खानाका विभिन्न परिकार पकाउन र अध्ययन गर्न रूचाउँछन् प्रशान्त खनाल।
नेवार समुदायकी आमा र ब्राह्मण समुदायका बुवामार्फत जन्मिएका उनलाई खानाबारे चासो बढाउने पहिलो ठाउँ घरै थियो। सानैदेखि दुई फरक संस्कृतिसँग नजिक उनले खानाका विविधता हुन्छन् भन्ने घरैबाट बुझे।
'मामाघरका सबै रक्सी, राँगाको मासु खाने अनि यता बुवाको घरमा केही नचल्ने। तर मेरो बुवा जे पनि खानुहुन्छ। आमा चाहिँ बाहुनजस्तो हुनुहुन्छ। मासु, रक्सी केही खानु हुँदैन,' उनले भने, 'म पनि छ्याङ चाखेर, मासु खाएरै हुर्किएको हुँ।'
यसबाहेक प्रशान्तका साथीहरू धेरै मगर समुदायका थिए। सुँगुरको मासु नचल्ने परिवारका भए पनि उनले साथीसंगतमा खान थाले। साथीहरूसँगै पौडी खेल्न जाँदा पाहा (भ्यागुता) मारेर खान सिके। त्यसले नजानिँदो पारामा उनलाई अन्य समुदायको खानामा चासो बढायो।
अलि बढी चाहिँ खानाको ब्लग लेख्न थालेपछि हो।
सन् २०१३ तिरको कुरा हो। प्रशान्त आफूले पकाएका नयाँनयाँ खानेकुरा कहिले साथीभाइ त कहिले परिवारलाई खुवाउँथे। खानेहरूले उनका पकवान मन मात्र पराएनन्, कसरी पकाउने भनेर रेसेपी सोध्न थाले। सुरूसुरूमा त उनलाई रमाइलै लाग्यो। पछि धेरैले सोध्न थालेपछि दिक्क मान्न थाले।
अनि त्यसै साल उनले आफ्नो 'फूड ब्लग' सुरू गरे– द गुन्द्रुक डटकम।
यो ब्लग साइटमा विभिन्न समुदायमा पाइने खानेकुरा बनाउने रेसेपी हुन्छ। कुन ठाउँमा कस्तो खानेकुरा पाइन्छ भन्ने जानकारी पाउन सकिन्छ।
ब्लगमार्फत् सार्वजनिक लेखनमा अगाडि बढेका यिनै प्रशान्तको हालै किताब पनि आएको छ- टिम्मुर।
प्रशान्तको 'टिम्मुर' किताबसम्मको यात्रा ब्लगबाटै सुरू भएको हो।
'खानाका रेसेपी एक ठाउँमा लेख्छु अनि कसैले सोध्यो भने त्यही लिंक पठाइदिन्छु भनेर ब्लग सुरू गरेको थिएँ,' उनले सेतोपाटीसँग भने, 'त्यसको दुई–तीन महिनापछि महसुस भयो कि नेपाली खाना संस्कृतिबारे धेरै खोज–अन्वेषण भएकै छैन। अनलाइनमा पनि परम्परागत खानाबारे थोरै जानकारी रहेछ। ममः, थुक्पा, नेवारी खाना लगायतबाहेक अरू केही पाइन्थेन।'
त्यसले उनलाई शेर्पा, थारू, मैथिल, राई–लिम्बु लगायत विभिन्न समुदायमा के–कस्ता खानेकुरा छन् भनेर खोज्न थप जिज्ञासु बनायो। सबभन्दा बढी जिज्ञासु र चकित उनलाई किनेमाले बनाएको थियो।
किनेमा भटमासलाई 'फर्मेन्ट' गरेर बनाइने खानेकुरा हो। यो किराँती समुदायको प्रमुख परिकारमा पर्छ। यसको बासना यति कडा हुन्छ, भान्सामा किनेमा पाक्दा छरछिमेकले पनि थाहा पाउने प्रशान्त बताउँछन्।
'सुरूमा त मलाई यस्तो गनाउने खानेकुरा मान्छेले कसरी खान्छन् भन्ने लाग्थ्यो। तर किराँतीहरूलाई त यो सबभन्दा मीठो बासना रहेछ। एक जना लिम्बु दाइले किनेमाको बासनाले भोक जाग्छ भन्नु हुन्थ्यो। सुरूमा सुन्दा मलाई एकदम अचम्म लागेको थियो,' उनले सुनाए, 'हामीलाई के मनपर्छ र पर्दैन भन्ने हामीले हाम्रो जिब्रोलाई अभ्यास गराउँदै जाने कुरा रहेछ। त्यो कुरा मलाई किनेमाले सिकाएको हो। यसले मलाई खानाप्रति हेर्ने दृष्टिकोण परिवर्तन गरिदिएको थियो।'
सन् २०१०–०११ तिर इन्डोनेसिया जाँदा उनले 'तेम्पे' र जापानमा 'नाटो' देखेको थिए। तिनको स्वाद झन्डै किनेमाजस्तै थियो। पछि नेपालमा किनेमा देख्दा उनलाई लाग्यो– बाहिरका खानेकुराबारे मलाई धेरै थाहा छ। आफ्नै देशको भने थाहा रहेनछ।
यो कुराले उनलाई नेपाली खानाबारे खोज्न र लेख्न झनै प्रेरित गर्यो। जति खोज्दै गए, नयाँ–नयाँ परिकारबारे थाहा पाउँदै गए। ती परिकारबारे आफ्नो वेबसाइटमा राख्न थाले। केही पत्रपत्रिकामा पनि लेखे। पछि ती लेख जम्मा गरेर पिडिएफ बनाई साइटमा हाल्ने सोच बनाएका थिए।
केही साथीहरूले भने उनलाई फरक सल्लाह दिए, 'यति गरिसकेपछि त अलि राम्रो किताबै छाप न!'
त्यो सल्लाह उनलाई मन पर्यो। अनि उनले दुई–तीनवटा किताब प्रकाशकलाई इमेल गरे। फाइनप्रिन्टका अजित बरालले तत्कालै प्रतिक्रिया दिए। अनि उनको किताब यात्रा सुरू भयो।
प्रशान्तले पिडिएफमा किताब निकाल्ने भनेर खानेकुराका फोटा आफैं खिच्न थालिसकेका थिए। किताबै निकाल्ने भएपछि फाइनप्रिन्टले फोटोग्राफर नवीन बराल र गगन थापामार्फत थप फोटो खिचाएको छ।
फोटो खिँच्दाको पनि बेग्लै कथा छ, उनी भन्छन्, 'कति फोटा मेरो घरमा खिचिएको छ। मैले पकाउने र उहाँहरूले खिच्ने। तर दिनमा चार–पाँच परिकारभन्दा बढी पकाउनै नभ्याइने। खिच्न पनि उस्तै समस्या। अनि घरमा मात्र खिच्दा निरश देखिएला भनेर केही बाहिरका खाजाघरमा पनि खिचेका छौं।'
ब्लग र पत्रपत्रिकाका सीमित पाठकभन्दा बृहत हुन्छन् किताबका पाठक। किताबै लेख्ने भएपछि उनले आफ्नो अध्ययनको दायरा पनि फराकिलो बनाएका थिए। यो किताब खानेकुराको इतिहास र पृष्ठभूमिसँगै धेरै समुदायको प्रतिनिधि हुनुपर्छ भन्ने कुरामा उनको स्पष्ट धारणा थियो।
नेपालमा १२५ समुदाय छन्। ती समुदायका कति खाना समान छन्, कति फरक। एउटै समुदायमा पनि ठाउँअनुसार फरक पाइन्छ। ती सबलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्दा सुरूमा परिकारको सूची निकै लामो भएको थियो। तिनलाई १२ अध्यायमा विभाजन गरेर किताबमा राखिएको छ। फरक समुदाय भए पनि खानाहरू मिल्ने भएकाले उनीहरूलाई एकै अध्यायमा राखिएको छ। जस्तोः थारू र मैथिल, राई र लिम्बु। तीभित्र पनि १०–१५ खानेकुराका रेसेपी र सांस्कृतिक–सामाजिक पाटोबारे जान्न सकिन्छ।
अचार एकदम मन पराउने प्रशान्तले एउटा अध्याय अचारको मात्र राखेका छन्। त्यसमा हिमालदेखि तराईसम्मको अचारबारे जान्न सकिन्छ। विभिन्न अध्यायलाई नेपालको नक्साभित्र समुदायको भेषभुसासहितको तालिकामा राखिएको छ। हरेक अध्याय यस्तै कलात्मक चित्रबाट सुरू हुन्छ। किताबको कभरदेखि भित्री डिजाइन गरेका हुन् कलाकार उबाहाङ लिम्बुले।
यो किताब पूरा हुन झन्डै पाँच वर्ष लाग्यो। उनी भन्छन्, 'किताब लेख्नु भनेको गाह्रो काम रहेछ। मैले सोचेकै थिइनँ चार–पाँच वर्ष लाग्छ भनेर। एकदम अनुशासित भएर काम गर्यो भने त दुई वर्षमै सकिने काम थियो। तर म अरू ठाउँमा पनि काम गर्छु त्यसैले भ्याइएन।'
हुन त उनको किताब सन् २०१८ मै सकिएको थियो। आफैंलाई चित्त नबुझेपछि पुनर्लेखनमा लागे, समय लाग्यो। खानाबारे जान्न र लेख्न सबभन्दा महत्वपूर्ण कुरा मान्छेको उत्सुकता हो भन्ने प्रशान्त ठान्छन्। उनी आफैंले पनि खानाका धेरै रेसेपी साथीहरूका आमा वा नातागोतालाई सोधेर, युट्युब र अनलाइनमा हेरेर, पढेर र कति खाना महोत्सवमा गएर थाहा पाएका हुन्।
उनले एउटा उदाहरण दिँदै भने, 'एकदिन मैले मेरो शेर्पा साथीलाई आफू हुर्किँदा खाएको तर अहिले खान नपाएको खानेकुरा के हो भनेर सोधेको थिएँ। उसले फाल्गी भन्यो। त्यो खानेकुरा बौद्धमा खान पाइन्छ भन्ने जानकारी पाएँ। अनि त्यहाँ गएर मैले खाएँ। पकाउने विधि पनि सिकेँ।'
प्रशान्तले धेरै रेसेपी यसरी नै सिकेका हुन्। त्यसरी सोध्दै सिक्दा मान्छेहरूले झिँजो मान्नुको सट्टा 'तिमी अर्को समुदायको भएर पनि हाम्रो खानेकुरा कसरी थाहा पायौ?' भनेर झनै आत्मीय व्यवहार गरेको उनको अनुभव छ।
खानाको अध्ययन–अनुसन्धान गर्नु र लेख्नुबाहेक प्रशान्त वातावरण र दिगो यातायातका विषयमा काम गर्छन्। पत्रपत्रिकामा यसबारे पनि लेख्छन्। सन् २०१८ मा उनले पाटनमा 'रैथाने' नामक खाजाघर पनि खोलेका थिए। हाल कुपन्डोलको 'होस्टल नेक्स्ट डोर' भित्र सरेको यो खाजाघरमा उनले लेखेको किताबमा पढ्न पाइने धेरै समुदायका परिकार खान पाइन्छ।
टिम्मुर किताब लेखिरहँदा नै रैथानेको आइडिया फुरेको बताउने प्रशान्त भन्छन्, 'रैथाने सुरू हुँदा धेरैले नेपाली खाना यस्तो पनि छ भनेर अचम्म मान्नुहुन्थ्यो। मेरो उद्देश्य पनि यही थियो– परम्परागत र लोपोन्मुख खानेकुरा चिनाउनु।'
हालै प्रकाशन भएको टिम्मुरको उद्देश्य पनि यही हो। टिम्मुर आफैंमा खानेकुरामा स्वाद भर्ने सामग्री हो। खाँदा जिब्रो पर्पराउने यो फल औषधिका रूपमा पनि प्रयोग गरिन्छ। टिम्मुर नेपालका सबै समुदायले खानामा प्रयोग नगरे पनि एउटा विशेष र चाखलाग्दो फल हो भन्ने प्रशान्तलाई लाग्छ।
किताबको नामसँगै उपशीर्षक पनि छ– स्टोरिज एन्ड फ्लेभर्स फ्रम नेपाल। अर्थात् नेपालका कथा र स्वादहरू।
हाम्रा मौलिक खानेकुराका कथा र स्वादबारे भएकाले सबैलाई किताबप्रति रूचि नहोला तर यसबारे जान्न र बुझ्न खोज्नेका लागि टिम्मुर उपयुक्त भएको उनी ठान्छन्।
'मैले यो किताब विश्वभरका मान्छेलाई लेखेको होइन। सबैले घरघरमा पकाउन सकून् भनेर रेसेपीमा पनि स्थानीय सामग्रीकै विकल्प राखेको छु,' उनले भने, 'धेरै समुदायका खानाको प्रतिनिधित्व गर्ने यो पहिलो किताब होला सायद। नेपाली खाना संस्कृति कति विविध छ भन्ने यसबाट थाहा पाउन सकिन्छ।'
त्यसैले यसलाई उनी 'कुकबुक' मात्र मान्दैनन्। विभिन्न समुदायका खानाहरूको उत्सव मान्छन्। पाककला पढिरहेकालाई सन्दर्भ सामग्री हुन सक्ने पनि उनलाई लाग्छ।
नेपाली कुनाकन्दराका खानाबारे खोजबिन गरेपछि अब उनलाई प्रवासीहरूका खाना अध्ययन गर्ने मन छ।
'प्रवासीहरूले नेपाली खानालाई कसरी समृद्ध बनाए भनेर जान्न मन छ। तर यो मेरो सोच मात्र हो। यो किताब निकाल्नै त पाँच वर्ष लाग्यो। त्यसबारे त मैले केही थालेकै छैन,' उनले भने।