प्रिय दीपक दाइ,
सत् सम्झना!
पोखरा भन्ने वित्तिकै धेरै कुराको याद आउँछ। सबैभन्दा बढी याद त्यो समयको आउँछ जहाँ हामीले चियाको चुस्किसँगै अनेक अन्तरंग कुराकानी गरेर बितायौँ। आकाश नै खस्ने गरी परेको झरीका दिनहरूमा होस् वा मुटु ठिहिर्याउने जाडोका बर्फिला याममा होस्, हामी बेपर्वाह गफियौँ।
विन्ध्यवासिनी मन्दिर छेउका चिया अड्डामा बसेर साहित्य एवं कला चिन्तन गरेका ती गोधूलि साँझहरूको साह्रै याद आउँछ। यो सूर्योदयमा देशमा बसिरहँदा मलाई ती साँझका सम्झनाले अझै पनि सताइरहन्छन्। तपाईंका शब्दहरू मेरा कानमा अझै गुन्जिरहेका छन्।
त्यसबेला तपाईंले खुब रेडियो नाटक लेख्नुभयो। उतिबेलै पनि तपाईंका नाटकहरू प्रशस्त प्रयोगशीलताले भरिएका हुन्थे। मेरो कल्पनामा कहिल्यै नअटाएका पात्रहरूको भूमिका बहन गर्न पाउँदा म निकै रोमाञ्चित हुन्थेँ त्यो बेला। कहिले ग्रीकको दार्शनिक त कहिले अनौठो दुनियाँको पारलौकिक पात्र बनेर म पनि खेलेँ तपाईंको नाटकमा।
अहिल सम्झँदा रमाइलो लाग्छ। कहिलेकाहीँ अनायसै नाटकको कुनै संवाद याद आउँछ र छपक्क छोप्छ र भावुक हुन्छु। परार साल तपाईंले लेखेको 'यो कस्तो महाभारत' पनि पोखरामा मञ्चन भयो। धेरै दर्शकहरूले रुचाएको प्रतिक्रिया पनि पढ्न पाएँ। परदेशमा नभएर घरदेशमा भएको भए पनि मञ्चमा अवश्य देखिने थिएँ। परदेशमा हुनुको घाटा भनेको यस्तै बखतमा महसुस हुने रहेछ। धन्न प्रविधिको सहायताले घरदेशका कला साहित्यका खबर सुन्न पाइन्छ। यसमै भए पनि चित्त बुझाउने गर्छु।
तपाईंको उपन्यास आउँदैछ भन्ने समाचारले मलाई निकै खुसी बनाएको थियो। सायद कोरोनाको कारण प्रकाशनमा अलि ढिलाइ भयो क्यार। मित्र मोहन खड्काको पहलमा मैले मिथ्या हात पारेँ? जापानका पाठकहरूलाई पुस्तक पुर्याउने मोहनजीलाई धेरै धन्यवाद। तपाईंले धर्मको काम गर्नुभयो मोहनजी। फेरि-फेरि साधुवाद छ।
तपाईंका नाटकमा जस्तै नाटकीय कथावस्तु र उत्तिकै रोचक पात्रहरूले भरिएको रहेछ मिथ्या उपन्यास पनि। स्वैरकल्पनिक प्रयोगको अच्छाखास्सा नमुना बनेको छ यो उपन्यास। कल्पनाको अनन्त आकाशमा पाठकलाई सयर गराउन सफल छ यो उपन्यास। त्यसो त प्रयोग नै साहित्य हो र साहित्य नै प्रयोग हो। मिथ्यामा तपाईंले गरेको प्रयोग उत्कृष्ट छ। प्रयोगधर्मी उपन्यासमा रुचि हुनेले तपाईंको उपन्यासलाई पक्कै मन पराउनेछन्। उपन्यासको धार सामाजिक यथार्थवादी होइन। यो मानव मनोविज्ञानको यथार्थ नजिक भएको उपन्यास हो भन्ने लाग्यो।
तपाईंको लेखाइलाई हेरेर मनमा अनेक खालका विचारहरू मडारिन थाल्छन् जसरी जगत मिथ्याको आकाशमा बादल मडारिएको थियो। अनि एकछिन गम्न मन लाग्छ- मानिसलाई उसको व्यवहारिक र सृजनात्मक क्रियाकलापलाई निर्देश गर्ने मनमा कल्पनाका चित्रहरू कसरी उत्पन्न हुन्छन्? मानसपटलमा यी चित्रहरूको संरचना कस्तो हुन्छ? यी चित्रहरू सत्य हुन् वा मिथ्या?
अनि आफ्नै अन्दाजमा अड्लक पनि गर्छु- कल्पनाका आफ्नै प्रक्रियाहरू होलान्। त्यसमा वाद, प्रतिवाद र संवाद पनि होलान्। अनेक धारणा होलान्। स्मृतिका पदचाप होलान्। चिन्तनका चिन्हहरू होलान्।
फेरि गम्न मनलाग्छ- देखेका सबैथोक सत्य छन् त? कुनै व्याख्याले वस्तुको निश्चित, आवश्यक विशेषताहरूको पहिचान गर्न सक्ला त? के त्यस्तो कुनै मानक होला त?
अनि फेरि अड्कल गर्छु- वस्तुको सीमा होला तर कल्पनाको कुनै सीमा छैन। यथार्थ भनेको कुनै छायाजस्तो पनि होला। लहराउँदै आउँछन् र लहराउँदा लहराउँदै अलप भएर जान्छन्।
मिथ्यामा सामाजिक मनोविज्ञान र कल्पनाको उच्च संयोजन छ। रहस्य छ। रहस्यले पाठकलाई भड्कन दिँदैन। अन्त्यसम्म बाँधेर राख्छ। महोदत्त, सापेक्ष, तोरणघाटको बुढो माझी, श्रापित यक्षणी, लाचिदा, आदि पात्रहरू आँखै अगाडि आएर बात मार्न खोज्दछन्। भो बोल्दिनँ भने पनि बोल्न बाध्य बनाउँछन्। भो सोच्दिनँ भने पनि सोच्न बाध्य बनाउँछन्।
कतै पात्रका अत्यासलाग्दा विरह छन् भने कतै प्रवृत्तिमाथिको चर्को व्यंग छ। घरी लाग्छ म पूराण पढिरहेको छु त घरी लाग्छ म कार्ल मार्क्सलाई भेटिरहेको छु। यस्तै-यस्तै असामान्य र अचम्मको दृश्य एवं वातावरणले मलाई पनि मिथ्याको पठन अवधिभर रत्याइरह्यो। कुनै मातलाग्ने चिज पिएको मान्छेझैँ म पनि मात्तिरहेँ। एउटै उपन्यासको क्यानभासभित्र पनि अनेक रंगका पात्र अटाएका छन्। र एउटै पात्रको भूमिका पनि अनेक रंगमा उपस्थित भएको छ।
जगतमिथ्याको भूतपूर्व कविको परिचयबाट सुरु भएको मोहदत्तको भूमिका एउटा कथा वाचक अनि जीवनप्रतिको बैराग्य अघोरीसँगको भेटले बदलिएको जीवन र हाकिम कुम्भोदरसँगको एउटै घटनाले ऊ एउटा संदिग्ध र स्वयम् रहस्यको पात्रमा परिणत हुन पुगेको छ। मोहदत्तलाई खोजी पक्राउ गर्न आएको सापेक्षको नियति नै कथाको मुख्य अंग हो। अन्त्यमा मिथ्या कथालाई अनादि नामको अर्को पात्रले आफ्नो भनि दावी गर्छ जो वास्तवमा सत्यकथा लेख्ने अठोटका साथ आएको थियो।
यवण कतै मेरै गाउँको साथी हो कि जस्तो पनि लाग्छ। कयौँ ईशापुत्र आफ्नो परिवारको सदस्यलाई खोज्दै भौँतारिएका होलान् आज पनि। मैले पनि कुनै क्षणमा उनीहरूलाई भेटेको हुनुपर्छ। अस्तित्व भनेको कतै हाम्रै भौतिक दुनियाँ त होइन वा भुलभुलैया हामीले बुझ्न नसकेक आधा संसार पो हो कि? मनमा अनेक प्रश्नहरूले मलाई घेरिरहे।
हरेक पात्रका आ-आफ्ना नियति छन्। जस्तो मानिसले आफूले सोचेकोभन्दा फरक नियति जीवनमा भोग्न बाध्य हुन्छन्। त्यसै श्रापित यक्षणी होस् वा तोरणघाटको बुढो माझी, सुन्दरे होस् वा धुवाँ साहिँला आफ्नो जीवनमा अनपेक्षित परिणति भोग्न बाध्य छन्। लाग्छ उपन्यास यस्तै-यस्तै भोक्ताहरू गाथा हो। जो हाम्रो आफ्नै जीवनमा पनि कुनै मोड बनेर होस् वा कुनै आकस्मिक घटना बनेर आइरहेका हुन्छन्। या त हामी नै भोक्ता भई कुनै पात्रजस्तै बाँचिरहेका हुन्छौँ।
उपन्यासमा एउटा मूल कथा भए पनि अन्य पात्रहरूले आफ्नै उपकथा बोकेका छन्। ती उपकथाहरू आफैमा पृथक मात्र नभइ पूर्ण पनि छन्। मूल कथासँग घरी जोडिएजस्तो लाग्ने घरी अप्रासंगिकजस्तो लागे पनि तिनले उपन्यासमा पाठकलाई बेग्लै स्वाद र सन्तुष्टि दिन सफल भएका छन्। कतिपय उपन्यासको कथावस्तु बलियो भए पनि कथाको अन्त्य कमजोर हुने गर्छ। उपन्यास पढ्दै जाँदा यसको अन्त्य कसरी होला भन्ने मनमा खुलदुली पनि थियो। तर जुन तरिकाले यो कथाको अन्त्य भयो त्यो एक सुन्दर दर्शनका साथ भयो। उपन्यासको दार्शनिक अन्त्य हुनु गज्जबको कुरा हो।
कतिपयले मिथ्यालाई जटिल भनेको पनि सुनेँ। तर मलाई भने तपाईंको यो जटिलता नै मन पर्यो। सरल भन्दैमा सुन्दर र जटिल भन्दैमा कुरुप हुने होइन। कलविहीन सरलताभन्दा कलायुक्त जटिलताले नै साहित्यलाई समृद्ध बनाउँछ। तपाईंको उपन्यासको जटिलता सुन्दर छ। कथवाचनमा फरक शिल्प-शैली, विषय र प्रयोगले मिथ्यालाई एक अब्बल र पठनीय उपन्यास बनाएको छ। प्रयोधर्मी उपन्यास पढ्न रुचाउने पाठकले यसलाई पढ्न छुटाउने छैनन्।
परदेशबाट सम्झनास्वरुप यति नै लेखेँ। तपाईंले लेखन निरन्तर रहोस्। शुभकामना व्यक्त गर्दछु। मिथ्या उपन्यासकाप्रति अनेक टिप्पणीहरू आए होलान् तर तपाईं ढुक्क हुनुहोस् प्रिय दाइ- तपाईंको लेखन मिथ्यामा सार्थक भएको छ।
परदेशबाट
उही तपाईंको भाइ
रबिन शर्मा।