ऐतिहासिक पात्रमाथिको आख्यान 'बहादुर शाह' सार्वजनिक गरिएको छ।
नेपालयले नयाँ पुस्तक 'बहादुर शाह' प्रकाशन गरेको हो। 'बहादुर शाह' पुस्तकका लेखक लामो समय राजनीतिक जीवन बिताएका चिरञ्जीवी वाग्ले हुन्।
पुस्तकमा गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे लेखिएको छ।
बहादुर शाहको जीवनीमा आधारित ऐतिहासिक उपन्यास 'बहादुर शाह' को पाण्डुलिपि २०७६ सालमै तयार भए पनि पुनर्लेखन र सम्पादन प्रक्रियाले समय लियो।
'मैले अघिल्लो पुस्तकमा पृथ्वीनारायण शाहको राज्य एकीकरणलाई समेटिसकेपछि त्यसलाई अघि बढाएका बहादुर शाहको कथा नभनिँदा इतिहास अधुरै रहन पुगेको महसुस भयो' वाग्ले भने, 'त्यसबाहेक यो देशलाई असाध्यै माया गर्ने तर किनारामा पारिएका एक महत्वपूर्ण पात्र बहादुर शाहप्रतिको मेरो लगावको कारण नै यो पुस्तक लेख्न पुगेँ।'
लेखक वाग्लेको यो तेस्रो पुस्तक हो। यसअघि उनका 'बन्धनशालामा खीर' र 'बलिदानले बनेको देश' पुस्तक प्रकाशित छन्।
'बहादुर शाह' ले नेपालयको ऐतिहासिक आख्यान विधालाई निरन्तरता दिएको छ। यसअघि योगेश राज लिखित ‘रणहार’ उपन्यास नेपालयबाटै प्रकाशित छ, जुन भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ल केन्द्रित आख्यान हो।
तीन सय १६ पृष्ठको यो पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ छ। यो उपन्यास मुलुकभरि प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ।
‘बहादुर शाह’ लाई नेपाञ्लयले भौतिक पुस्तक सँगसँगै ईबुकका रुपमा पनि बजारमा उपलब्ध गराएको छ । ईबुकको प्रतिलिपि थुप्र डटकमबाट किन्न सकिन्छ भने संसारभरिका पाठकले अमेजनबाट पनि खरिद गर्न सक्नेछन्।