रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको हिन्दी फिल्म 'धुरन्धर' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
फिल्मले रिलिजको १२ औं दिनसम्म भारतमा ४ सय करोड भारूभन्दा माथि नेट कमाइ गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। स्पाइ एक्सन थ्रिलर यो फिल्मले दोस्रो हप्ताको पाँच दिनमा मात्रै २ सय करोड भारूभन्दा बढी कमाइ गरेको छ।
टाइम्स अफ इण्डियाका अनुसार मंगलबार १२ औं दिनमा पनि राम्रो प्रदर्शन जारी राख्दै फिल्मले अनुमानित ३० करोड भारू कमाएको छ।
फिल्मले दोस्रो हप्ताको विकेन्डमा मात्र १ सय ३५ करोड भारू कमाएको थियो। यो सफलता निकै कम फिल्मले मात्र प्राप्त गरेका छन्। फिल्मले १२ दिनसम्म भारतमा फिल्मले ४ सय ११ करोड २५ लाख भारू नेट (कुल ४९३ करोड) कमाएको छ।
आदित्य धर निर्देशित फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि बलियो प्रदर्शन जारी राखेको छ।
अन्तर्राष्ट्रिय बजारमा फिल्मले १ सय ३० करोड कमाइ गरेको जनाइएको छ। योसँगै विश्वव्यापी बक्स अफिस कलेक्सन अनुमानित ६२३.५ करोड भारू पुगेको अनुमान छ। 'धुरन्धर' मा रणवीर र अक्षयसहित आर. माधवन, संजय दत्त, अर्जुन रामपाल, सारा अर्जुन लगायतको अभिनय छ। नेपालमा समेत यो फिल्म प्रदर्शन भइरहेको छ।