आख्यानकार दाजु गुरूङको औपन्यासिक कृति ‘निरजोया’माथि अन्तर्क्रिया गरिएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गुरूङको उक्त कृतिमाथि ‘कलमको साथी’ ले विमर्शको आयोजना गरेका हुन्।
साहित्यकार भारती न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा आख्यानकार अनिता कोइराला र रेडियोकर्मी हेम भण्डारीले कृतिको समीक्षा गरेका थिए।
‘निरजोया’ले मुग्लान भाँसिनुको बाध्यता/रहरलाई देखाएको कोइरालाले बताइन्।
कृतिले विदेशिएका श्रमिकहरूको दयनीय अवस्थाको वृत्तान्त गरेको उनले औंल्याइन्। मलेसियाको जेल जीवन र त्यहाँको प्रशासन कस्तो छ भन्ने देखाउने कृति सदृश्य चित्रण भएको पनि उनले बताइन्।
आजको समयलाई राम्रोसँग केलाएको ‘निरजोया’ आफूलाई शब्दको कहालीलाग्दो चित्रझैंँ लागेको कोइरालाको भनाइ थियो। विदेशमा अनेकौं दुःख, हन्डर खाएर, मृत्युको मुखबाट बचेर आएको पात्र पुनः पलायन हुन बाध्य बनेको देख्दा आफ्नो मुटु चिथोरिएको उनले बताइन्।
निरजोयालाई आफूले डायस्पोरिक चेतयुक्त साहित्य पाएको कार्यक्रमका अर्का वक्ता भण्डारीले बताए।
उपन्यासले विभाजित मानसिकतामा बाँचिरहेको पुरूष पात्रको कथा राम्रोसँग देखाउन सफल भएको उनको भनाइ थियो। यसमा परदेशिनुको रोमाञ्च र चिन्ता दुबै व्याप्त भएको उनले बताए। निरजोयाले नेपालीहरूको श्रम गन्तव्य स्वीकृत नभएको अवस्था अनि जेलमा दिइएको यातनाको कथा कारूणिक ढंगले देखाएको भण्डारीको भनाइ थियो। यसलाई पुरूष शरीरको राजनीतिसँग जोडिएको विषयका रूपमा पनि हेर्न सकिने उनको तर्क थियो।
कार्यक्रममा उपन्यासकार गुरूङले नेपालीहरू पलायनमुखी बनेको बताए। पलायनमुखी संस्कृति सामान्य बन्दै गइरहेको प्रति उनले चासो पनि व्यक्त गरेका थिए।
कार्यक्रममा निवन्धकार युवराज नयाँघरे, राजेश खनला, डा. दामोदर पुडासैनी, पत्रकार हरि विनोद अधिकारी, साहित्यकारहरू प्रकाश तिवारी, अनिता पन्थी र राधिका कल्पित लगायको उपस्थिति रहेको थियो।