सन् १९२१ जुलाई १ मा स्थापित चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले १०२ वर्ष पार गरिसकेको छ। सीपीसी वर्तमान विश्वमा सबैभन्दा ठूलो राजनीतिक पार्टी हो। अनि ७४ वर्षदेखि अविछिन्न सत्तारूढ दलका रूपमा यसले इतिहास सिर्जना गरेको छ।
सीपीसीका ९ करोड २० लाख सदस्य छन्। १ अर्ब ४० करोड जनसंख्या भएको चीनमा ६ प्रतिशत हारहारी चिनियाँ नागरिक मात्र सीपीसीका सदस्य रहेका छन्। सीमित चिनियाँहरू सीपीसीका सदस्य रहे पनि आम चिनियाँमा सीपीसी अत्यधिक लोकप्रिय छ। सरकारप्रति जनताको सन्तुष्टिदर अनि सत्तारूढ दलको लोकप्रियता थाहा पाउनलाई विश्वका विभिन्न देशमा सर्वेक्षण हुने गर्दछ। अमेरिकी हार्वर्ड विश्वविद्यालयले सन् २००३ देखि २०१६ सम्म गरेको सर्वेक्षणबाट सीपीसी र चिनियाँ सरकार विश्वका अन्य मुलुकभन्दा अत्यधिक लोकप्रिय रहेको तथ्य प्रकाशित भएको हो।
हार्वर्डको प्रजातान्त्रिक शासन तथा आविष्कारका लागि एश केन्द्र (एश सेन्टर फर डेमोक्याट्रिक गभर्नेन्स एण्ड इनोभेसन्) ले सन्२०२० को जुलाईमा 'सीपीसीको लचिलोपन बुझाइ : समय मार्फत चिनियाँ सार्वजनिक राय सर्वेक्षण' (सर्वेइङ चाइनिज पब्लिक ओपिनियन थ्रु टाइम)' शीर्षकमा प्रतिवेदन जारी गरेको हो।
तल्लो तहका चिनियाँ अधिकारीहरू 'धनीहरूको पक्षपोषण' र 'आफ्नो स्वार्थमा केन्द्रित' नभएर 'समस्या समाधान गर्न' र 'सामान्य मानिसहरूका कठिनाइहरूमा केन्द्रित' रहेकाले अत्यधिक चिनियाँले सीपीसी र सरकारप्रति सन्तुष्टि व्यक्त गरेको प्रतिवेदनले औँल्याएको छ।
अनुसन्धान संस्थाले चिनियाँ जनमतको सबैभन्दा लामो प्राज्ञिक अध्ययन गरेको जनाएको छ।
सहरी र ग्रामीण क्षेत्रहरूमा ३१ हजारभन्दा बढी व्यक्तिहरूसँग व्यक्तिगत अन्तर्वार्ता लिएर सर्वेक्षण तयार गरिएको थियो। सर्वेक्षणमा 'सबैभन्दा वस्तुपरक र मात्रात्मक विधिहरू' प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।
सन् २००३ पछि चीनका चारै तहका (काउन्टी, प्रिफेक्चर, प्रान्तीय र केन्द्रीय) सरकारहरूप्रति चिनियाँ नागरिकहरूको औसत सन्तुष्टिमा लगभग विश्वव्यापी वृद्धि रहेको कुरालाई सर्वेक्षकहरूले प्रतिवेदन सार्वजनिक गर्दा बताएका थिए।
सन् २०१६ मा ९३.१ प्रतिशत उत्तरदाताहरू सीपीसी र चीन सरकारसँग सन्तुष्ट रहेको बताएका थिए। सन् २००३ मा सीपीसी र चीन सरकारसँग सन्तुष्टिदर ८६ प्रतिशत मात्र थियो। यही प्रकारको सर्वेक्षण अमेरिकामा पनि भएको थियो।
'ग्यालप’ सर्वेक्षणका अनुसार अमेरिकामा सन्२०१६ मा ३७ प्रतिशत व्यक्तिले सरकारसँग सन्तुष्टि व्यक्त गरेका थिए। यो सन्तुष्टिदर सन्२००३ को ३९ प्रतिशतबाट २ प्रतिशत कम थियो।
उक्त प्रतिवेदनको निष्कर्ष के छ भने चीनका गरिब बासिन्दाहरूले आधारभूत स्वास्थ्य सेवा, सरकारी कल्याणकारी योजना र अन्य सार्वजनिक सेवाहरू प्रदान गर्न सरकार झन् प्रभावकारी भएको महसुस गरेका छन्। चिनियाँ नागरिकहरूले अझै पनि निरन्तर आय असमानता र जागिरको असुरक्षा जस्ता महत्वपूर्ण समस्याहरू रहेको महसुस गरे पनि धेरै जसोले सरकारी कामकारवाही सकारात्मक दिशामा गइरहेको र आफ्ना भौतिक कल्याणमा सुधारका लागि सरकारलाई श्रेय दिने गरेको प्रतिवेदनले निचोड निकालेको छ।
चिनियाँ नागरिकहरूले देशको भ्रष्टाचार विरोधी कार्यलाई दृढ समर्थन गरेको उल्लेख गर्दै सन् २०११ मा भ्रष्टाचारविरूद्ध लड्ने सरकारी प्रयासलाई ३५.५ प्रतिशत उत्तरदाताले अनुमोदन गरेका थिए। जबकि यो संख्या सन् २०१६ मा ७१.५ प्रतिशतमा वृद्धि भएको सर्वेक्षणले देखाएको छ।
सीपीसी र चीन सरकार आफ्ना नागरिकमा लोकप्रिय भइरहेका बेला अमेरिकी शासन व्यवस्था भने अनगिन्ती समस्यामा जेलिएको छ।
अमेरिकाले यतिबेला सामना गरिरहेको सबैभन्दा महत्वपूर्ण समस्या आय र सम्पत्तिको असमानता हो। अमेरिकी मध्यम वर्गको दीर्घकालीन पतन र उनीहरूको कुलीन वर्गमा विकास रहेको अमेरिकी गार्जियन अनलाइनमा बार्नी सेन्डरले एक लेख लेख्दै प्रकाश पारेका छन्।
सन् २०२२ मा, सीमित अर्बपतिहरूसँग अमेरिकी समाजको आधाभन्दा बढी अर्थात् १६ करोड अमेरिकीहरूको भन्दा बढी सम्पति छ।
आम्दानीको ४५ प्रतिशत हिस्सा शीर्ष १ प्रतिशत अमेरिकीमा थुप्रिएको छ। त्यहाँका ठूला निगमहरूका सिइओहरूले आफ्ना कर्मचारीहरूको भन्दा ३५० गुणा बढी सुविधा लिने गरेका छन्।
वालस्ट्रिट जर्नलले अमेरिकी नेशनल सेन्टर फर हेल्थ स्ट्याटिस्टिक्सको प्रतिवेदनको हवाला दिँदै अमेरिकीहरूको सरदर आयु दुई वर्ष घटेको जनाएको छ। सन् २०२० र २०२१ को कोरोना महामारीमा, अमेरिकीको सरदर आयु ७८.८ बाट घटेर ७६.१ वर्षमा झरेको छ। अमेरिकीको सरदर आयु यो अवस्थामा घटेको सन्१९९६ पछिको सबैभन्दा न्यून स्तर हो।
एकातिर सुविधा सम्पन्न अमेरिकाको यो हविगत छ भने चीनमा चाहिँ सीपीसी अझै लोकप्रिय हुँदै गएको छ। चीनमा सीपीसी लोकप्रिय भएको तथ्यलाई यसरी विश्लेषण गर्न सकिन्छ।
कोरोना महामारी बढेपछि विश्वमा सर्वत्र सरकार र सत्तारूढ दलप्रतिको विश्वासनीयता तथा लोकप्रियतामा व्यापक गिरावट आउँदा चीनमा चाहिँ सीपीसी र सरकारप्रतिको विश्वासनीयता तथा लोकप्रियता शिखरमा पुगेपछि अध्येताहरू यसको कारण खोज्न थालेका छन्।
सन् २०२० को सुरूमा कोरोनाले चीनलाई गाँजिरहेका बेला केही अमेरिकी प्रोफेसरहरू चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सत्ता धरापमा परेको भन्दै कथित विश्लेषण गरिरहेका थिए। उनीहरूले चीनबाट कम्युनिष्ट सत्ता नै ढल्ने सम्मका भविष्यवाण पनि गरेका थिए। तर त्यही अमेरिकी विश्वविद्यालयले गरेको सर्वेक्षणमा सीपीसी र चिनियाँ सरकारको लोकप्रियता विश्वमै सबैभन्दा उच्च रहेको देखाएकापछि कतिपय अमेरिकी राजनीतिक विश्लेषकहरूका भनाइ पूर्वाग्रही र आधारहिन भएको पुष्टि भएको छ।
राजनीतिमा सामान्यत: नयाँ सत्ता र नयाँ सरकार पुरानोभन्दा लोकप्रिय हुने गर्दछन्। नयाँप्रति आलोचना गर्ने र असन्तुष्टि जनाउने प्रश्वस्त आधारहरू बनिसकेका हुँदैनन् तर पुरानाप्रति मान्छेहरू दिक्क भइरहेका हुन्छन्। तर पनि एक सय वर्षभन्दा लामो इतिहास बोकेको सीपीसी चीनमा दिनदिनै अझ बढी लोकप्रिय हुनुपर्ने खास कारण के हो? अझ यो पार्टी विगत ७४ वर्षदेखि चीनको सत्ता समालेर बसेको छ। यसका केही रहस्य छन् जसलाई छोटकरीमा यहाँ चर्चा गरिएको छ।
पहिलो, प्राथमिकतामा जनता :
सीपीसी र चिनियाँ सरकारले जनतालाई सदैव प्राथमिकतामा राख्ने गरेको छ। जनतालाई प्राथमिकता राखेकै कारणले चीनमा कोरोना महामारी नियन्त्रण संभव भएको हो। सन् २०१२ मा सीपीसीको १८ औँ महाधिवेशनबाट महासचिवमा निर्वाचित सी चिनफिङले जहिल्यै पनि जनतालाई प्राथमिकतामा राख्नका लागि पार्टीका हरेक सदस्यलाई निर्देशन दिँदै आउनु भएको छ। उहाँले गर्ने हरेक सम्बोधनमा पनि जनतालाई प्राथमिकता दिएर काम गर्ने विषय समेटिएका हुन्छन्। गरिबी निवारणमा कुनै एउटा व्यक्ति पनि छुट्नु हुँदैन भन्ने सिद्धान्त लिएर चीनले काम गरेको छ। तसर्थ सीपीसीको लोकप्रियताको पारो शिखरमा पुगेको हो।
दोस्रो, गरिबी निवारण :
सी चिनफिङ सत्तामा आएको ८ वर्षमै चीनले ९ करोड ८९ लाख ९० हजार मान्छेलाई गरिबीबाट मुक्त गरेको छ। हरेक नागरिकले बाँच्न पाउने अधिकारलाई नै मानव अधिकार भनिन्छ र गरिबी निवारण गरेर चीनले विश्वमै उत्कृष्ट मानव अधिकार प्रदर्शन गरेको छ। सी चिनफिङ केन्द्रित सीपीसीको नेतृत्वमा रहेको चीन सरकारले हरेक नागरिकको स्वास्थ्य, शिक्षा, बिमा, रोजगारी, सामाजिक सुरक्षा, जेष्ठ नागरिकको संरक्षण जस्ता विषयलाई ग्यारेन्टी गरेपछि नागरिक खुशी र सरकार तथा सत्तारूढ दलप्रति सन्तुष्ट हुनु स्वाभाविक हो।
तेस्रो, भ्रष्टाचार नियन्त्रण :
सी चिनफिङ सत्तामा आउनासाथ उहाँले भ्रष्टाचार नियन्त्रणमा सून्य सहनशीलता अपनाउनुभयो। भ्रष्टाचार नियन्त्रणमा सी चिनफिङले सीपीसीकै उच्चस्तरका नेताहरूबाट काम थालनी गरेपछि भ्रष्टाचार गर्नेहरू तिलमिलाउन थाले। चिनियाँमा एउटा भनाइ छ भर्याङ र भ्रष्टाचार सधैँ माथिबाट बडार्नुपर्छ। यो चिनियाँ भनाइ सी चिनफिङको भ्रष्टाचार नियन्त्रणमा पूर्ण रूपमा लागु भएको देखिन्छ। चीनमा भ्रष्टाचार गरेर अमेरिका लगायतका विभिन्न देशमा लुकेका चिनियाँहरूलाई धमाधम स्वदेश फर्काएर कारवाही गरियो। कयौँ नेतालाई मृत्युदण्ड पनि दिइयो। भ्रष्टाचार नियन्त्रण भएपछि विकास निर्माणका काम तीब्र भए। जनताका निम्ति काम भए। सरकारी अनावश्यक खर्चमा व्यापक कटौति गरियो। यी सबै कामबाट जनताले राहत पाए र सीपीसी तथा चीन सरकारप्रति लोकप्रियता बढ्यो।
चौथो, सफल र सबल नेतृत्व :
सीपीसीको शतवार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सी चिनफिङले सीपीसीले मूलत: चारवटा वृहत सफलता प्राप्त गरेको औँल्याउनुभयो। उहाँले भन्नुभयो: 'सीपीसीले चिनियाँ जनताको मुक्ति र एकताका लागि संघर्ष गरेको छ। सीपीसीको नेतृत्वमा सशक्त चीन निर्माण भएको छ। सीपीसीको नेतृत्वमा सुधार र खुलापन अँगाल्दै चीनलाई चिनियाँ चरित्रको समाजवादी व्यवस्थामा हिँडाएको छ। र, सीपीसीको नेतृत्वमा चिनियाँहरूको आत्मविश्वास, आत्मभरोसा र आविष्कारले नयाँ युगमा चिनियाँ चरित्रको समाजवाद विकास भएको छ।' सीले औँल्याउनु भएका यी चारवटा वृहत सफलताका लागि सीपीसीको नेतृत्व सफल र सबल छ।
पाँचौँ, देशभक्ति भावना :
चीनले असंख्य घरेलु समस्यासँगै कयौँ वाह्य समस्यासँग संघर्ष गर्दै आएको छ। पछिल्लो समय अमेरिकी गठबन्धनले हङकङ, तिब्बत, सिन्च्याङ, दक्षिण चीन सागर, पूर्वी चीन सागर र ताइवान जस्ता विषयमा चीनमाथि लान्छना लगाउने, चीनको आन्तरिक मामिलामा खुलेआम हस्तक्षेप गर्ने, अन्तर्राष्ट्रिय जगतमा चीनको बदनामी गर्ने र चिनियाँ नागरिक तथा चिनियाँ उत्पादनलाई भेदभाव गर्ने प्रयास गरिरहेका छन्। यस्तो बेला समग्र चिनियाँलाई एउटै मालामा उनेर देशभक्तिको भावना पैदा गराउने काम सीपीसीले गर्दै आएको छ। सन्१९३१ देखि १९४५ सम्म सीपीसीकै नेतृत्वमा चिनियाँ जनताले जापानी अतिक्रमणका विरुद्धमा युद्ध गरेका थिए। सन्१९४९ मा नयाँ चीन स्थापना भएपछि पनि चीनले निरन्तर विदेशी हस्तक्षेपका विरुद्धमा युद्ध गर्दै आएको छ। सी चिनफिङले आफ्नो कार्यकालमै ताइवानलाई मातृभूमि चीनमा समाहित गराउने दृढ सङ्कल्प लिनु भएको छ। यी सबै कुरा चिनियाँमा भएको देशभक्तिको भावनाले गर्दा सफल भएको हो। सीपीसीले चिनियाँमा देश भक्तिको भावना विकास गराएको छ र त्यो विश्वका अन्य मुलुकमा कतै नभएको अनुपम मानिन्छ।
छैटौँ, विकास निर्माण :
आज जे छ, चीनमा छ। चीनलाई विश्वको कारखाना भनिन्छ। चीनले द्रुत गतिमा विकास गरेको एउटा उदाहरण यस प्रकार छ। सन्२०११ देखि २०१३ सम्म चीनले प्रयोग गरेको सिमेन्टको खपत अमेरिकाले विगत एक सय वर्षमा गरेको सिमेन्टको खपतभन्दा बढी थियो। भनिन्छ चीनले दिन दुई गुना रात चौगुना विकास गरिरहेको छ। चिनियाँहरू भन्छन् 'तपाईं चीनको कुनै पनि ठाउँमा ६ महिनापछि पुग्नुभयो भने विल्कुन नयाँ अनुभव गर्नु हुन्छ।'
यसको अर्थ हो चीनले द्रुत गतिमा गरिरहेको विकास निर्माण। अहिले चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ। केही वर्षमै अमेरिकालाई उछिनेर चीन विश्वको पहिलो ठूलो अर्थतन्त्र बन्नेछ। विश्वका ठूला विकासका उदाहरण सबै चीनमा छन्। चीनको भौतिक पूर्वाधारसँग कुनै पनि देशले प्रतिस्पर्धा गर्न सक्दैनन्। विकासले गर्दा आज विश्वमा चिनियाँको इज्जत, प्रतिष्ठा र मानसम्मान बढेको छ। विश्वकै सबैभन्दा धेरै वैदेशिक लगानी चीनले भित्र्याएको छ भने विश्वमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक पनि चीन नै बनेको छ। चिनियाँ पर्यटकहरू कम भएमा विश्वका धेरै देशको अर्थतन्त्र ओइल्याउने गरेको छ। विकासका प्रतिफल अरूलाई पनि बाँड्नका लागि चीनले बीआरआई महा अभियान अगाडि सारेको छ जसले विश्वमै विकास बाँडिरहेको छ। विकास भएर नागरिकको मानसम्मान बढेपछि सीपीसी र चीन सरकारप्रति चिनियाँ जनता खुशी र सन्तुष्ट हुने भइहाले।
सातौँ, सीपीसीको कडा अनुशासन:
जम्मा ६ प्रतिशत चिनियाँहरू मात्र सीपीसीका सदस्य रहेको कुरा माथि उल्लेख भइसकेको छ। यति लोकप्रिय पार्टीमा किन थोरै सदस्य? प्रश्न उठ्नु स्वाभाविक हो। सीपीसीको सदस्य हुन त्यति सजिलो छैन। सी चिनफिङले पनि सीपीसीको सदस्य बन्नका लागि दिनु भएको आवेदन ९ पटकसम्म अस्वीकृत भएको थियो।
दसौँ पटकको प्रयासमा मात्र उहाँ पार्टी सदस्य बन्न सफल हुनु भयो। पार्टीको सदस्य बन्नका लागि आवेदन दिएपछि त्यो व्यक्तिको पृष्ठभूमि, आनीबानी, पार्टीमा पुर्याएको योगदान, योग्यता र क्षमता लगायतका कुराहरू हेरेर निश्चित समयसम्म निगरानीमा राखिन्छ र मात्र सदस्यता स्वीकृत हुन्छ। सदस्य भइसकेपछि यसलाई कायम राख्न पनि उत्तिकै कठिन छ। सीपीसीको हरेक सदस्यले कडा अनुशासनको अनुसरण गर्नु पर्छ। जस्तो सुकै व्यक्ति सीपीसीको सदस्य बन्न सक्दैन।
थोरै गल्ती तथा कमीकमजोरी भएमा कारवाही सुरु भइहाल्छ। छानबिनमा परेपछि निलम्बन हुन्छ। एकपटक पार्टी सदस्यबाट निष्काशित भएपछि त्यही व्यक्तिले अर्कोपटक सदस्यता लिन सम्भव हुँदैन। जनताका निम्ति काम गर्नका लागि जनतासँगै रहनुपर्छ। जनताले भोगेका दु:खसुख आफ्नै जस्तो ठान्नुपर्छ। सीपीसीका महासचिव सी चिनफिङ चीनका राष्ट्राध्यक्ष पनि हुनुहुन्छ। उहाँ बेइजिङको सुखसयल छोडेर हरेक वर्ष चीनका फरक फरक दुर्गम क्षेत्रमा पुगेर जनताका कुरा सुन्ने गर्नु हुन्छ। गरिब जनताले के खान्छन्, कस्तो खान्छन्, उनीहरूको घर कस्तो छ, कस्तो ओछ्यानमा सुत्छन्, औषधि उपचारको सुविधा के कस्तो छ, शिक्षा तथा बिमा र सामाजिक सुरक्षाको प्रत्याभूति बुझेर उहाँ नीति बनाउनुहुन्छ। सी चिनफिङले पार्टीका सबै नेता तथा कार्यकर्तालाई जनतामा पुगेर उनीहरूको समस्या बुझ्नलाई निर्देशन दिने गर्नु हुन्छ। यदि कोही पार्टी सदस्य दुर्गम क्षेत्रमा जान नमानेमा, जनताका दु:ख नबुझेमा, भडि्कलो जीवनशैली अपनाएमा, पैसा अथवा पैत्रिक सम्पतिको तुजुक देखाएमा पार्टीको अनुशासन कारबाहीमा पर्दछ।
(मकालु प्रकाशन गृहले २०८० वैशाख १ गते सार्वजनिक गरेको चेतनाथ आचार्यको ‘नयाँ युगमा चीन’ पुस्तकको अंश।)