझ हलुका बनाउने ठाउँ दिन्छ जस्तो लाग्छ। यसले त्यो बोझ तिम्रो मात्र हैन तिमीलाई मात्र सहनु पर्दैन भन्ने चेतना दिन्छ।
- ‘लाइन’ नाटकमा एक महिला पात्र छन् जसले एउटा मुभमेन्टमा पुरुषलाई धकेलेर लाइनको अगाडि उभिन्छिन्। अहिले भर्खरै नेपालको राजनैतिक वृत्तमा महिला केन्द्रीय सदस्य कोटा ३३ प्रतिशत नपुगेको भन्ने प्रसङ्ग आएपछि प्रधानमन्त्री तथा ने.क.पा. का अध्यक्ष केपी ओलीले आफ्नै पार्टीका महिला नेतालाई हप्काएको भन्ने प्रसङ्ग बाहिर आएको थियो। यी दुइटा घटनालाई कसरी हेर्नुहुन्छ? एउटा नाटकले सिम्बोलिकल्ली देखाएको कुरा समाजको व्यवहारिक चेतनामा पुग्न कति समय लाग्छ होला?
जुनसुकै कुरा, चाहे नाटकको सन्देश वा संविधानले दिएका अधिकार, व्यवहारमा पुग्न समय धेरै नै लाग्छ। मलाई पुरुषले प्रयोग गर्ने ‘हामीले दिएका छौँ त’ भन्ने शब्द नै मनपर्दैन। हामीले अनुमति दिएका छौँ वा गर्न दिएका छौँ भन्ने आशयका कुरा बोल्छन्।
साथी सर्कलमै पनि कहिलेकाहीँ त्यस्ता शब्द प्रयोग भइरहेको हुन्छ। यत्तिको दिएको छ त अझ कति पुगेन भन्ने आशय हुन्छ उनीहरूको। धेरै पहिलादेखि नै यी कुरामा हामीलाई दबाउँदै आइएको छ। यत्ति स्वतन्त्रता दिएर पनि नपुग्ने? यो कस्तो प्रश्न हो?
अनौठो किन लाग्छ भने यो कसैले कसैलाई दिने कुरा हुँदै होइन। यो त हाम्रो धार्मिक तथा सामाजिक संरचनाले बनाएको पितृशत्तात्मक सोचाइको उपज जो। सुरूदेखि नै अधिकार बराबर हुन पर्थ्यो। कुनै पनि अधिकारको कुरा मानिसलाई बोझ जस्तो देखिनु नपर्ने हो।
लाइन नाटकमै पनि त्यो पात्रले अरूलाई धकेल्दा त्यसलाई एक महिलाले धकेलेको देखियो। त्यो देखिनु जरुरी थियो र? तपाईंले यो प्रश्न सोध्नुमा पनि त तपाईंको सोचाई कारक होला। २० वर्षपछि त्यही नाटक गर्यो भने एक मानिसले अर्को मानिसलाई धकेलेको देखिनुपर्छ, महिलाले हैन। किनकि त्यहाँ उनले मात्र हैन बाँकी पुरुषले पनि धकेलिरहेका थिए।
यो कुरा नारालेभन्दा पनि सानासाना कामकुराले सामान्यीकरण गर्दै जाने हो। कसैले गरेको कामलाई उसको लैङ्गिक पहिचानसँग जोडेर अनौठो नमानिदिँदा हुन्छ। महिला भएर त्यस्तो गरेकी वा पुरुष भएर पनि त्यस्तो गरेको वा गर्न नसकेको भन्ने जस्ता सोचाई समस्या हुन्। फिल्म तथा नाटकमा एउटा वाक्य भनेर वा माउथपिस बनाएर भन्नुभन्दा पनि पात्रले त्यो कुरा गरेर देखायो भने त्यो प्रभावकारी हुन्छ।
उदाहरणका लागि एउटा समलिंगीलाई फिल्ममा राखेर उसलाई अधिकारको पक्षमा बोल्न लगाउने हैन कि उसलाई एउटा सामान्य व्यक्तिको रूपमा प्रस्तुत गर्यो भने त्यसले बढी प्रभाव पार्छ। किनकी हेर्ने दर्शकले पनि उसको पहिचान समलिंगी नभनेर सामान्य मानिस हो भन्ने बुझ्नेछन्। अनि मात्र मानिसले दैनिक जीवनमा पनि उसलाई सामान्य आँखाले हेर्न थाल्छन्।

- नाटकमा प्रोसेस फलो गर्छु भनेर भन्नुभएको छ। प्रोसेस फलो गर्दै गर्दा के कुराले रोमान्चित बनाउँछ?
म नाटक गर्न हतार गर्दिनँ। २ हप्ता पहिलादेखि रिहर्सल सुरु गरेर तत्कालै मञ्चन गर्न पनि सक्दिनँ। मलाई पात्र तयार गर्न समय लाग्छ। प्लेब्याक बाहेक। कलाकारले एक अर्कालाई बुझ्नुपर्छ। उनीहरू आपसमा घुलमिल हुनुपर्छ। नजिकै पुग्नुपर्छ। मेरो प्रोसेसमा सकभर परिवार बनाउनुपर्छ।
सबभन्दा पहिला उनीहरूलाई कथा सुनाउन लगाउँछु। अभिनय टेक्निकमा भन्दा पनि सेयरिङमा फोकस गर्छु। एक हप्ता त एक अर्कालाई बुझ्न तथा कथा सुनाउनै खर्च गर्छु अनि मात्र स्कृप्टमा पुगिन्छ।
अहिले हामी ‘दयालु रुख’ नाटक गर्दैछौँ। त्यसमा हामीले सबै कलाकारलाई रुखसँगको सम्बन्ध र सम्झना एक अर्कालाई सुनायौँ। दयालु रुख भन्दा तपाईंलाई परिवारको कुन सदस्य याद आयो वा रुखसँग के कस्ता भावनात्मक पाटा जोडिएका छन् भन्ने बारे एक अर्कालाई सुन्यौँ। अनि मात्र प्राविधिक पक्षमा पुग्यौँ। यसले कलाकारलाई नाटक आफ्नो हो भन्ने महसुस गराउँछ।
- तपाईंले अगाडि भन्नुभयो कि सबै समस्या कुनै न कुनै रूपमा महिला यौनिकतासँग जोडिएका छन्। एउटा महिलाले भोगेको जीवन र पुरुषले बुझेको जीवनमा के फरक छ? के कुरा पुरूषले गलत बुझिरहेका छन्।
यो सबै हुर्काइको कुरा हो। सबै पुरुषले आफू कसरी हुर्किएँ भन्ने एकपल्ट सम्झिए धेरै कुरा खुल्छ जस्तो लाग्छ। आफ्नो र दिदीबहिनीको हुर्काइ कसरी फरक भयो भन्ने चाहिँ तुलना गर्नुपर्छ।
मलाई कसरी हुर्काइयो र मेरा दिदीबहिनीलाई कसरी हुर्काइयो? मेरो भात कसरी पस्किइयो, दिदीबहिनीलाई कसरी खुवाइयो? भात खाइसकेर म के गर्थेँ? दिदीबहिनी के गर्थे? त्यसमा के फरक थियो। हाम्रो पढाइमा के फरक थियो? विवाह गर्ने कुरामा के फरक भयो?
यी सबै प्रश्न हरेक पुरुषले आफूले आफैंलाई सोध्ने र जवाफ पत्तो लगाउने हिम्मत गर्नुपर्छ। हुर्किँदा आफूले पाएको वातावरणलाई 'टेकन फर ग्राण्टेड' लिनुहुँदैन।
मेरो घरमा आमा परिवारको मुख्य कमाउने व्यक्ति हो। जेण्डर रोल पनि यहाँ समाजको अरू सामान्य परिवारभन्दा फरक छ। र, पनि मलाई नै धेरै कन्फ्युजन छ। मलाई नै ‘कपास इन हेड’ छ। परिवार र समाजको सङ्घर्षमा म छु। यो किन छ त? यदि कोही कसैसँग मायामा पर्छ भने पनि उनीहरूले एक अर्कालाई बुझ्दा आफू कुन तरिकाले हुर्किएको थिएँ भन्नु कुरामा छलफल गर्नु एकदमै जरुरी छ। यसले भविष्यमा आउने पारिवारिक विभेद कम गर्छ।
- नेपाली थिएटरमा भइरहेको के कुराले खुसी र केले दुखी बनाउँछ? केले आशावादी बनाउँछ?
यी कुरा भन्न म अझै त्यहाँ पुगेको छैन। मेरो क्षमता पुग्छ-पुग्दैन वा मैले भन्न मिल्छ-मिल्दैन भन्ने लाग्छ। मेरो लागि यो गाह्रो प्रश्न हो।
पछिल्लो वर्ष हेरेका नाटकमा केवल २-३ वटाले मात्र मलाई ताने। म सकेसम्म कुनै पनि नाटक छुटाउँदिन र पनि सबै नाटक मसम्म आइपुगेनन्। मैले धेरै सोचेर वा अपेक्षा गरेर हुन सक्छ। मलाई तानेका नाटक पर्फेक्ट नहुन पनि सक्छन्। तर तिनमा इमान्दार काम भएको देखेँ। अब इमान्दारिता के हो भन्ने प्रश्न पनि हुन सक्छ। (मैले सोध्दिन भनेपछि लामो हाँसो।)
चिन्तित बनाउने कुरा चाहिँ नेपाली नाटकमा रिसर्चको कमी छ। नाटकमा लागेका मानिसले अलि पढ्न तथा रिसर्च गर्न समय लगाए हुन्थ्यो। आफ्नो विधामा सचेत हुन यी कुरा चाहिन्छन् जस्तो लाग्छ। धेरै साथीहरूले यो कुरा ख्याल गर्नुभएको छैन। मलाई त्यसले चिन्तित बनाउँछ। अध्ययन नगरी नाटक बनाउन हतार गरेको पनि देखेको छु।
चिन्ता लाग्ने अर्को कुरा नाटक समालोचना अभाव पनि हो। हामी दाइभाइ तथा दिदीबहिनी समाजमा हुर्किएकाले कसैको कामलाई हत्तपत्त नराम्रो भन्न डराउँछौँ। कसैको कमजोरी भनिदिन गाह्रो छ र त्योभन्दा कमजोरी स्वीकार गर्ने अवस्था पनि छैन। प्रतिक्रिया लिनदिन हामीले सिक्नुपर्ने धेरै कुरा छन्।
- खुसी हुने कुरा चाहिँ के हो भन त? (उनी उक्त प्रश्न नजिकै बसिरहेका कलाकार सुदाम सिकेलाई सोध्छिन्। सुदाम जवाफ दिन्छन्)
सुदाम: सरकारको सहयोग बिना पनि यत्तिका नाटक प्रदर्शन भइरहेका छन्। बिस्तारै एउटा उद्योग बन्न थाल्दैछ। यहाँ लागेका कलाकारको व्यक्तिगत पहलमा रंगमञ्च अगाडि बढिरहेको छ। नयाँ थिएटर खुलिरहेका छन्। प्रयोग भइरहेका छन्। कामको गुणस्तर एकछिन बिर्सिने हो भने यसले बिस्तारै मार्केट सिर्जना गर्दैछ। मानिसहरू रंगमञ्च बुझ्न थाल्दै छन्। रंगमञ्चमा काम गर्न घरबाट पनि अनुमति मिल्दैछ। पहिला अभिनयलाई पार्टटाइम ठानिन्थ्यो। अहिले प्रोफेसनल रूपमा लिने वातावरण बन्दैछ। यसले भोलिको दिन सुखद बनाउने सङ्केत दिएको छ।
अनि म निस्किएँ। त्यहाँबाट निस्किएको एक हप्तापछि यसरी अक्षर बनेर तपाईंसम्म आइपुगेको छु। लामो अन्तर्वार्ता सकेर यो वाक्य पढ्दै हुनुहुन्छ भने उनको काम हेर्न र नयाँ थिएटर खुलेकोमा शुभकामना दिन कौसी थिएटर पुग्नुहोला। टेकु नजिकै यही असार ८ गतेबाट ‘दयालु रुख’ सुरू हुँदैछ।