‘घुरको धुवाँ’ आँखामा झ्याप्प परेपछि मैले रतिलालकी छोरी मुन्नी र छोरो मुन्ना सम्झेँ। मैले पहिलोपटक देख्दा मुन्ना नाङ्गै घुर तापेर बसेको थियो। मुन्नी पनि नाङ्गै थिई।
धरोका नाममा मुन्नाको कम्मरमा एउटा कन्दनी थियो, मुन्नीको त त्यही पनि थिएन। अर्को वर्षसम्ममा मुन्नी लाज चिन्न सक्ने भइछे क्यार, कट्टु लगाएर घुर ताप्न थाली।
मैले लग्नुबाबैलाई पनि सम्झेँ। हिँउदको जाडो पलाउँदै गएपछि उनी घुर बाल्न थाल्थे, बिहानबेलुकै घुर बालेर ज्यान सेकाउँथे। उनको जोड ढाड सेकाउनमा हुन्थ्यो।
लग्नुबाबै गर्मी मौसममा पनि घुर सल्काउँथे। जाडोमा र गर्मीमा घुर सल्काउने उद्देश्य फरक हुन्थ्यो। घुर बाल्ने ठाउँ पनि फरक हुन्थ्यो। जाडोमा गाईवस्तुलाई कुँडो पकाउने ठाउँमा, आँगनको एक छेउमा, घरनजिकै खेतमा घुर लाग्थ्यो; गर्मीमा साँझपख भैँसीको थलामा लाग्थ्यो।
लग्नुबाबै जाडोमा ज्यान तताउन घुर बाल्थे त गर्मीमा भैँसी दुहुने वेला मच्छड धपाउन। घरका केटाकेटी हामी जाडोमा घुर ताप्न झुम्मिन्थ्यौँ। छिमेकका केटाकेटी पनि जम्मा हुन्थे। वयस्कहरू पनि जम्मा हुन्थे, फुर्सद हुन्जेल घुर ताप्दै नानाथरी गफ गर्थे।
गर्मीमा चाहिँ मेरा लागि घुर एउटा औडाहा भइदिन्थ्यो। घुरको धुवाँ हावाको दिशातिर जान्थ्यो। छिनभरमा हावा यता र उता हुन्थ्यो। लग्नुबाबैले साँझमा घुर सल्काएपछि नाङ्लोले हम्किँदै घुरको धुवाँ भैँसीतिर पठाउने काम मेरो हुन्थ्यो। बाबै भैँसी दुहुन्थे, म धुवाँ पठाउँथेँ।
हिउँदका दिनमा घुरको छेउमा उभिएर जिउ घुमाउँदै न्यानो लिनुको मजा नै अर्को, त्यो मजा आज मसँग छैन।
हाम्रो घरमा घुर बल्न छाडेको चार दशकभन्दा बढी भयो। लग्नुबाबै गए, घुर पनि उनकै पछिपछि गयो। रतिलालको परिवार पनि बसाइँ सर्यो। पहाडियाहरू अँगेनोमा आगो ताप्छन्, घुर सल्काउँदैनन्। रतिलाल र लग्नुबाबै दुबै मधेसका रैथाने थिए, तब पो घुर सल्काउँथे।
मेरा प्रिय साथी राजेश खनालले ‘घुरको धुवाँ’ नाम राखेर हालै एउटा संस्मरणात्मक कृति प्रकाशन गराए। घुर मधेसी समुदायको चलन हो, मधेसी परम्परा हो। राजेश मध्य तराईमा जन्मेर घुर ताप्दै हुर्केबढेका हुन्।
काठमाडौं बसेको आधा शताब्दीको लग छुन लाग्यो तर उनले घुर बिर्सिन सकेनन्। झन्डै बिर्सिन लागेको मलाई पनि सम्झाइदिए। उनले पुस्तकका रूपमा सल्काएको घुरले मलाई बालसखा मुन्नी र मुन्ना अनि घरका सहयोगी लग्नुबाबै सम्झाइदियो।
साहित्यकार राजेन्द्र विमलका अनुसार मानिस अतीतको प्रतिफल हो यसकारण अतीतप्रति सम्मोहन सहज र स्वाभाविक हो, मानिस अतीतको महासागरमा डुबुल्की मार्न चाहन्छ।
मेरा साथी राजेशले ‘घुरको धुवाँ’ जहाजबाट त्यही महासागरमा डुबुल्की मारे। आफू निस्केर मलाई पनि उनका पछि लगाए। अरू धेरैलाई लगाए हुनन्। पुस्तक चाहिएर वितरककोमा पुग्दा उनी आफैँले पनि किन्नु परेछ! उनको कुरा सुनेर मलाई खुसी लाग्यो।
उपेन्द्र सुब्बाको कथा सङ्ग्रह ‘लाटो पहाड’ पढ्दा लिम्बु समुदायबाहुल्य पूर्वी पहाड सर्लक्कै घुमेको अनुभूति भएथ्यो। लिम्बु समुदायको सङ्गतमा हुर्केर पनि होला, ‘लाटो पहाड’ ले कहिल्यै नफर्किने गरी बितिगएको त्यो बालवय र किशोरवयको तिखो पहाडिया स्मरण दिएको थियो। घुरको धुवाँले किशोरवयको मधेसी स्मरणमा पुर्यायो।
राजेशको जस्तै हाम्रो घरमा पनि दिउँसोको खाजामा बिहानको भात र बिहानको खाजामा बेलुकाको भात चल्थ्यो। त्यो खाजामा मेरो रुचि हुँदैनथ्यो। राजेशले झैँ लग्नुबाबै नुनतेल र काँचो प्याजसँग औधी प्रेमले खान्थे। तेल भन्नु तोरीको मात्रै हुन्थ्यो; आजकालजस्तो सूर्यमुखीको, भटमासको त नामै थिएन।
राजेश मलुवा खैनीको झन्झट छाडेर बट्टाको ‘सुगन्धित खैनी’ तिर लागेछन्। धन्य! एक दिन होस्टलको सुपरिटेन्डन्टले थाहा पाएर बुबाको नाम लिएछ, नत्र राजेश आज पनि खैनी खाँदै हुन्थे होलान्!
राजेशको बयानले मलाई चार कक्षामा पढ्दाको म सम्झायो। होलीपारि थियो एउटा सहपाठीको घर, स्कुल आउँदाजाँदाको साथी। सुगन्धित खैनीमा लत लागिसकेको रहेछ। मलाई पनि उल्क्यायो। स्कुल आउँदाजाँदा ओठमा च्याप्न लगायो।
तेस्रो दिन पहिलो घण्टीमा कक्षामै बान्ता भयो। धन्य! त्यस दिन म झ्यालपट्टि बसेको थिएँ। झ्यालबाहिर झाडी थियो। सत्तरी जना विद्यार्थीको कक्षामा बीचतिर, त्यो पनि म झ्यालमै बसेको, शिक्षकले पत्तै पाएनन्।
कालोपाटीतिर फर्केर लेख्दै गरेका शिक्षकको के कुरा, सँगै बसेको साथीले पनि मेलो पाएन। शिक्षकले थाहा पाएका भए ढाड खुस्काउने थिए। गणित पढाउने ती शिक्षक विद्यार्थी कुट्नमा कहलिएका जो थिए।
धन्य! तेस्रो दिन नै, कक्षाकोठामै सही, बान्ता भइदियो नत्र...।
लग्नुबाबै मलुवा खैनी खान्थे । म उनले खैनी माडेर ओठमा च्यापेको र पिच्चपिच्च थुक्दै अन्तिममा मिल्काएकोसम्म अभिनय गरिदिन्थेँ। उनी मलाई खैनी खान उक्साउँथे।
रामलीलामा बिँडी खाने सीता हुनु सामान्य थियो। नाच र नाटकमा महिलाको भूमिकामा पनि पुरुष पात्र महिलाको वेशमा प्रस्तुत हुने जमाना जो थियो। राजेशका कम्लु मामाले देखेको दृश्य साँचो थियो।
राजेशले मधेसमा हेरेको रामलीला त्यो समयको प्रतिविम्ब हो। भलुवाही, औरही, जनकपुर, जलेश्वर लगायत तत्कालीन मधेसको समाज छर्लङ्गै देखाउने ऐना हो।
नारायण गोपालले रेडियोमा गाए ‘सारा दिन अरूलाई बाँडेँ...’, राजेशका लागि त उनका सुन्दरमामाले नै गाएका हुन्। राजेशले सुन्दरमामाले हारमोनियम बजाउँदै गीत गाएको यसरी सम्झेपछि मैले अन्तरेकाकाले मादल बजाउँदै ‘यो हो गीत तिमीलाई, यो हो प्रित तिमीलाई...’ गाएको सम्झेँ। बच्चुकैलाश त मैले धेरै पछि सुनेको हुँ।
नयाँ रेल आए पनि एनजेजेआर कति नै रूपान्तरण भएको होला र! गुड्दै गरेको रेलबाट ओर्लेर पिसाब फेरीवरी फेरि चढ्न सक्ने गति नभएको भए नेपालको तराईमा मात्र के, पहाड छिचोलेर हिमालसम्मै पुगेको हुन्थ्यो होला!
राजेश किशोर वयमा नाटक खेल्दा रहेछन्, कुनै भूमिका पाए खेल्ने, नपाए नाटक प्रचारको ‘टेम्पो उद्घोषक’ हुने। नाटक खेल्नु परको कुरा, म त टेम्पो उद्घोषक पनि भइनँ।
उनले टेम्पोको कुरा गरे, मैले पनि रिक्सा उद्घोषक देखेको हुँ। उर्लाबारीतिर जाँदा रिक्सामा माइक राखेर प्रतिध्वनिको लयमा चर्को स्वरले फिल्मको प्रचार भइरहेको हुन्थ्यो– दुर्गा टाकिजमा भोलि सुरु हुँदैछ धर्म और कानुन... धर्म और कानून...।
राजेशको साथी दिलजान जहाँ होला, उसले भनेको ‘जो ना करे बाबु भैया, वो करे रुपैयाँ’ त मन्त्र नै साबित भएको छ। चालीस वर्ष नै सही, कुनै दिन राजेश र दिलजानको भेट भइजाओस्। यही साता हो, अग्रज पत्रकार तीर्थ कोइरालाले स्कुल पढ्दाको प्यारो साथीसँग छयालीस वर्षपछि भेट भयो भनेर फेसबुकमा फोटो राखेको।
पैंतालीस वर्षअघिको कुरा भनेर राजेशले लेखेका छन्– मावल गाउँमा त्यही घुरछेउमा बसेर आगो तापियो। आफ्नो उमेरसमूहका केटाहरूसँग अनेक रङका खेलाँची गरियो। केही सिकियो। केही नौटङ्की गरियो। केही बदमासी पनि गरियो।
हो नि, राजेश मात्र किन र! अनेक उट्पट्याङ गर्नु, ठूलाले नगर्नू भनेको गर्नु, जनानू भनेको ठाउँमा जानु इत्यादि त त्यो उमेरको स्वभाव नै हो, सबैजसोले गरेकै हुन्छ। अरूलाई पनि त्यो अतीतमा पुर्याउने गरी लिपिबद्ध गर्ने चाहिँ साह्रै थोरै हुन्छन्। तिनै थोरैमध्येका एक भएका छन् राजेश।
घुरको धुवाँले मलाई मेरो बालपन र किशोरवयका अनेक उट्पट्याङ सम्झायो। अनेक घटनाहरू ताजा बनाइदियो। त्यो दूर अतीतमा पुर्याइदियो।
समय मान्छेको वशमा छैन भन्छौँ, राजेशले त बितिगएको त्यो समय संस्मरणात्मक निबन्धहरूमार्फत वशमै राखिदिए। सबैलाई बाँडिदिए।
राजेशले लेखेझैँ घुर आज पनि मधेसको बृहत् चौतारी हो; टोलवासी जम्मा भएर गाईभैँसीको दूध, खेतको धानगहुँ, मेलापात, हाटबजार, अर्मपर्म, खनखाँचो, सरसापट बिहेबटुलो, मरिमराउ इत्यादिको बात मार्ने र ठट्टामजा गर्ने थलो हो।
राजेशले मलाई बडो कलात्मक ढङ्गले घुरको धुवाँमा भुलाएर दूर अतीतमा पुर्याइदिए जहाँ मैले झन्डै पाँच दशकअघिका मुन्ना र मुन्नी सम्झेँ। लग्नुबाबै ताजा भएर आए।
राजेशको घुरको धुवाँले साँच्चैको मधेस देखाउँछ, साँच्चैको मधेस सम्झाउँछ, पाठकलाई आफ्नो बाल्यकाल र किशोरकाल सम्झाउँछ। मलाई सम्झायो भने दाबीका साथ भन्छु, म जस्तो अर्को पाठकलाई पनि सम्झाउँछ।
राजेशले हेरेका जस्ता रामलीला, नौटङ्की र सिनेमा, उनले पढेका जस्ता उपन्यास, उनले चक्कर मारेका जस्ता फाँट, उनले चढेको जस्तो साइकल, उनको जस्तो मामाघर, उनका दिलजान जस्ता आफ्ना अनेक साथी कसलाई सम्झना नआउला र!
यति लेखेर मैले मेरी श्रीमतीजीलाई सुनाएँ। सोधिन्, ‘आफ्नो संस्मरण लेख्या कि राजेशको किताबको समीक्षा गर्या?’
आजसम्म मैले कुनै पनि किताबको समीक्षा गरेको छैन, समीक्षा गर्ने हैसियत हासिल गर्न सकेको छैन।
मैले भनेँ, ‘समीक्षा त मैले कहिल्यै लेख्या छैन, मलाई आफ्नै संस्मरणजस्तो गरी लेख्न उक्साउनु नै राजेशको किताबको शक्ति हो श्रीमतीजी!’
उनको चित्तमा घाम लागेछ, हाँस्दै भनिन् ‘ए! तेसो पो! ल म पनि पढ्छु।’
दूर अतीतका ती स्मरणहरू अक्षरमा एकट्ठा गरेर पाठकलाई गुन लगायौ राजेश! त्यही घुर तापेर तिमी आजका राजेश भएछौ। धेरै बधाई, धेरै शुभकामना!