बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म 'गदर २' ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १० दिनमा भारतबाट ३७५ करोड १० लाख भारू कमाएको छ भने विश्वभरबाट ४३५ करोड १ लाख भारू कमाएको छ।
अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।
यो फिल्मले भारतीय बक्स अफिसमा विभिन्न रेकर्ड बनाइरहेको छ। यी हुन् 'गदर २' ले १० दिनमा बनाएका १० रेकर्डः
१) सनी देओलको करियरको सर्वाधिक ओपनर फिल्म
'गदर २' ले ४० करोड १० लाख भारूमा ओपनिङ गरेको थियो। योसँगै सनी देओलको करियरको सर्वाधिक ओपनर फिल्म बनेको छ। यसअघि सन् २०११ मा प्रदर्शन भएको फिल्म 'यमला पगला दिवाना' ले ७ करोड ९५ लाख कमाएको थियो।
२) भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने फिल्म
१५ अगस्तमा 'गदर २' ले बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको थियो। फिल्मले भारतको स्वतन्त्रता दिवसमा ५५ करोड ४० लाख कमाएको थियो भने सन् २०१२ मा प्रदर्शन भएको फिल्म 'एक था टाइगर' ले ३२ करोड ९३ लाख कमाएको थियो।
३) रिलिजको छैटों दिन तोड्यो 'पठान' को रेकर्ड
सन् २०२३ मा सर्वाधिक कमाइ गर्ने फिल्म शाहरूख खानको 'पठान' हो। तर फिल्म रिलिजको छैटौं दिन 'गदर २' ले ३२ करोड कमाउँदै 'पठान' को रेकर्ड तोडेको हो। 'पठान' ले रिलिजको छैटौं दिन २६ करोड भारू कमाएको थियो।
४) १० दिनमा यस दक्षिण भारतीय फिल्म तोड्यो रेकर्ड
एसएस राजामौलीको फिल्म 'बाहुबली २' ले दोस्रो आइतबार बक्स अफिसमा ३४ करोड भारू कमाएको थियो। दोस्रो आइतबार 'गदर २' ले ३८ करोड ९० लाख भारू कमाउँदै 'बाहुबली २' को रेकर्ड तोडेको हो।
५) सलमान खानको फिल्म 'सुल्तान' को तोड्यो रेकर्ड
सन् २०१५ मा प्रदर्शन भएको सलमान खानको फिल्म 'सुल्तान' बक्स अफिसमा हिट भएको थियो। यो फिल्मले रिलिजपछि लगातार ५ दिनसम्म बक्स अफिसमा ३० करोड भारू कमाएको थियो। 'गदर २' ले ६ दिनसम्म ३० करोडबढी कमाइ गर्दै 'सुल्तान' को रेकर्ड तोडेको छ।
६) ऋतिक रोशनको फिल्म 'वार' को तोड्यो रेकर्ड
सिद्धार्थ आनन्द निर्देशित फिल्म 'वार' ऋतिक रोशनको करियरको सर्वाधिक कमाइ गर्ने फिल्म हो। यसले भारतीय बक्स अफिसमा ३१७ करोड कमाएको थियो। सनी देओलको फिल्म 'गदर २' ले रिलिजको ९ दिनमै ऋतिक रोशनको फिल्म 'वार' को लाइफटाइम कलेक्सनको रेकर्ड तोडेको छ।
७) वर्षको दोस्रो हिट फिल्म
'गदर २' सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ। यसअघि शाहरूख खानको 'पठान' ले हिन्दी संस्करणमा पहिलो दिन ५५ करोड भारू कमाएको थियो।
८) 'गदर २' बन्यो दोस्रो सफल सिक्वेल
एसएस राजामौलीको फिल्म 'बाहुबली २' भारतीय बक्स अफिस ५१० करोड कमाएको थियो। सन् २००१ मा प्रदर्शन भएको फिल्म 'गदर' को २२ वर्षपछि सिक्वेल आएको हो। फिल्मको सिक्वेलले बक्स अफिसमा १० दिनमा ३७५ करोड १० लाख भारू कमाएको छ।
९) 'सञ्जु' को तोड्यो रेकर्ड
'गदर २' ले रणवीर कपूरको फिल्म 'सञ्जु' को रेकर्ड तोडेको छ। 'सञ्जु' ले बक्स अफिसमा लाइफटाइम ३४२ करोड भारू कमाएको थियो भने 'गदर २' ले ३७५ करोड कमाइ सकेको छ।
१०) ५ दिनमा २०० करोड कमाउने फिल्म
'गदर २' ५ दिनमा २०० करोड क्लबमा सामेल भएको हो। तर शाहरूख खानको फिल्म 'पठान' ४ दिनमै २०० करोड क्लबमा सामेल भएको थियो।