दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत फिल्म 'जेलर' ले बक्स अफिसमा राम्राे कमाइ गरिरहेको छ।
फिल्मले १८ दिनमा विश्वभरबाट ६ सय करोड कमाएको छ। फिल्म विश्लेषक मनोबाला विजयबालनका अनुसार 'जेलर' ले विश्वव्यापी रूपमा ६०६ करोड २९ लाख भारू कमाएको हो। योसँगै ६ सय करोड क्लबमा समावेश हुने दोस्रो तमिल फिल्म बनेको छ।
यसअघि सन् २०१८ मा रिलिज भएको फिल्म '२.०' ले विश्वव्यापी रूपमा ७२३ करोड ३० लाख भारू कमाएको थियो।
अगस्ट १० देखि प्रदर्शन भएको फिल्म 'जेलर' ले घरेलु बक्स अफिसमा ३६१ करोड ५५ लाख भारू कमाएको छ। फिल्मलाई दक्षिण भारतमा निकै रूचाइएको छ।
नेल्सन दिलीपकुमारले निर्देशन गरेको फिल्ममा रजनीकान्तसँगै तमन्ना भाटिया, मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायत कलाकारको अभिनय छ।