भारतीय क्लासिक फिल्म 'शोले' को रि-रिलिज संस्करण 'शोलेः द फाइनल कट' को पहिलो हप्ताको कमाइ डेढ करोड पुगेको छ।
फिल्मले पहिलो हप्ता भारतमा १ करोड ५० लाख भारू नेट कमाइ गरेको हो।
भारतीय संचारमाध्यमका अनुसार पहिलो दिन २० लाख कमाएको फिल्मले दोस्रो दिन ४० लाख भारू कमाइ गरेको थियो।
त्यस्तै, फिल्मले आइतबार सर्वाधिक धेरै ५० लाख भारू कमाएको जनाइएको छ। सोमबारदेखि बिहीबारसम्म प्रत्येक दिन १०–१० लाख भारूको व्यापार गरेको जनाइएको छ।
सन् १९७५ को ब्लकबस्टर 'शोले' लाई ५० वर्ष पुगेको अवसरमा डिसेम्बर १२ मा पुनः सिनेमा हलमा रिलिज गरिएको थियो।
फोर के र डब्ली ५.१ ध्वनी प्रविधिमा रूपान्तरित गर्दै नयाँ संस्करण ल्याइएको हो।
'शोले- द फाइनल कट' मा सन् १९७५ मा सेन्सरका कारण प्रदर्शन हुन नसकेको मूल अन्त्यसहित केही हटाइएका सिनहरू पनि समावेश गरिएको छ।
'शोले' भारतीय सिनेमा इतिहासकै चर्चित क्लासिक फिल्म हो। रमेश सिप्पी निर्देशित फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन, सञ्जीव कुमार र अमजद खानजस्ता दिग्गज कलाकारहरूको अभिनय छ। यसको पुनः प्रदर्शनले दर्शकहरूमा पुरानो याद ताजा बनाएको छ।
नेपालमा यो फिल्म गत मंगलबार रिलिज भएको थियो।