राजेन्द्र अर्थात् नियात्राकार राजेन्द्रमान डंगोल पर्यटन यात्रा गर्छन्, स्वदेशी–विदेशी पर्यटकहरूका साथ हिँड्छन्।
यिनले नेपाली भूमिमा पर्यटनयात्रा थालेको तीन दशकजति भइसक्यो होला। उनका सन्दर्भमा पर्यटनयात्रा माने पदयात्रा, पिठ्युँमा रुकस्याक कसेर हिँड्ने, हिँडेको हिँड्यै गर्ने, योजनाबद्ध हिँडाइ।
धेरै वर्ष हिँडे, सुरूदेखि नै लेखेका भए एउटा महाभारत नै बनिसक्थ्यो होला! लेखेनन्।
यिनका दाजु छन् कवि आरएम डंगोल।
नाम चलेका कवि हुन्। मन छुने कविता लेख्छन्। धन्य! एक दिन तिनै दाजुले बुद्धि हालिदिएछन्– तँ हिँडेको हिँड्यै गर्छस्; कस्ताकस्ता ठाउँमा पुग्छस्; ती ठाउँमा तैँले देखेको कुरा, त्यहाँको समाज, संस्कृति र प्रकृतिको कुरा लेख् न! लेख्ने बानी गर् न!
अनेक थोक देख्छु नि देख्न त तर कसरी लेख्नु! जाने पो!
दाजुले लेखनको केही काइदा पनि सिकाइदिएछन्। राजेन्द्रले लेखेका छन्– उनले यो सल्लाह नदिएका भए साहित्यको क्षेत्रमा मेरो पदार्पण नै हुने थिएन, उनकै प्रेरणाले लेखनमा मलाई ऊर्जाशील बनायो।
साँच्चै, ती आरएम डंगोल नमनीय प्रेरक भए तब पो राजेन्द्रले चार वर्षमा घच्चीका तीनवटा नियात्रा कृति लेखे। ऊ सुन्दैछ, चौथोको तयारी गर्दैछन्। हतार नगरी चाँडै आओस्, हार्दिक शुभकामना!
उसका लागि नियात्रा नामको लेखोट पढ्नू अलिक सकसको कुरा हुन्छ। दैनिकी हो कि गन्थन! थाहा पाउँदैन। यही पनि लेख्नुको ढंग हुन्छ। दैनिकीले नै गतिलो कृति तयार हुन्छ। मान्छेले ढंग पुर्याएर लेख्न सके गन्थनले नै मन छुन्छ। आखिर जे लेखे पनि गन्थनकै पोको न हो!
नियात्रा भनेपछि ऊ बाह्र हात पर सर्छ। अलिक विचार गरेरमात्रै छेउ पर्छ र हात हाल्छ।
राजेन्द्रका नियात्रा कृति पढाए साथी माधव घिमिरेले। केही दिनअघि उनैले ‘बादलडाँडा’ हात पारिदिए। उसले दोस्रो कृति ‘पैतालामा हिउँ आँखामा हिमाल’ पढेको थियो। राजेन्द्रको लेखाइमा रस बसेर उसले केही टिप्पणी पनि लेखेको थियो ‘तब पो पढ्नु नियात्रा’ शीर्षकमा। तेस्रो कृति बादलडाँडा पढेपछि पहिलोको चाह गर्यो। उनै साथी माधवले हात पारिदिए।
साँच्चै, नियात्रा! नियात्रा! भन्दै के लेखिबस्छन् हँ राजेन्द्र! ऊ गम्छ।
उनी गाउँ लेख्छन्, खेतखलियान लेख्छन्। गाउँका मान्छे लेख्छन्, तिनका अनुहार र लवज लेख्छन्। उनीहरूसँगका वार्तालाप लेख्छन्। मान्छेका परम्परा र संस्कृति लेख्छन्; हिमालका, पहाडका र समथर तराईका। मन्दिर, चैत्य र गुम्बा लेख्छन्।
गाउँका परिकार लेख्छन्, पहिरन लेख्छन्। पहाड पर्वत–हिमाल, उकाली–ओह्राली र भन्ज्याङ–चौतारी लेख्छन्। खोला र झरना लेख्छन्। ढुंगा, बुट्यान, वनजंगल र फाँटहरू लेख्छन्। वनका बासिन्दा लेख्छन्। कतै हाब्रेको दर्शन पाउँछन् त कतै चितुवा र हिउँचितुवाले अनायासै दर्शन दिन्छन्।
कतै यस्ता वनवासीको दर्शन नपाएर दिक्दार हुन्छन् र मनमनै सोच्छन्– कता गए ती वनवासी!
समग्रमा यात्राका कथा लेख्छन्। टुक्राटुक्रामा सिंगो देशको यात्राकथा लेख्छन्। कथामा उपकथा हाल्छन्। कुनै ठाउँको नाम किन त्यही भयो? उनको मनमा प्रश्न उब्जिन्छ, उत्तर खोजी गर्छन्।
अनेक ठाउँका नाम जान्नुको मजा अर्को छ; सोलीघोप्टे डाँडा, पित्तम देउराली, फिलिम, जनैमन्तरी चौतारो, एक्ले भट्टी, एक्ले देउराली; यस्ता रमाइला नाम त कति हो कति अनि नामपछाडिका जनश्रुति उति नै।
जनजनमा अनेक जनश्रुति छन्, कथा छन् र तिनका उपकथा छन्। प्राकृतिक दृश्यमा तिनै जनश्रुति र उपकथा जोड्छन्।
ठाउँठाउँका इतिहास पनि लेख्छन्। पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानमा मगर जातिको योगदान सम्झाउँछन्। यस्तै अरू पनि लेख्छन्।
मान्छेका गीत त लेखिहाल्छन्, चराको गीत पनि लेख्छन्–प्रभाती गीत, दिवा गीत र गोधुली गीत।
राजेन्द्रले लामो यात्रा गरेर ‘नमस्ते’ लाई ‘झोर्ले’, ‘पानी’ लाई ‘दी’, ‘घाम’ लाई ‘नाखान’ र ‘जाडो’ लाई ‘जुहुचो’ भन्न जाने। उसले राजेन्द्रको किताब पढेर जान्यो। यसरी सजिलो पारिदिएका छन्।
पहिलो कृति ‘यात्राका पाइला’ मा एक वृद्धासँगको संवाद कम्ता रमाइलो छैन! सोध्छिन्– तमी कहाँका हौ? क्याइ आया हौ? कहाँ झान्याकी आया हौ?
राजेन्द्रले प्रश्नको मेलो पाए पनि वृद्धाकै लयमा जवाफ दिन जाने पो! यस्ता स्थानीय शैली र लवज त कति हो कति राजेन्द्रका नियात्रा कृतिमा।
उसलाई प्रत्येक मान्छे एउटा कथा हो जस्तो लाग्छ। बाआमाले गोरखनाथसँग किनेका जोगी सुकदेवनाथको कथाले उसको मन छोएको छ।
सुकदेवनाथका बाआमाले उनलाई बचाउन न्वारानकै दिनमा गोरखनाथको झोलीमा हालिदिएका रे। उनी गोरखनाथसँगै हुर्के। अब मर्दैन भन्ने भएपछि गोरखनाथबाटै किनेर लगे रे।
बाँच्न त बाँचे तर एक जना ज्योतिषीले तिम्रो आयु चौंतीस वर्षमात्रै छ भनिदिएछन्। ती ज्योतिषीले बाह्र वर्ष जोगी भइस् भने लामो उमेर बाँच्छस् भनेर उपाय पनि सुझाएछन्। आखिर सुकदेवनाथले मर्नुभन्दा जोगी हुनु बेस ठाने।
तब पो कान छेडेका शिवभक्त वृद्ध जोगी सुकदेवनाथसँग राजेन्द्रको भेट भयो। उनले आफ्नो नियात्रा कथाभित्र ती जोगीको उपकथा हाले अनि उसले पढ्न पायो।
धन्य! ज्योतिषीले चौंतीस वर्षपछि पनि बाँच्ने उपाय सुझाएछन् र सुकदेवनाथको जीवनको एक अंश जान्न पाइयो।
ज्योतिषीका भविष्यबाणीबारे उसका केही अनुभव र धारणा छन्।
निकट चिनजानका एक परिवारमा एक सन्तान जन्मे। हजुरबाले ज्योतिषी बोलाएर दशाग्रह हेराए। ज्योतिषीले नाति अलिक पिराहा ग्रह लिएर जन्मेको छ, सम्पत्ति र परिवारजनमा हानी पुग्छ भनिदिए।
पुरानो विचारका हजुरबा झस्के। नवजात नातिप्रति उनको दृष्टि राम्रो हुन सकेन। शत्रु जन्मेको जस्तो ठाने। खासखास खुसखुस गर्दा गर्दै छोराबुहारीले बाबुको दृष्टि थाहा पाए। परिवारमा विग्रहको बिउ रोपियो। आखिर ज्योतिषीले भनेझैँ नै भयो।
देशमा सशस्त्र द्वन्द्वको समय थियो। नाति जन्मेपछि परिवारमा सबै छिन्नभिन्न भयो।
उसको मनमा आज पनि प्रश्न उठ्छ– ज्योतिषीको भविष्यवाणी पूरा भएको हो कि तिनको बुद्धि नपुगेको हो?
ती ज्योतिषीले तपाईंको नाति परिवारमा समृद्धि लिएर जन्मेको छ, तपाईंहरू भाग्यमानी हुनुहुन्छ। यो नातिले परिवारको श्रीवृद्धि गर्नेछ भनेका भए कस्तो प्रभाव पर्थ्यो होला!
उसले कलाकार हरिवंश आचार्यकृत ‘चिना हराएको मान्छे’ पढ्यो। उनकी पत्नी मीरालाई मुटुसम्बन्धी समस्या थियो, उपचार भएको थियो। समस्या त छँदै थियो, त्यसमाथि ज्योतिषीले अठ्चालीस वर्षको उमेरमा ठूलो खड्गो छ भनिदिएछन्।
मीराको मनमा ठूलो खड्गो गढेर बस्यो, जरा र हाँगा फैलाएर बडेमानको वृक्ष भयो। आखिर मीरा त्यही उमेरमा परलोक भइन्।
आफूलाई भविष्यबेत्ता मान्ने ज्योतिषीले तपाईंलाई जतिसुकै ठूलो रोग भए पनि चौरासी पूजा नगरी यमराजको नजर पनि पर्दैन, ढुक्क हुनू भनिदिएका भए मीराको जीवन के हुन्थ्यो होला!
ऊ कहिलेकाहीँ यस्ता कुरा सोचिबस्छ।
धन्य हुन् सुकदेवनाथका ज्योतिषी जसले उनलाई जीवन दिए। ती ज्योतिषीलाई लाख सलाम!
छाब्दी बाराहीको उत्पत्ति, गाउँले दिदीबहिनी मादी र सेतीको दमौलीमा भेट, चराको वेशमा बसेकी छिम्केश्वरी माई, चुम उपत्यकाको श्याग्मा परम्परा नियात्रा कथाभित्रका कम्ता रोचक उपकथा होइनन्।
जनैपूर्णिका दिन मेला लाग्ने ‘खयरभारानी’ हरू त दिदीबहिनी नौ जना रे! जेठी खयरभारानी भइहालिन्। अनि क्रमशः माहिली तालबाराही, साहिँली पेरीभारानी, काहिँली मणिभारानी, ठाहिँली गोर्से भारानी, राहिँली कालीभारानी, ठूलीकान्छी श्रीभारानी, अन्तरीकान्छी किमोबोटकी भारानी र सानी कान्छी नाकाजीभारानी रे।
राजेन्द्रले नलेखेका भए यी दिदीबहिनी उसले कहाँ चिन्थ्यो र!
‘यात्राका पाइला’ र ‘पैतालामा हिउँ आँखामा हिमाल’ हुँदै ‘बादलडाँडा’ मा पुग्दा इतिहास, पुराण र जनश्रुतिका उपकथा हाल्न खप्पिस भएछन् राजेन्द्र।
‘पैतालामा हिउँ आँखामा हिमाल’ पढ्दा ऊ ठाउँ/ठाउँमा कविता पढ्दैछु कि भन्ने भ्रममा परेको थियो। उनको लेखनका विम्ब र प्रतीकहरूले उसको मन छोएका छन्। उनको यात्रामा आकाश छ्याङ्ग हुन बादलहरू बसाइ सर्छन्। उनी हेलम्बुलाई स्वर्गतुल्य देख्छन्, त्रिशूलले पहाडको नाक छेडिएको देख्छन्।
चर्मचक्षु सबैका उस्तै भए पनि दृष्टि फरक–फरक हुँदोरहेछ क्यारे!
पर्यटनका रेशम कीरा जस्तै लाग्छन् राजेन्द्र। अब त जूनकिरी पर्यटन रे!
चीनको वुहान सहरको एउटा पार्कमा जूनकिरीको चमक हेर्न सिजनमा लाखौं पर्यटक आउँछन् रे। यता हाम्रोमा जूनकिरी मासिने क्रममा छ। देशमा राजनीतिको रौनक छ, नेताहरूबीच सत्ताको हानाथाप छ। कर्मचारीतन्त्रलाई तिनकै रमिता छ। जूनकिरी छू मतलब!
राजेन्द्रको लेखनशैली, काव्यात्मक प्रवाह, सरल शब्दहरूको संयोजन र थोरै शब्दका वाक्यको त ऊ प्रशंसक नै हो।
उनका केही शब्दमा ऊ अलमलमा छ। वर र पिपल समास भएर बनेको मानिने ‘वरपिपल’ किन ‘वर–पिपल’ भएको होला! आफ्नो आफ्नो शब्दको द्वित्व भएर बनेको ‘आआफ्नो’ किन ‘आ–आफ्नो’ बनेको होला’
वाक्य गठनमा पनि धेरै ठाउँमा ऊ अलमलमा पर्छ। किन होला भन्ने खुट्याउन नसकेर अवाक हुन्छ। ‘झोलालाई यथास्थानमा राखेर छरिन्छौँ हामी चौरमा’ वाक्यमा ‘झोला’ सँग ‘लाई’ किन जोडेको होला!
‘अर्बौंको विदेशी रक्सी आयात गरेर स्थानीय उत्पादन नष्ट गर्नुको औचित्य बुझ्दिनँ म’ वाक्यमा ‘म’ आउनुको कारण म पनि बुझ्दिनँ। प्रत्यक्ष कथनमा प्रयोग भएका चिह्नमा पनि ऊ घोर अलमलमा परेको छ।
राजेन्द्र लेखनमा कर्तृवाच्यका प्रेमी छन्। जहाँ अकर्तृ वाच्य लेखेका छन् त्यहाँ पनि ऊ अलमलमा पर्छ। ‘...उनलाई मत्स्यगन्धा नामले पुकारियो’ हो कि ‘...उनी मत्स्यगन्धा नामले पुकारिइन्’ हो!
शब्द र वाक्यका यी कुरा मसिना किसिमका हुन् तर बेवास्ताका होइनन् भन्ने ऊ ठान्छ।
शतप्रतिशत शुद्ध सुनको गहना बन्दैन। राजेन्द्र गहना बन्न योग्य सुन हुन्। नियात्रामा जाज्वल्यमान् कलम हुन्। उनको कलम अझै सशक्त बन्दै अघि बढोस्। साहित्यको नियात्रा विधा झन्झन् चम्कियोस्।