कविता पढ्नुमा मजा छ। किन छ भने त्यहाँ लय हुन्छ। शायद लेख्य साहित्यको सबैभन्दा पुरानो विधा कविता नै होला र आजपर्यन्त उत्तिकै जीवन्त छ।
कविता संग्रह 'टाँकघर' का स्रष्टा विनोद दाहाल वत्सका अनुसार गद्य कवितामा छन्द र लय आवश्यक छैन।
मेरो मत फरक छ, म ठान्छु कविता हुनुमा लयबद्धता छ र लयबद्धता हुनुमा कविता छ। छन्दले लय दिइहाल्छ, गद्यमा लय पो लय!
नदी पनि आफ्नो लयमा बग्छ। लय बिग्रेपछि नदी आफू त अस्तव्यस्त हुन्छ नै, भेटेसम्म वरिपरिकालाई पनि अस्तव्यस्त बनाउँछ। हावा र बादलका आफ्नै लय छन्। हवाईजहाज र पानी जहाजले हावाको लय भेउ पाउन सकेनन् भने के गति होला! लयविनाको लेखनको पनि त्यस्तै गति हुन्छ।
म गद्यमा लय खोज्छु, पद्यमा खोज्नै पर्दैन किनभने आफैं फेला पर्छ। मेरा लागि लय भनेको गेय हुनु मात्रै होइन।
लेखनको लय, शब्दको लय, प्रस्तुतिको लय, घटनाक्रमको लय– प्रिय पाठक! मैले कुरा प्रष्ट पार्न सकेँ कि!
अन्त्यानुप्रास त लयको एउटा अंग मात्रै हो। यसकारण म त अनुच्छेदमा पनि लय हुनु पर्छ भन्ने ठान्छु।
लेखन मात्रै होइन, एउटा व्यक्ति पनि लयबद्धतामा बढी व्यवस्थित हुन्छ भन्ने मेरो मान्यता छ।
मेरो विचारमा लयबद्धता नहुनु अस्तव्यस्त हुनु हो। अस्तव्यस्ततामा न मानिसको जीवन जीवनजस्तो हुन्छ न कविता कविताजस्तो। दुर्घटना हुन्छ।
'टाँकघर' का चालीस कवितामध्ये कति लयबद्ध भेटेँ त कति अस्तव्यस्त, कति कविता त कति अकविताजस्ता।
पैंतीस वर्षअघिको सिकारु समयदेखि आज कवि परिचय बन्दासम्मका कविताको एउटा संग्रहमा कविता र अकविता, लयबद्धता र अस्तव्यस्ताको मिश्रणलाई म किन अनौठो मानूँ!
आखिर कविसाथी विनोदले भनेकै छन्– वास्तवमा कविता भनेको के हो भन्ने मैले अझै पनि राम्ररी बुझेको छैन।
साँच्चै, मैले पनि बुझेको छैन। बुझ्ने गरी केही लगानी पनि गरेको छैन। पढ्दा कविता जस्तो लाग्यो भने मेरा लागि त्यही हो कविता।
भावविना त कविता हुने कुरै भएन। हुने भए पारशमणि प्रधानले 'कवि कविता होस्, कविता कवि होस्, तब पो कविता हुन्छ, शब्द थुपारीकन के हुन्छ? भाव भए पो हुन्छ' भनेर लेख्ने नै थिएनन् होला।
साँच्चै भनूँ, म त संग्रहको नाम 'टाँकघर' को साटो 'एक हुल कागहरू' राख्ने थिएँ। संख्यामा बीस जोडी कविता भए पनि मेरा लागि 'एक हुल कागहरू' र 'गुरु, गौरव र वेदान्त बमन' दुवै अजोडी कविता हुन्। कि, यी दुईको जोडी बाँधिदिए पनि होला!
कति कवितांशहरूमा टक्क आँखा अडिए, तिनले मन छोए। एउटा दृष्टान्त पेश गरूँ–
बास बसेको थियो समय
आज अगाडि बढ्यो
तिमीलाई छोडेर, मलाई छोडेर
हाम्रा हातभन्दा पर छ
हाम्रा आँखाभन्दा पर पुगेको छ
समय बलवान् हुन्छ भनेर बुढापाकाले त्यसै कहाँ भनेका हुन् र! अर्को ठाउँमा फेरि अडिए आँखा–
हातको बारुद धोऊ
फाल्सा फाल्सा रगत टेकेका
पैताला धोऊ
म बनाउँछु नयाँ नेपाल
परालका कुनिउँहरूमा...
यो अंशमा आँखा अडिँदा अनायासै मनमा अनेक प्रश्नहरूको भेल उर्लेर आयो। हाम्रा नेताहरूलाई बारुदका हात धुन केले छेकेको हो? रगतका फाल्सा टेकेका पैताला धुन केले छेकेको हो? छ महिनामा गरिसक्छौं भनेको काम पन्ध्र वर्षमा पनि किन नसकेको हो? ....इत्यादि।
कवि विनोदका सबै जसो कवितामा शालीनता र शब्द छनोटमा निकै गम्भीरता भेट्छु। बोधगम्यता उनको अर्को विशेषता हो। क्लिष्टता वा शब्दजाल उनको लेखनमा बर्जित छ। टाँकघरमा संगृहित कविताहरू यस्तै सरल तर भावप्रधान हुन् भन्ने मेरो निष्कर्ष छ। कतैकतै पोयो सानो ठूलो भएकोबाहेक टाँकघरको बुनोट खिरिलो मानेँ।
मनमा अलिकति असन्तोष पनि छ। नदी आफ्नो लयमा बग्छ नि नागबेली हुँदै। एकोहोरो भएर सिधा बगेको त नदीजस्तै नलाग्ने, नहरजस्तो बनावटी।
कवि विनोदका कविता पनि एकोहोरा! जब चार–छ, आठ–दस हरफमा भावको विविधता खोज्छु तब निराश भइजान्छु। पद्यको श्लोकजस्तो वा गद्यको अनुच्छेद जस्तो गर्न नसकिने हो र गद्य कवितामा! अडिन खोज्दा ठाउँ नै नपाइने।
अर्को कुरा पनि छ। पाठक आफैं पढोस्, आफ्नो बुताले अर्थ खोजोस्, शब्दहरू पर्गेलोस् तब पो मजा आउँदो हो। लामा भूमिका, विवेचना र शुभकामनाको विधि पुर्याउने परम्परागत पद्धति मेरो रूचि र प्राथमिकतामा कहिल्यै पर्न सकेन पारिजातको 'शिरीषको फूल' मा शंकर लामिछाने बाहेक।
'गौरी' खण्डकाव्यमा माधवप्रसाद घिमिरेको र 'म' नाटकमा बालकृष्ण समको मन्तव्य शब्दमा नापिरहनु पर्छ र!
शतप्रतिशत त यो दुनियाँमा के नै पो पाइएला र! खासमा शुद्ध सुन मात्रको त गहना नै बन्दैन। मेरा कविसाथी विनोदको 'टाँकघर' मेरा लागि मन छुने गद्य कविताको संग्रह हो। दोष कोट्याउने मानवीय स्वभावमा म अपवाद हुन सक्ने कुरै भएन।
पढेर आनन्दित भएँ। मुख्य गाँठी कुरा यही हाे, अरू तपसिलका।
विनोदजीले 'टाँटघर' सँगै 'अन्तरंग' पनि मेरा हात पारिदिएका हुन्। उनले यो कृति 'केही अग्रणी व्यक्तित्वहरूसँगको विमर्श' हो भनेका छन्, कविता होइन।
कृतिमा साँच्चै केही अग्रणी नामहरू छन् जो साहित्य, समाजसेवा, पेसागत कौशल लगायतमा सम्मानित हुन् तैपनि ओझेलमा थिए, छन्।
लेखकसाथी विनोदले त्यस्ता केही व्यक्तित्वमाथि प्रकाश दिएका छन्। उनीहरूका योगदानको बयान गरेका छन्। साँच्चै अन्तरंग, आत्मीय कुरा गरेका छन्।
विनोद पेसाले पत्रकार हुन् नि! उनले पत्रकारिता कर्मकै सिलसिलामा ती व्यक्तिहरूसँग 'अन्तरंग' गरेका थिए। आज पुस्तकका रूपमा खडा भएको छ।
विनोदका यी दुई कृति पछिल्ला हुन्। यसअघि त बालसाहित्यमा पनि कलम चलाएका छन्। आफ्नो जन्मभूमि ओखलढुंगाको राजनीतिक इतिहासमा नै उनका दुई वटा कृति प्रकाशित छन्। खण्डकाव्य लेखेका छन्। सहलेखनका कृति पनि प्रकाशित छन्। गजल र हाइकु पनि पो लेख्छन् त!
कविताकै रूप मानिने मुक्तकमा विनोदको कलम झन् तिखो छ। मुक्तक लेख्छन् र फेसबुकमा संख्या लेखेर पोस्ट गर्छन्। यो आलेख तयार गर्दैगर्दा उनको फेसबुक वालमा सबैभन्दा पछिल्लो थियो 'मुक्तक नं. २८६', लौ तपाईं पाठकका लागि यहीँ राखेको छु–
हात्ती दिन्छु भन्नेहरू भैंसी फुकाइदिन्छन्
भैंसी पनि लाहुरी मुर्रा आफ्नै गोठमा थुन्छन्
लोकल भैंसी एक मानेले कहिले ढुंग्रो भर्नु
काम लिइसकेपछि औकात देखाइदिन्छन्।
मुक्तकको पनि संग्रह प्रकाशन गर्ने बेला भइसकेछ। आशा गर्छु, कुनै दिन उनले यो काम पनि गर्नेछन्।
अर्को पनि आशा गर्छु, विनोदका थप कृतिहरू आउनेछन् र ती अझै सशक्त हुनेछन्– टाँकघर जस्तै खिरिला, चोटिला र अन्तरंग जस्तै गहकिला।