कवि भूपि शेरचनले 'मेरो चोक' शीर्षकमा साठी वर्षअघिको काठमाडौंको एउटा चित्र कवितामा उतारे –
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असंख्य रोग छ
अनन्त भोक छ
असीम शोक छ
केवल हर्ष छैन ....।
विक्रमाब्द तीसकै दशकमा कवि कृष्णभूषण बलले 'काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन' शीर्षकमा एउटा कविता लेखे-
...पहाड मधेस थुम्काथुम्की र उकाली ओरालीको देश
कसैको पेवा होइन, कसैले ठेक्का लिएर पनि हुने हैन
मुहान जो बग्नुपर्छ, जम्नु यसको कुनै अर्थ हुँदैन
काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन
काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन ।
यी दुबै कविले काठमाडौंमा आआफ्नै तरिकाले अभाव, समस्या र खोट देखे।
त्यसपछि तीर्थ श्रेष्ठ 'ओ काठमाण्डू' कविता लिएर आए –
...ओ काठमाण्डू
तिम्रो वागमतीमा सूर्यकिरण नाक थुन्छ
तिम्रो विष्णुमतीको छेउबाट प्राणवायु भाग्छ
कुन मञ्जुश्री पर्खेर बसेका छौ तिमी?...
तनहुँबाट आएका आदिकवि भानुभक्त आचार्यले करिब दुई सय वर्षअघिको काठमाडौं देखेर 'कान्तिपुरी नगरी' शीर्षकको कवितामा बयान गरे –
चपला अबलाहरू एक सुरमा
गुनकेसरिको फुल ली शिरमा।
हिँडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी।।
यति छन् भनि गन्नु काहाँ धनि ञाँ
खुसि छन् बहुतै मनमा दुनिञाँ।
जनकी यसरी सुखकी सगरी
अलकापुरि कान्तिपुरी नगरी...।।
भानुभक्तले बयान गरेको काठमाडौं भूपि शेरचन, कृष्णभूषण बल र तीर्थ श्रेष्ठको समयसम्म आइपुग्दा सम्भवतः 'कान्तिपुरी नगरी' रहेन। काठमाडौं असंख्य रोग र अनन्त भोकले ग्रसित हुन थाल्यो, सिंगो देश बोक्न नसक्ने भयो। काठमाडौंका वागमती र विष्णुमती नदी अब नदी रहेनन्। तीर्थ श्रेष्ठले काठमाडौं 'मृत्यु पर्खेर' बसेको देखे।
निबन्धकार हरि गौतमको वर्तमानमा आइपुग्दा त्यही काठमाडौं 'कठैबरा' भएको छ।
उनले 'कठैबरा काठमाडौं' निबन्ध लेखे। 'कठैबरा काठमाडौं' दुई खण्डका उन्नाइसवटा निबन्धको संग्रह हो। कठैबरा काठमाडौं संग्रहको शीर्ष निबन्ध हो। सबैभन्दा लामो पनि यही हो, अठ्तीस पृष्ठको, आफैंमा अलिक सानो किताब जत्रो!
काठमाडौंको वैभव चानचुने होइन। मञ्जुश्रीले चोभारको डाँडो काटेर तलाउको पानी बगाएपछि बस्ती बसेको भन्ने बौद्धवंशावलीको कथन छ, जनश्रुति छ। हिन्दुवंशावलीमा श्रीकृष्णले सुदर्शन चक्रले डाँडो काटेर त्यही चोभारबाट पानी बगाएको र आफूसँग आएका ग्वालाको बस्ती बसाएको भन्ने कथन छ।
कथन जुनसुकै होओस्, गाथा काठमाडौंकै हो।
भानुभक्तले देखेको काठमाडौंले भूपि, कृष्णभूषण, तीर्थ र हरिको समय हुँदै गुज्रिँदा आफ्नो पहिचान गुमायो। गौरव नगुमेको भए काठमाडौं उपत्यकाका विश्व सम्पदा खतराको सूचीमा चढ्ने जोखिम हुने थिएन।
लेखकले प्राचीनतमदेखि आजको अधुनातन काठमाडौं खोतल्नुसम्म खोतलेका छन्, रौंचिरा केलाएका छन्।
उनको निष्कर्ष छ – काठमाडौं जो थियो, जो रहनुपर्ने थियो त्यो भएन, त्यो रहेन। काठमाडौं आफ्नै समस्यामा जेलियो, आफैं पेलियो र आफ्नो समस्यासँग भिड्न नसक्ने गरी निरीह भयो।
यसरी बिस्तारै बिस्तारै काठमाडौं कठैबरा भयो।
'कठैबरा काठमाडौं' निबन्ध तयार गर्न लेखकले इतिहास र संस्कृतिका अनेक कृतिहरू केलाएका छन्। वेद, पुराण र महाभारतको सहारा लिएका छन्। खासमा उनले अनुसन्धानात्मक आलेख तयार गरेका छन्। भनेका छन् त निबन्ध।
खासमा म अलिकति अलमलमा पनि परेको छु, निबन्ध हो कि अनुसान्धान लेख! प्राडाहरूले निबन्ध भनेपछि निबन्ध नै मानेको छु।
काठमाडौंलाई यहीँ छाडेर थोरै अघि बढूँ।
लेखक ऋग्वेद उद्धृत गर्छन् – एकं सद् विप्रा बहुधा वदन्ति अर्थात् सत्य एउटै छ तर यसलाई ज्ञानीजन अनेकौं किसिमले व्याख्या गर्छन्।
समय चेतना बदलिँदो छ। आज सत्य पनि विभाजित छ, विवादित छ। सत्यमाथि जालझेल भएको छ, लोकतन्त्र र स्वतन्त्रता राजनीतिका सिकारीले थाप्ने धराप भएको छ।
देश (नेपाल) सुन्दर, शान्त, विशाल छ; प्राकृतिक रूपले सम्पन्न छ; यहाँ अवसरै अवसर छ कि यहाँ बेरोजगारी व्याप्त छ; युवाका लागि कुनै अवसर छैन; देश बस्न लायक रहेन।
सत्य कुन हो? मेरा लागि प्रश्न अनुत्तरित छ।
नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड राजा वीरेन्द्र शाहको राष्ट्रप्रेम विरूद्धको षड्यन्त्र थियो कि पारिवारिक द्वन्द्वले युवराज दीपेन्द्रमा उम्लेको नशालु आवेग?
'एकं सद् विप्रा बहुधा वदन्ति' न हो, आखिर जसको विवेकले जे देख्छ उसका लागि सत्य त्यही हुने भयो।
समयको वहन तीव्र छ, झरीको खहरेझैं। कुनै समयको 'अतिथि देवो भवः' आज आम्दानीको मन्त्र भएको छ, आदिकालदेखि जपिएकै छ।
पूर्वीय सभ्यताका मूल मानिएका वेद, उपनिषद, पुराण आलोचनाको घेरामा छन्। आयुर्वेदको ज्ञान लोपोन्मुख छ।
पचास हजार वर्षअघिदेखिको मानव सभ्यातामा डेढ सय वर्षभन्दा थोरैअघि प्रवेश गरेको समाजवाद र साम्यवादले दुनियाँको मथिंगल हल्लाएको हल्लायै छ। विदुरनीति, चाणक्यनीति, कौटिल्य अर्थशास्त्र एकादेशका कथा जस्ता छन्।
स्कुल–कलेज भर्ना भएर पढ्नु अब ज्ञानका लागि रहेन, पैसाका लागि भयो। पढेर ज्ञान आर्जन हुने विषय होइन, पैसा कमाउने विषय छनोट गर्नुपर्ने भएको छ। ज्ञानको कुरा बुर्जुवा भएको छ। ज्ञान भन्नु अलिक गहन कुरा हो। ज्ञान व्यक्तिको व्यवहारमा, व्यक्तित्वमा प्रकट हुन्छ।
समय ज्ञानको भन्दा बढी पैसाको भएको छ। समयले देखाइसकेको छ, पैसा कमाउन उच्च शिक्षासम्म पुग्नै पर्दैन। निबन्धकार हरि गौतमले परगेलेको आजको समयमा चेतना यही हो।
'कठैबरा काठमाडौं' का उन्नाइस निबन्धहरूमा के छैन! इतिहास छ, संस्कृति र परम्परा छ, परिवार छ, समाज छ, राष्ट्र छ र परराष्ट्र छ। मानव चेतनाको विकास छ र विनाशको चित्र पनि छ।
निबन्धमा निजी संवेग र संवेदना छ। 'मृत्यु चेतना', 'आमा जानु भो', 'पहिराले दिएको ऐँठन', 'यसरी एउटा फोनले बाँचेँ' यस्तै निबन्ध हुन् जहाँ लेखक संवेगात्मक छन्। निजी छन्।
सनातन दर्शनका ग्रन्थहरू मृत्यु चेतनाले भरिपूर्ण छन्। वेदान्त दर्शन भनूँ कि कठोपनिषद् वा श्रीमद्भगवद्गीता, उच्च मृत्यु चेतनायुक्त छन्। जुनजुन कोणबाट व्याख्या–विश्लेषण भए पनि सनातन दर्शनले भौतिक शरीर र आत्मा छुट्ट्याएर हेर्छ।
मृत्यु चेतनाको मुख्य सार 'जातस्य हि ध्रुवो मृत्युध्रुरूवं जन्म मृतस्य च, तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि' अर्थात् 'जन्म लिनेको मृत्यु निश्चित छ, जो मरेर गयो उसको पुनर्जन्म अपरिहार्य छ, यसकारण यस्तो सत्यका विषयमा चिन्ता गर्नु आवश्यक छैन' नै हो।
यो मृत्यु चेतना सनातन दर्शनमा सर्वाधिक पठन हुने मानिएको श्रीमद्भगवद्गीतामा महाभारत युद्धबाट लिपिबद्ध छ। महाभारत युद्ध पाँच हजार वर्षअघि भएको मानिन्छ।
यो त एउटा दृष्टान्त मात्र हो। सनातन दर्शनमा जीवन र मृत्युबारे विशद् चर्चा भएको छ। 'जातस्य हि ध्रुवो मृत्यु...' भने पनि 'नैनं छिन्दन्ति शस्त्राणि...' वा '... नहन्यते हन्यमाने शरीरे' जे भने पनि सार मृत्युमा शोक गर्नु व्यर्थ छ भन्ने नै हो।
बौद्ध दर्शनले 'मृत्यु अनिवार्य शर्त हो' भने पनि वा चार्वाकले 'आत्मा भन्नु पनि शरीर नै हो, मरेपछि सबै सकिन्छ' भने पनि सार उही हो – मृत्युमा शोक गर्नु व्यर्थ छ।
जैन दर्शनले 'जन्म र मृत्यु शाश्वत नियम हो' भने सार उही हो।
मृत्युमा शोक गर्नु व्यर्थ छ भनेर जति नै व्याख्या गरे पनि आजसम्म मानिसमा सर्वाधिक शोक मृत्युमै छ। हामी 'शोक सन्तप्त' परिवारजनमा 'समवेदना' प्रकट गर्छौं, 'धैर्य' धारणका लागि 'प्रार्थना' गर्छौं।
'आमा जानु भो...' मा यस्तै शोक छ, मृत्यु शोक।
सर्वत्र छ मृत्यु शोक। आखिर किन छ त?
प्रश्न करिब अनुत्तरित छ वा यति बग्रेल्ती उत्तर छन् कि कुनैले पनि काम गर्दैन।
म ठान्दछु – प्रत्येक मान्छेमा केही संवेग र केही संवेदना हुन्छ, शोक त्यसैमा निहित हुन्छ।
त्यही संवेग र संवेदना शब्दको हारमा उनेर पाठकसम्म पुर्याउने मान्छे लेखक हुन्छ। गौरी जति संक्षिप्त सशक्त शोककाव्य विरलै लेखिएला। पत्नीशोक त कविवर माधव घिमिरेको मात्रै होइन नि!
उनले शब्दको हार उनेर घरघरमा पुर्याए। प्रत्येक पाठकलाई गौरी मेरै काव्य हो भन्ने बनाए। लेखकको शक्ति भन्नु नै यही त हो।
हरि गौतम लेख्छन्, लेखी बस्छन्। खासगरी खोजमूलक लेखनमा उनको रूचि छ। उनले खोजमूलक लेखहरूको संग्रह 'झापा दिग्दर्शन' सम्पादन गरे। यस्तै कृति 'नेपाली क्रान्ति र गणेशमान सिंह' लेखे। 'अन्तर्राष्ट्रिय रेडियो आवाजमा नेपालको प्रजातान्त्रिक आन्दोलन' उनले सम्पादन गरेको अर्को एउटा सशक्त कृति हो। उनको सम्पादनका अन्य केही कृति पनि छन्।
यति काम उनले बितेको पन्ध्र वर्षभित्रमा गरेका हुन्।
नेपाली निबन्ध भण्डारमा सशक्त भएर आएको छ 'कठैबरा काठमाडौं' तर मस्काउनमा अलिक बढी ध्यान दिएको भए हुन्थ्यो। केही ठाउँमा शब्दको वर्तनी र वाक्यको बनोट बिझायो। कतैकतै लेख्य चिह्न पनि बिझायो। किताब छापिएर आएपछि लेखक स्वयंलाई पनि बिझायो कि!
धेरै होइन, थोरै हतार भयो। एक फेरा मस्काएको भए नौनी झन् निख्खर हुन्थ्यो भन्ने ठान्छु।
सनातन विश्वासमा पुनर्जन्म मानिएझैं 'कठैबरा काठमाडौं' को पनि पुनर्जन्म हुने नै छ। जन्मदाता पनि अवश्य उनै हुनेछन् र अपेक्षा गर्छु – एक फेरा अवश्य मस्काउनेछन्।
खोट देख्न र देखाउन सजिलो हुन्छ, सल्लाह दिन त झन् सजिलो। खोटरहित केही हुँदैन भन्ने मानेर खोटका लागि अग्रिम छुट किन लिनु!
(गोविन्द लुइँटेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)