गत शुक्रबारदेखि बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २' प्रदर्शन भइरहेको छ।
यी दुवै फिल्मलाई भारतीय फिल्म समीक्षकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। भारतीय बक्स अफिसमा भने अक्षय कुमारको 'ओ माइ गड २' भन्दा सनी देओलको 'गदर २' अगाडि देखिएको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्म 'गदर २' ले पहिलो साता २८४ करोड ६३ लाख भारू कमाएको छ भने 'ओ माइ गड २' ले ८५ करोड ५ लाख भारू कमाएको छ।
४० करोड १० लाख भारूमा ओपनिङ गरेको फिल्म 'गदर २' ले दोस्रो दिन ४३ करोड ८ लाख, तेस्रो दिन ५१ करोड ७० लाख, चौथो दिन ३८ करोड ७० लाख र पाँचौ दिन ५५ करोड ४० लाख, छैटौं दिन ३२ करोड ३७ लाख र सातौं दिन २३ करोड २८ लाख भारू कमाएको हो।
यो फिल्म ८० करोड बजेटमा बनेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
१० करोड २६ लाख भारूमा ओपनिङ गरेको फिल्म 'ओ माइ गड २' ले दोस्रो दिन १५ करोड ३० लाख, तेस्रो दिन १७ करोड ५५ लाख, चौथो दिन १२ करोड ६ लाख र पाँचौ दिन १७ करोड १० लाख, छैटौं दिन ७ करोड २० लाख र सातौं दिन ५ करोड ५८ लाख भारू कमाएको हो।
अनिल शर्माले निर्देशन गरेको फिल्म 'गदर २' मा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।
सन् २००१ मा प्रदर्शन भएको 'गदर' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'ओ माइ गड २' मा पंकज त्रिपाठीलाई आस्तिक र अक्षयलाई भगवान शिवको सन्देशवाहकको रूपमा प्रस्तुत गरिएको छ।
अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ। सन् २०१२ मा प्रदर्शन भएको फिल्म 'ओ माइ गड' बक्स अफिसमा हिट भएको थियो। फिल्ममा परेश रावलले भगवानलाई अदालतमा मुद्दा हालेका थिए।