दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत फिल्म 'जेलर' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
फिल्मले २० दिनमा घरेलु बक्स अफिसमा ३२२ करोड भारू नेट कमाएको छ। यतिबेला निर्माण टिम फिल्मको सफलता मनाइरहेका छन्। यसैबीच फिल्म विवादमा फसेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्ममा एक 'कन्ट्याक किलर'ले लगाएको जर्सीप्रति आपत्ति जनाइएको हो। उनले आरसिबी (रोयल च्यालेन्जर्स बैंगलोर) को जर्सी लगाएका छन्। कन्ट्याक किलरले बैंगलोर क्रिकेट टिमको जर्सी लगाएपछि दर्शकको भावनामा चोट पुर्याएको भन्दै उच्च अदालतमा उजुरी परेको थियो।
उक्त मुद्दाको सुनुवाइको क्रममा निर्माण टिमलाई १ सेक्टेम्बरसम्म आरसिबीको दृश्य हटाउन आदेश दिइएको छ। रोयल च्यालेन्जर्स स्पोर्टस कम्पनीले ब्रान्डको बदनाम गर्न खोजेको भन्दै उजुरी दिएको थियो।
नेल्सन दिलीपकुमारले निर्देशन गरेको फिल्ममा रजनीकान्तसँगै तमन्ना भाटिया, मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायत कलाकारको अभिनय छ।