आममान्छेको पहिलो बुझाइमा राजुबाबु श्रेष्ठ एक कुशल राष्ट्रसेवक हुन्।
उनी प्रहरी सेवामा जति पारंगत र शीर्ष बने, कलमको बेगमा त्योभन्दा कम छैनन्। 'पानीको फोका जस्तै...' बोलको चर्चित गीतका सर्जक हुनै हुन्। उनले फेरि अप्रत्यासित रूपमा 'बेनामे जर्नेल' पाठकका हातमा पारिदिएका छन्।
बेनामे जर्नेल कृतिले पहिलो तहमा स्रष्टासापेक्ष जीवन भोगाइको 'फ्ल्यासब्याक' भएको अनुभूति जागृत गराउँछ तर समग्र कृतिप्रतिको विम्बाकृतिमा न्याय गर्न सकेन अनभूति पनि हुन्छ।
समाज, संस्कृति र राजनीतिको सकस कृतिको केन्द्रीय कथानक हो। अन्य बहुआयामिक सन्दर्भहरू यसैसाथ समीचीन भएका छन्। यही पृष्ठभूमिमा बेनामे जर्नेलमाथि पाठकीय दर्पण र विधेयवादी दृष्टिकोणहरू प्रस्तुत गरेको छु।
बेनामे जर्नेल कथा संग्रहमा पन्ध्रवटा कथा छन्। 'जंगे पिलर' बाट 'सलाम गोतामे' सम्मका कथा क्रममा 'बेनामे जर्नेल' शीर्ष कथा हो।
संगृहीत कथाहरूको भिन्नभिन्न बास्ना र स्वाद पाठकीय आलोकबाट पहिलो प्राथमिकता हो। यसरी हेर्दा 'जंगे पिलर' नेपालको तराईका प्रमुख बासिन्दाहरूको सवार्ल्टन हो। जातिवादको अन्तर्द्वन्द्वको कथा हो।
यसका प्रतिनिधि पात्र भिखुरामको निष्ठा मातृभूमिप्रतिको इमानदारी हो, यसबाहेक केही होइन। उनीहरू बर्दीबिनाका सिपाही हुन् जसले जंगे पिलरमा पुर्खाको गौरव देख्छन्। मृत्युमा जीवनदर्शन खोज्छन्।
सीमावत् जंगे पिलरको कथा आज पनि उत्तिकै हृदयस्पर्शी र कारूणिक छ।
'यमलोकमा सहिदहरू' कथामा यमलोक, यमराज र यमदूतको स्वैरकल्पनात्मक भूमिका प्रस्तुत छ। सहिदहरूप्रति द्विचर भूमिका देखाइएको छ। स्वतन्त्रता प्राप्तिका सहिदको आदर्श राजनीतिक नियुक्तिका सहिदले अवमूल्यन गरेको आख्यान सन्दर्भ कम्ता टिठलाग्दो छैन!
'बेनामे जर्नेल' कथा युद्ध मनोविज्ञानको प्रतिरूप हो। देशहरूबीचको युद्ध र राष्ट्रसंघीय शान्ति मिसनको अन्तर्कथा हो। मिसनमा खटिएका प्रहरीहरूको जिम्मेवारी आख्यानको केन्द्र हो। सेब्रेन्काको परिवारको भूमिका मानवता र प्रेमको प्रतीक हो।
कथामा नारी सौन्दर्य र पुरूष आशक्तिका बहुआयाम पाठकलाई ऊर्जा जगृत गर्ने आधार हुन्। यद्धले देश टुक्रिएको आख्यान सन्दर्भमार्फत् राज्य विभाजित हुँदा समाज र संस्कृति पनि विच्छिन्न हुने विश्वदृष्टि प्रस्तुत छ।
'छोरीको बोझ' कथामा नेपालको तराईको आञ्चलिकता प्रस्तुत छ। माधुरीका मार्फत् समग्र तराईका नारीको उत्पीडन देखाइएको छ। दाइजो प्रथाजस्ता जडसंस्कृतिले माधुरीहरू जिउँदै जल्नुपर्ने अवस्था छ। यो प्रभुत्व संस्कृतिको अवशेषबाहेक केही हुन सक्दैन। यसले पिँढी र प्रभुत्वमा लैंगिक विभेद प्रमुख रहेको तथ्य जागृत गर्छ।
'गुमनाम कमरेड' गणतन्त्र, सामन्तवाद र नवसामन्तवादका सकस समेटिएको कथा हो, क्रान्ति र प्रतिक्रान्तिको रूप हो। नवसामन्त विरूद्ध उठेका विप्लव प्रवृत्तिहरू पनि उही चंगुलमा फसेको तितो यथार्थ समेटिएको छ।
उदीयमान शक्ति पनि उस्तै प्रभुत्वको दलदलमा फसेको सन्दर्भ मर्मस्पर्शी देखिन्छ। वास्तवमा द्वन्द्व व्यवस्थापनतर्फ सामन्त वा नवसामन्त उदासीन नै रहनुले उज्यालो भविष्यको परिकल्पना गर्न सहज देखिँदैन।
'बिहे नभएको लोग्ने', 'बाबुसाहेबको छोरो', 'झ्यालको चेपबाट' र 'फेब्रुअरी १४' कथाहरूमा नेपाली संस्कृतिमा उपभोक्तावादी प्रभाव, प्रेमका अनेक रूप, यौन मनोविज्ञान र शरीर राजनीतिका स्वरूपहरूले आख्यानका आधार तय गरेका छन्। विशेष गरी विवाह, अवैध सम्बन्ध र नस्ल परम्पराको उत्पीडन टिठलाग्दो पाराले देखाइएको छ।
'क्रान्तिमा प्रेमको छोप' खासै जीवन्त बनेको छैन। नेपाली मौलिक संस्कृति सामन्ती ढर्रामा बदल्ने र आयातीत संस्कृति असावधानीपूर्वक अवलम्बन गर्दाको चिन्ता पनि कथाका मुख्य सन्दर्भ हुन्।
'बोर्डर पार' सामाजिक सकसको कथा हो, नेपालको खुला सिमानाको अन्तर्व्यथा हो। बेरोजगारी र बाध्यताको बहुआयामिक रूप हो। बोर्डरपारिबाट आश्रित व्यापारको पराकाष्ठा हो। दैनिक चुह्लो बालेर भोका पेटहरूमा माड हाल्न गरिएको यत्नको टिठलाग्दो कथा हो।
'मोहम्मदीको चक्लेट' कथामा अन्यभन्दा भिन्न पृष्ठभूमिको आख्यान समेटिएको छ। कथामा स्रष्टाको सुडान मिसनको अनुभूति नेपाली संस्कृतिसापेक्ष प्रस्तुत गरिएको छ।
यस आख्यान सन्दर्भले वास्तवमा उपयोगवादी वा उपभोगवादी कुन रूपमा जीवनलाई हेर्ने भन्ने दर्शन प्रस्तुत गरेको महसुस हुन्छ।
'मुर्दाघरबाट' कथामा तराईको परिवेश, बालविवाह र दाइजो प्रथाको जड समेटिएको छ। कथाले ममताविहीन सम्बन्ध र कष्टकर बुहार्तनमा नेपाली समाजको बर्बरता ओकलेको छ। जन्मपछि बारम्बार मर्नुपर्ने र नजन्मिँदै मृत्युवरण गर्नुपर्ने छोरीका विवशताका कथाले पाठकको मन बेचैन बनाउँछ। अझ मुर्दाघरबाट जिजीविषासहितको अर्को जन्मको पुकार गर्ने ती आत्माहरूको चित्कारले संवेदनाको उत्कर्षमा पुर्याउँछ।
'मेयर मोतिलाल' कथा संक्रमणकालीन अवस्थाको नेतृत्वको विषय हो। राजा र मण्डलेको प्रभुत्व रक्षार्थ मोतिलाललाई उभ्याए पनि उसमा उदीयमान सांस्कृतिक आचरण पाइन्छन्। शालीन तर अराजनीतिक व्यक्ति पात्र मोतिलाल लोकतान्त्रिक आन्दोलन वा परिवर्तित राजनीतिबाट पिल्सिएको छ। उसलाई न अवस्था परिवर्तनले छुन्छ, न व्यवस्था परिवर्तनले। व्यवस्था परिवर्तनले मोतिलालहरू गुमनाम बने तर स्वार्थका खेलाडीहरू अस्तित्वमा आए।
'कोरोनाको देशबाट' कथा अमेरिकामा बस्ने नेपालीहरूको जीवन भोगाइमा केन्द्रित छ। कोरोना कहर, अस्पताल र होम आइसोलेसनले विभक्त पारिवारिक परिस्थितिको चित्र उतारिएको छ। यस सन्दर्भले जीवनप्रतिको दृष्टिकोण फेरिएको छ। भौतिक सुखसयल क्षणिक बनेका छन्।
'सलाम गोतामे' द्वन्द्वकालको प्रतिच्छाया हो। प्रहरी टुकडी र ड्युटीको कहावत हो। पेसागत धर्म र मानवता रक्षाको अन्तर्द्वन्द्व हो। मातृत्व, भ्रातृत्व र सन्तान प्रेमको अव्यक्त सम्बन्धको गठजोड पनि मान्न सकिन्छ। यो कथा सत्य सेवा सुरक्षणम् भावनाको पौरस्त्य दर्शन अर्थात् ईश्वरीय सत्ताको समागम हो भन्दा न्याय नै हुनेछ।
'बेनामे जर्नेल' कथा संग्रह हाम्रो समाज, राजनीति र संस्कृतिको त्रिआयामिक सकसको संग्रह हो। यसलाई नेपाली समाज र अन्तर्राष्ट्रिय समाजका बहुआयामिक रूप र भोगाइका कारूणिकताका आयामहरूको दर्पण मान्न सकिन्छ।
अर्कोतर्फ राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका आदर्श र विचलित रूपहरूको सकस पनि हो यो संग्रह। मानव रूप र उसका मस्तिष्क निर्देशित आचरणहरूको समष्टि 'बेनामे जर्नेल' को विधेयवादी आधार मान्न सकिन्छ।
संगृहीत कथाहरूमा प्रायः सीमान्त वर्ग-समुदायका पात्र र विषय समेटिएको छ। खासगरी सामाजिक आर्थिक अवस्था, राजनीतिक संक्रमण र संस्कृतिका बहुआयामिक रूपहरूको सकसपूर्ण प्रस्तुति कृतिको मुख्य वैशिष्ट्य हो।
तर कथामा उदीयमान पात्रहरूको प्रतिरोध सशक्त बन्न सकेको पाइँदैन। प्रतिरोधका लक्षण वा प्रयास यथेष्ट बन्न सकेका छैनन्। प्रभुत्वशाली वर्गको बर्बरता कायमै छ। उत्पीडन र शोषणका अवशेषहरू निमेट पार्न न उदीयमान वर्ग सफल देखिन्छ, न 'अर्गानिक इन्टलेक्चुअल' हरूको भूमिका सार्थक छ।
परिणामतः पाठक उत्साहित हुन नसक्ने अवस्था बनेको छ। क्रान्ति जाग्दैन। पाठकहरू शान्त, स्थिर र अमुक बन्छन्, बेचैन हुन्छन्। सायद कथाकारिताको अभिष्ट र कृतिको मुख्य वैशिष्ट्य नै यही होला!
अधिनायकत्व लाद्ने मिचाहा छिमेकी, भिखुरामहरूको सकसपूर्ण संघर्ष र बोडर्रपारिको निर्भरतामा नेपाली भूगोलको यथार्थ छ।
विभिन्न देशहरूको युद्ध र विभाजित संस्कृति, अमेरिका बस्ने नेपालीहरूको जीवन भोगाइ र कोरोना प्रभावका सकसपूर्ण घटनाक्रमहरू नेपालको भूगोलइतर तर समाज, राजनीति र संस्कृति सम्बद्ध छन्।
राष्ट्रिय सन्दर्भका कथानकहरूमा ऐतिहासिक आन्दोलन, सशस्त्र युद्ध, सामन्तवाद र नवसामन्तवादको प्रतिरोधी आन्दोलनका कारण नेपाली समाजका सकसपूर्ण अवस्थाको चित्रण निकै महत्त्वपूर्ण पाटो हो।
सांस्कृतिक सकसका हिसाबले 'बेनामे जर्नेल' बहुसांस्कृतिक छाल मार्ने कृति हो भन्दा अत्युक्ति हुनेछैन। सामाजिक लिंगमा प्राकृतिक लिंगको प्रभाव कथाका छोप हुन्।
सेब्रेन्काहरूको सुन्दरतामा पुरूष आशक्ति हुने वा माधुरीहरू जल्न विवश हुनुपर्ने कारण सांस्कृतिक विचलन वा सकसका रूपहरू हुन्। प्रेमलाई भोगका रूपमा हेरिँदा गर्भमा समेत सुरक्षित नहुने छोरीहरूले मुर्दाघरबाट अर्को जन्मको चित्कार गर्नुपरेको छ। शरीर राजनीतिका दृष्टिले पनि नारीहरूमा आफ्नो शरीरको पूर्ण स्वामित्व रहन कठिन रहेको यथार्थ कथाहरूले छरपस्ट पारिदिएका छन्।
युद्ध संस्कृति र यसले निर्माण गरेका सकसपूर्ण अवस्था बेनामे जर्नेलको केन्द्रीय विषय हो। समाजसापेक्ष सन्दर्भ र सांस्कृतिक बहुरूपका सकसहरू उपरीसंरचनाका आधार हुन्।
बेनामे जर्नेल युद्ध साहित्यको दर्पण हो। केन्द्रमा यद्ध साहित्य रहे पनि विधेयवादी दृष्टिमा बहुकथानक कथाहरूको समष्टि हो। युद्ध मनोविज्ञान र युद्ध संस्कृति कथाका मुख्य वैशिष्ट्य हुन्।
मार्क्सवादी ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादका सैद्धान्तिक मान्यताबाट भिन्न रूपमा समाजको वर्गीकरण गरिएको छ। अर्थलाई आधार रचना मानिए पनि शिक्षा, चेतना, समाज, संस्कृति, भूगोल र परिवेश आदि अधिरचनाका आधार बनेका छन्।
समाज वर्गीकरणको आधार अर्थमा सीमित नरहनुलाई नवमार्क्सवादी चिन्तनको प्रभाव मान्न सकिन्छ। स्रष्टाले भोगेको समाज र साहित्यमा वर्णित समाजका बीच समानधर्मिता हुनु बेनामे जर्नेलको अर्को महत्वपूर्ण पक्ष हो।
विश्व समाज, संस्कृति र राजनीतिका बहुआयमिक सकस हृदयलाई बेचैन बनाउने कारण हुन्, जीवन्त कृतिको आधार पनि यही हो। पाठकमा दीर्घ अभिघात पैदा हुनु कथाकार राजुबाबु श्रेष्ठको सफलता हो।
क्रान्ति र शान्तिको रङभन्दा भिन्न आवरणमा कोरिएका पानी चित्रले विसंगति बोधको द्योतन गरेको छ। यसो भए पनि केन्द्रको विघटन र बहुकेन्द्र स्थापनाको संकेत गर्ने कथानकको सम्बन्धमा एकाकार हुन नसकिने अवस्था छैन।
'बेनामे जर्नेल' परम्परागत नेपाली कथाको क्रमभंगताको कृति पनि हो। लेखकलाई उनले बर्दीवाला फुलीमा खाएको सलाममाथि अझ विशिष्ट सलाम! सलामीका आधारहरू जोडिँदै जाऊन्!