बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' को ७ दृश्य काटिएको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार सेन्सर बोर्डले ७ दृश्य काट्दै युए सर्टिफिकेट दिएको छ। युए सर्टिफिकेट पाएसँगै १२ वर्षमुनिका बालबालिकाले अभिभाकको निगरानीमा फिल्म हेर्न पर्नेछ।
यो एक्सन फिल्म हो। धेरै हिंसाका दृश्य भएको हुँदा सेन्सर बोर्डले फिल्मको अवधि पनि घटाएको छ। यो फिल्म अब २ घन्टा ४० मिनेटको हुनेछ।
सेन्सर बोर्डले फिल्ममा समावेश टाउको काटेको लाशको दृश्यसहित केही संवाद परिवर्तन गर्न सुझाव दिएको छ। 'राष्ट्रपति' शब्द हटाएर 'हेड अफ स्टेट' राख्न बताएको छ।
एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।
फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन्।
जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।
हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ।