साहित्यकार राम विनयको नवौं पुस्तकको रूपमा पुनर्जन्म ( संस्मरण ) प्रकाशित भएको छ। कोरोना महामारीको कारण बुबा तथा दुई जना भाइ गुमाएका राम विनय आफै पनि ३ हप्ता लामो सघन उपचारबाट बाँचेका थिए। उनका सबै परिवारजन कोरोना संक्रमणको चपेटामा परेका थिए।
जीवन र मरणको दोसाँधमा रहेको बेला उनले भोगेका कारूणिक क्षणहरूलाई सँगालेर उनले पुनर्जन्म संस्मरण प्रकाशित गरेका छन्। आइसियूको अत्यासपूर्ण वातावरण, एकांकी, जीवनको क्षणभंगुरता, जीवन र मृत्युबोध तथा महामारीको क्रममा देखेभोगेको अमानवीय गतिविधि पनि उनले पुनर्जन्ममा खुलस्त लेखेका छन्।
पुनर्जन्म संस्मरण पढ्दा जोकोहीलाई पनि पीडाको गहिराईमा पुर्याउन, कोभिड कालको त्रासदीपूर्ण माहोल दर्शाउन तथा आत्मबलको दियोमा निरन्तर वर्तन थप्न प्रेरित गर्दछ।
आइसियूको एकान्तले चरम निराशामा पुगेका लेखकले पटकपटक मृत्युलाई स्पर्श गरेको पुस्तकबाट महसुस हुन्छ।
राम विनयका म आएको छु (कविता यात्रा) २०४७, जराको स्वर (कविता संग्रह ) २०६०, टापुमा तैरिँदा (नियात्रा) २०६६, फेरिएको चित्र (कविता सङ्ग।ह)२०६८, घर बिनाको घर (कथा संग्रह )२०७३, झझल्को (नियात्रा) २०७४, अमेरिकामा ९० दिन (नियात्रा) २०७८ र साबिती बयान (आत्मपरक निबन्ध) २०७८ नामक साहित्यिक कृतिहरू प्रकाशित छन्।
प्रगतिशील साहित्यकारको छवि बनाएका राम विनयले युद्धपसाद मिश्र प्रतिष्ठान सम्मान २०६९, प्रतिभा पुरस्कार (नेपाल सरकार) २०७०, रमेश विकल सिर्जना पुरस्कार २०७०, श्रष्टा सम्मान २०७१, प्रगतिशील लेखक संघ केन्द्रीय समिति सम्मान २०७२,महाकवि देवकोटा पुरस्कार (नेपाल सरकार, संस्कृति मन्त्रालय ), २०७९ लगायतबाट साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्।
साहित्य सन्ध्या, नेपालमा २०५४ सालमा पहिले संयोजक र पछि अध्यक्ष, जनसाहित्यिक संघ नेपालको अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठनको प्राज्ञ सभा सदस्य (२०७४–२०७८) लगायत दर्जनौं संस्थामा सक्रिय रूपमा संलग्न छन्।
पुनर्जन्म ( संस्मरण ) शिखा बुक्सले बजारमा ल्याएको छ।