सुनजस्तो परालमा मिलिजुली साथी
घुम भाइ हो बरादो बहरका ताँती
माड न भाइ हो बरादो सुनजस्तो धान
सुनजस्तो धानभित्र चाँदीजस्तो फल
ह...ह....ह...
जब मंसिर सकिन्छ अनि पुसको ठिही सुरू हुन्छ। किसानको फेरि अर्को धपेडी सुरू हुन्छ। दाइँको धपेडी। हाम्रो खेतमध्ये ठूलो खेत हो–हैकले।
घरबाट अन्दाजी ३–४ मिनेट हिँडेपछि उक्त खेतमा पुगिन्छ।
हैकलेको दाइँ भनेपछि हामी केटाकेटीलाई खुब रमाइलो लाग्थ्यो। दाइँ सुरू हुनुभन्दा पहिले नै परालको कुन्यूमाथि चढेर घाम ताप्ने।
गोरू धपाउने निहुँमा बुवाको आँखा छलेर परालमा घुगुती खेल्ने, पिउरी निकालेको ठाउँमा गएर परालभित्र छिर्ने, राति घरमा गएर दाइँ भात खाने लगायतका कुरा सम्झेर अहिले त मन पुलकित हुन्छ भने केटाकेटी उमेरमा हुने दाइँको रमाइलोको लेखाजोखा नै छैन।
कामको बाँडफाँट
हैकलेमा प्रायः राति दाइँ हुन्थ्यो। दाइँमा परिवारका सबै जनालाई फरक– फरक काम तोकिदिनुहुन्थ्यो बुवाले। बुवाले फलानो दिन दाइँ गर्ने भनेपछि हामी सबैले आ–आफ्नो भूमिका बुझिहाल्थ्यौं। मम्मी, दिदी र बहिनीको काम खानपिनको प्रबन्ध मिलाउने। दाइ र मेरो काम गोरू जम्मा गर्ने। अनि सम्पूर्ण व्यवस्थापकीय काम बुवाको।
दिउँसैदेखि काममा
गाउँघरतिर दाइँ सामान्यतया साँझ ४–५ बजेपछि मात्र सुरू हुने भए पनि बुवाको व्यवस्थापन भने अलि फरक थियो। २–३ बजेबाटै गोरू जम्मा गर्नुपथ्र्याे।
दाइँ सुरू हुनुभन्दा ४–५ दिनअघि नै बुवा दाइँका लागि खलो तयार गर्नुहुन्थ्यो। दाइँ गर्नका लागि स्थान चयन गरेर खेतको गरामा भएका धानका ठोसा निमिट्यान्न पारी काटेर सफाचट पारेपछि खलो तयार हुन्छ।
दाइँको अघिल्लो दिन बुवा खलो बढारेर चिटिक्क पार्नुहुन्थ्यो। मम्मीले पनि बुवालाई सो काममा सघाउनु त हुन्थ्यो तर मम्मीलाई कामको धपेडीले गाह्रो होला भन्ने पीर बुवालाई। त्यसैले धेरै काम त आफैं गर्नुहुन्थ्यो अनि अलिक हल्का–हल्का प्रकृतिका काम मम्मीलाई लगाउनुहुन्थ्यो।
अघिल्लो दिन बुवाले खलोमा मियो गाड्नुहुन्थ्यो। मियो भनेको दाइँको बेला गोरुहरूलाई बाँध्ने ठूलो अनि अग्लो किला हो।
अघिल्लो दिनमै दयेँरेहरूलाई पुनः कन्फर्म पनि गर्नुहुन्थ्यो।
दयेँरे नआइकनै मेरो काम सुरू
बुवाको कामप्रति असाध्यै लगाव। काममा नो कम्प्रमाइज उहाँको। रातको दाइँ भए पनि डेढ जुवा घाम छँदै गोरु जम्मा गर्नुहुन्थ्यो। अरू दयेँरेहरू आउनुभन्दा १ घन्टाअघिदेखि नै मेरो ड्युटी सुरू हुन्थ्यो। ड्युटी थियो– गोरु धपाउने।
घुगुती खेल्न नपाइ
जब दयेँरे आउँथे, कुन्यूको पराल होमिँदै जान्थ्यो। अनि परालले अलिक बाक्लो हुन्थ्यो खलोको भुइँ। त्यतिबेला मेरो मनमा घुगुती खेल्ने हुटहुटी बढ्दै जान्थ्यो। त्यसका लागि ३ वटा अवस्था मिल्नुपर्थ्यो।
पहिलो, अर्को मान्छेले गोरु धपाउने काम निरन्तर गर्नुपर्यो ताकि होमिएको परालमा टाउको टेकेर जिउले एक बल्ड्याङ हान्दा आफ्नो गोडा गोरुको टाङ्मुनि नपुगोस्। यदि त्यस्तो भयो भने गोरुले लात्ताले बजाइहाल्छन्। दोस्रो, बुवाका आँखा मैले घुगुती खेल्न लागेको ठाउँतिर नपरेको हुनुपर्यो। यदि त्यस्तो भयो भने कामबाटै बिदा हुनुपर्ने अवस्था आउन सक्थ्यो।
तेस्रो, कान्छा दाइ (यमबहादुर भुजेल ) लगायतका दयेँरेले ‘हुन्छ उत्तम’ भनेको हुनुपर्यो। कान्छा दाइले मलाई यस्तो चकचकको अनुमति दिनुहुन्थ्यो। यमबहादुर भुजेललाई हामी कान्छा दाइ भन्थ्यौं।
शायद उहाँको परिवारको कान्छो सदस्य भएर होला तर मनले उहाँ हाम्रै घरको सदस्य हुनुहुन्थ्यो।
हो...हो... दाइँ बरादो हो...हो... ।
माली गाईको बाजे
पुतली गाईको नाति
हिँड्न लागे मेरो भाइ बरादो
धान परालमाथि ।
मेरो चकचक
अँ बच्चा न परेँ, बुवाको आँखा छलेरै घुगुती खेल्थेँ। २–३ चोटिभन्दा धेरै खेलेको पत्ता पाउनुभयो भने गाली खानुपथ्र्यो। जब म आँखा छलेर घुगुती खेल्न लाग्थें, धपाउने मान्छे नै नभएपछि गोरुहरू रोकिन्थे। अनि सँगसँगै रफ्तारमा गइरहेको दाइँ पनि। अनि उहाँले थाहा नपाउने कुरै भएन। जब आँखा छलेर खेल्दै हुन्थें,२–३ बल्ड्याङ खाइसकेपछि हल्का रिङ्गटा चल्थ्यो र हुत्तिएर गोरुको छेउ पुग्थेँ। कुनै गोरुले लात्तले हान्थ्यो पनि। कहिलेकाहीँ भित्तामा ठोकिन्थ्यो पनि। तर चुपचाप सहनुको विकल्प हुँदैनथ्यो।
बच्चामा एकदमै चकचके मेरा लागि १ रातको दाइँ कटाउन ठूलै अनुशासनको कक्षा लिएको भन्दा चर्को पथ्र्याे ऊबेला। दाइँको दौरानमा गोरु रोक्न नहुने, गोरु हिँड्न छाडे भनेर पुछार निमोठ्न नहुने र पिट्न नहुने लगायतका नियम मेरै लागि बनेका थिए।
भुटेका मकै र चिया
पराल होमेर मोडिसकेपछि परालको पिउरी बनाउँदै भारी कस्ने काम सुरू हुन्थ्यो। भारी कस्ने समयभन्दा अघि खाजा खाने चलन। तर हामी गोरु घपाउनेहरूले चाहिँ दाइँ सुरू भएदेखि नै पाइन्ट वा कमिज–सुरूवालको गोजीभरि मकै भटमास हालेर काम गर्न पाइन्थ्यो। मकै भटमास चपाउँदै गोरु धपाइरहन्थ्यौं।
हो... हो... दाइँ बरादो हो...हो...
मियाँको गोलो
बाटुलो जुरी
बजैका रासमा
तीन सय मुरी
हो मेरा दाइँ बरादो हो... हो...
परालको भारी बाँधिसकेपछि रातको १२ बजेतिर घर गइन्थ्यो अनि भात खाइन्थ्यो। त्योबेलाको मासको दालको स्वाद र बास्ना मेरो मनमा अझै पनि ताजा छ। सुत्दा त्यही रातको १ जति बज्थ्यो। रात भन्ने कि बिहान भन्ने खै? अनि बिहान परालका भारी ओसारेर माँच तयार गरी दाइँ सकिन्थ्यो।
अब बुवाले दाइँको मियो गाड्नुहुने छैन
अहिले पनि पटक–पटक सम्झन्छु– त्यो बेलाको हैकलेको दाइँ अनि बुवाको मेहनत। दाइँ होस् या रोपाइँ। अघिल्लो दिनबाटै सुरू हुन्थ्यो बुवाको तयारी। रोपाइँ हुने दिनको अघिल्लो साँझ धानको बिउ काड्ने भनेर जानुहुन्थ्यो। हामी १ निद्रा निदाएर बिउझिँदासमेत आएको हुनुहुन्नथ्यो। मलाई थाहा छ–बुवा, अब तपाईं हैकलेको दाइँको मियो गाड्न आउनुहुने छैन न त रोपाइँमा धानको बीउ काड्न नै।
('बुबा' किताबको केही अंश)