कतिपय कविता शब्दका रोमाञ्चक खेल जस्ता हुन्छन्। कतिपयले हृदयका तारलाई झंकृत गराउँछन्, कतिले बुद्धिको तलाउमै फाल हाल्न लगाउँछन्।
कवि अभय श्रेष्ठको पछिल्लो काव्यकृति 'लहना र तीर' पढ्दै गर्दा लाग्छ, हृदयले पढे पनि ती कविताहरूले बौद्धिकता प्रदान गर्छन्; पाठकलाई ज्ञान, विवेक र अनुभूतिको गहिराइमा पुर्याएर त्यसको विषयगत व्याप्तिमा घोत्लिन बाध्य गराउँछन्।
सुन्दर कविता संसारका सुन्दर चिजहरूमध्येको एक हो जसले बेपर्वाह हृदयमा भावनाको डोरीले गाँठो पारिदिन्छ र एक्लोपनाले गाँठो परेको हृदयलाई पनि कल्पनाको उडानका लागि फुकाइदिन्छ।
कवि अभयका कविताले पनि पाठकलाई कतै सोचमग्न तुल्याउँछन् त कतै जीवनका बहुआयामलाई स्पष्ट मार्गदर्शन गर्छन्।
सर्जक आफ्नो सिर्जनाकर्ममा स्वतन्त्र हुनुपर्छ। कविलाई आदेश दिएर लेख्न लगाउनु कलममा नेल ठोक्नु बराबर हो। कवि सामाजिक प्राणी भएकाले उसले बाँचेको समाज, संस्कृति, प्रकृति, हावापानी, माटोसँगको नाता उसको शरीर र प्राण जस्तो हुन्छ।
सिर्जना प्रक्रियामा यिनमा ठोक्किनु र कवितामा यिनकै कुरा आउनु सुखद र स्वाभाविक हुन जान्छ। यसले कवितालाई निष्फिक्री बन्नबाट जोगाएर यथार्थपरक र उन्नत बन्न टेवा दिन्छ।
अभयका कवितामा पाइने सामाजिक–सांस्कृतिक चेतनाको उर्वरता र अनुशीलनले पनि पाठकलाई जीवनमुखी विचार र भावनाको समानान्तर यात्रामा समाहित गराउँछ।
दार्शनिक थोरोले कलालाई ज्ञान वा बुद्धिका रूपमा लिएका थिए। कवि अभयका कविता पनि कलाका रूपमा मात्रै होइन, ज्ञान र बुद्धिका रूपमा ग्रहण गर्न पनि उपयुक्त छन्।
'लहना र तीर' कृतिभित्र चार खण्डमा संगृहीत झन्डै आधा सय कवितामा समाज, संकृति, राजनीति, प्रेम, कला, सौन्दर्य र दर्शनसम्मका काव्यात्मक परिपाकको थाली छ। खण्डविशेषमा भावको क्षेत्रगत एकत्व नभए पनि भावहरूको गहनताका आधारमा सामान्यतया पाठकले फरक छुट्ट्याउन सक्छन्।
संग्रहमा अटाएका कविताहरूको मुख्य सार सामाजिक न्याय, समानुभूति, प्रेम र मानवतावाद नै हो।
कविले हृदयबाट निःसृत भावलाई शब्दिक चयनमा सचेततापूर्वक महाभारत, वौद्ध दर्शन तथा नेवारी सांस्कृतिक विम्ब, प्रतीक र मिथकहरूको प्रयोगद्वारा काव्यिक निकास दिएका छन्। समाजको सबभन्दा संवेदशील र जटिल विषय र मुद्दा सरल लयमा बाँधेर काव्यस्वरूप प्रदान गर्नु कविको विशिष्टता हो।
यति हुँदाहुँदै उनका केही कविताका अर्थगत तहहरू अलिक पृथक र रहस्यमयी लाग्छन् तर कवि सामाजिक न्याय र मुक्तिका पक्षमा प्रतिबद्ध देखिन्छन्। कृतिमा समाहित कविताले यही यथार्थ सत्यसावित गरेका छन्।
अरूले उपेक्षा गरेको पक्ष अँगाल्न रूचाउने कवि अभय शास्त्रार्थ र व्यवस्थाद्वारा उपेक्षितजनको आर्तनाद काव्यिक शिल्पशैलीबाट उद्घाटन गर्छन्।
इतिहासका कुनै उन्मादी शासकको सनक होस् वा मतलबी व्यक्तिको चातुर्यले सुन्दर मानवजातिमध्ये एकलाई अछुत करार गरेपछिको कहाली लाग्दो परिवेश, यिनमा कविको घोर आपत्ति छ।
दलितले आजसम्म भोग्नुपरेका आर्तनादको फेहरिस्त उही छ भलै समय र शासक बदलिएको किन नहोस्। शासकीय मनोविज्ञानमा रहेको जात व्यवस्था र छुवाछुतमुखी चिन्तनमा झन्झन् शक्तिशाली नयाँ भेरियन्टले झैं संक्रमण गर्दैछ।
यही रोगको सिकार भएर दलितहरूले सामाजिक वर्जना, अपमानजनक र अमानवीय व्यवहार, प्रताडन भोग्नुपरिरहेको छ। अन्तर्जातीय प्रेमका कारण मारिनुपरेको त्रासद समयको साक्षी हामी नै हौं। यसकै चित्रण अस्मिताको प्रेमगीत खण्डका कविताहरूले गरेका छन्–
एक सुजाता युवतीको हृदयमा
जब मखमली फूलझैं फुलिरहेको हुन्छ दलित युवक
जबाफमा त्यसरी नै रोपिन्छ
उसको हृदयमा जातको खन्जर
जसरी शम्बूकको शरीरमा रोपिन्छ तरबार
कवि अभय महिलाका बहुआयामिक समस्या र विषयमाथि दस्तक दिन सफल भएका छन् पण्डित र नगरबधू खण्डका कविताहरूमार्फत। समय, समाज, संस्कृति र परिवेशसँगै स्त्रीका अनुभूति, समस्या, पीडा, व्यथा, भोगाइ पनि फरक हुन्छन् भन्ने नारीवादीहरूको मान्यता छ।
स्त्रीका यही यथार्थका विविधता बुझाउन कविले एघार वटा कविता समेटेका छन्। स्त्रीका मन, मस्तिष्क, भावना र विचार तथा क्षमता र ऊर्जाशील समय पितृसत्ताले जकड्दै समय क्रममा रछ्यानमा मिल्काइदिन्छ भन्ने कुरा कविताहरूले बुझाउँछन्।
समाजले बनाएको 'वेश्या' देखि संस्कृतिले बनाएको 'वेश्या' सम्म, हेलेन मोर्गनको शानदेखि बौद्ध भिक्षुणीको निर्वाणसम्म आइपुग्दा महिलामाथि कवि अभयले समानुभूति राखेको देखिन्छ।
यसमा पनि आफ्नी आमाको सम्झनामा कवि बढी पोखिएका देखिन्छन्। उनी फगत महिलाका समस्या वा पीडा खोतल्दैनन्, त्यसबाट उठ्न पनि प्रेरित पनि गर्छन्। आफूलाई प्रश्न गर्न र शून्यबिन्दुमा पुर्याएर अस्तित्वशील हुन पनि प्रेरित गर्छन्।
महिलाका सवालमा कवि अभय भावुक हुनुभन्दा मार्क्सवादी कोणबाट अभिव्यक्त हुन आफूलाई सहज ठान्छन्–
त्यसपछि नै चाल्नेछिन्
सावित्री भाउजूले पनि चेतनाको पहिलो पाइला
र, बिस्तारै बग्न थाल्नेछ पोखरी।
करिब दुई दशकको अन्तरालमा आएका अभयका कवितामा जनयुद्ध र त्यसपछिका राजनीतिक परिघटनाको छायाचित्र देख्न सकिन्छ।
क्रान्तिमा जनताले रगत र पसिना मात्रै बगाएनन्, ज्यान गुमाए, अंगभंग भए, विस्थापित भए। जुन आशा, उद्देश्य र सपना बोकेर क्रान्ति गरिएको थियो; व्यवस्था परिवर्तनपछि बनेको नयाँ संविधानले समेत जनताको अवस्थामा मूर्त परिवर्तन नल्याएको भन्ने गुनासो जनमानसमा छ।
क्रान्तिपछिको राजनीतिक परिवर्तन सीमित व्यक्तिहरूको व्यक्तिगत लाभका लागि भइरहेको छ। कवि अभय देशको आर्थिक अवस्थाप्रति 'ठुटे लोकतन्त्रवादीको आँखामा हाँस्दैछ कौटिल्य' भन्दै व्यंग्य गर्छन्।
सामान्य जीवनयापन, शिक्षा, स्वास्थ्य र बसोवासका लागि नागरिकहरू मुलुकबाहिर श्रम र पसिना बगाइरहेका छन्। उनीहरूले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानेकाले कवि उनीहरूलाई नै देशको अर्थमन्त्री घोषणा गर्छन्–
तोपचराले गुँड लाएझैं
यो देशलाई धान्ने खसोखस अर्थमन्त्रीहरू छन् खाडीमा
देशमा अनुपस्थित भएरै
सक्षमतापूर्वक चलाएका छन्
तिनले देशको अर्थतन्त्र
जनताको रगत र पसिनाले गरेको व्यवस्था परिवर्तनपछि पनि उही अव्यवस्था, उत्पीडन, अत्याचार र दुःखदायी स्थिति विरूद्ध फेरि अर्को क्रान्तिको परिकल्पना 'गोली दागिएको बालकको सम्झना' कवितामा छ।
हातमा मूल्यवान घडी बाँध्ने समयको बन्दी वर्तमान मान्छेको अनन्त पीडा 'इरेजर' कविताले संकेत गरेको छ।
पाश्चात्य साहित्य तथा समालोचना परम्परामा कला केका लागि भन्ने सम्बन्धमा लामो समय रस्साकस्सी चलेको पाइन्छ। कालान्तरमा यो बहसले विश्वव्यापी रूप लिएको देखिन्छ।
अल्जेनन स्विनवर्नले त 'कविको काम कविता लेख्नु हो, युग उद्बोधन गर्नु र सामाजिक परिवर्तन ल्याउनु होइन' भन्दै कलाको उपयोगितावादी दृष्टिकोणको खुब भर्त्सना गरेका छन्।
कालान्तरमा पियरे बोर्दियो जस्ता समालोचकले सामाजिक सांस्कृतिक चेतना, युगबोध आदि जस्ता कुराले उन्नत कलाको विकास हुने अवधारणा प्रस्तुत गरेका छन्।
यस अवधारणाले कला र साहित्यप्रति समाज तथा राज्यको दृष्टिकोणमा परिवर्तन आई समाज परिवर्तनको संवाहकको रूपमा हेर्न थालिएको छ।
कवि अभयका कवितामा एकतिर युगबोधी चेतना पाइन्छ भने अर्कोतिर विद्रोहभावको सघनता पाइन्छ, चाहे त्यो सत्तासँग होस्, या संस्कृतिसँग।
'बागी कवि' कवितामा आफू बागी कवि हुनुको कारण उल्लेख गर्छन् र गर्व पनि गर्छन्।
आफूलाई क्रान्तिका उत्प्रेरक, कतै सारथि र कतै शक्तिका रूपमा उभ्याउँदै भावी क्रान्तिको संकेत पनि गरेका छन्। बागी कवि हुनुको कारण यसरी दिएका छन्–
जसरी फूलसँग अभिन्न हुन्छ सुवास
जसरी पातसँग अखण्ड रहन्छ हरियाली
त्यसरी नै देश मसँग नि रहेको भए
हुने थिइनँ म बागी कवि।
प्रेमको सवालमा आकुल छन् कवि अभय। प्रायः कवितामा उनले प्रेम, दर्शन या चिन्तनका हरफ घुसाएकै हुन्छन्। जीवनको निर्जनताबाट सुसेलेको अप्राप्य र अतृप्त प्रेमको सुसेली पाठकको हृदयमा बयेलिन पुग्छ–
नयाँ वर्षले त मलाई
भिन्तुना भन्दै भनेन
मेरै मायाले पनि छातीमा बस्ने गरी
मायाको कुनै नासो दिएन
कवि अभयका कविता संरचनात्मक आयामका दृष्टिले मध्यम खालका छन्। कविले भाषा चयनमा बढी नै सचेतता अपनाएको देखिन्छ तर त्यसले पाठकलाई अधिक आकर्षणमा पार्न सकेको जस्तो आभास हुँदैन। पाठक र शब्दबीच कविले स्वाभाविक सामीप्य सिर्जना गर्न नसकेको पनि हुन सक्छ।
उनको बहुचर्चित भनिएको कविता, 'सन्देह गर' बुद्धको दर्शनमा आधारित भएर लेखिएको छ।
यस कवितामा कवि भन्छन्–
आँगनजस्तो एकत्र संसारमा
छैन कोही सन्देहको घेरा बाहिर
सन्देहको ईश्वर रच्ने
मेरो यही कवितामाथि पनि सन्देह गर
उनी आफ्नो विचारमा भन्छन् – म जे हुँ, मेरो कविता पनि त्यही हो, मर्दै गएको संवेदना अनि सत्य, न्याय र जीवनप्रति क्षीण हुँदै गएको मान्छेको आशाको दियो जगाउन कविता र जिन्दगी दुवैबाट अन्तिम क्षणसम्म प्रयत्नरत रहनु मेरो कर्म हो।
यस्तोमा जीवनभर निष्ठापूर्वक कविताले लेखिरहेको कविको आदर्शमाथि पनि सन्देह गर्नु निर्मम हुँदैन र!
कवि र समालोचकलाई पढ्न दिएर लेखकका सच्चा मित्र आलोचकमा समर्पण गरिएको भनिएको काव्यकृतिमा आफ्नो विचार राख्ने क्रममा कवि भन्छन् – प्रायोजित प्रशंसा र निन्दा दुवै कविताका बैरी हुन्।
यस किसिमको विचारले एउटा पाठकलाई कृतिप्रति आफ्नो यथार्थ धारणा राख्न असहज पो महसुस गराउँछ कि!
उसो त सच्चा काव्यले समालोचनाका अनेकन् मार सहन गर्न सक्छ रे! 'लहना र तीर' कविहृदयबाट निःसृत सच्चा काव्य बनेको छ तर आलोचनाप्रति कवि यति धेरै सशंकित हुनु र रक्षात्मक बन्न खोज्नु चाहिँ अलि अस्वाभाविक जस्तो लागेको छ।