बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म 'गदर २' ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ।
फिल्मले प्रदर्शनको पाँचौं दिन पनि नयाँ रेकर्ड राखेको छ। 'गदर २' ले भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको छ। यसले सलमान खानको फिल्म 'एक था टाइगर' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।
सन् २०१२ मा प्रदर्शन भएको फिल्म 'एक था टाइगर' ले भारतको स्वतन्त्रता दिवसमा ३२ करोड ९३ लाख कमाएको थियो भने 'गदर २' ले ५५ करोड ४० लाख भारू कमाएको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार 'गदर २' ले पाँच दिनमा २२८ करोड ९८ लाख भारू कमाएको छ।
४० करोड १० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४३ करोड ८ लाख, तेस्रो दिन ५१ करोड ७० लाख, चौथो दिन ३८ करोड ७० लाख र पाँचौ दिन ५५ करोड ४० लाख भारू कमाएको हो।
'गदर २' सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ। यसअघि शाहरूख खानको 'पठान' ले हिन्दी संस्करणमा पहिलो दिन ५५ करोड भारू कमाएको थियो।
बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म 'गदर २' मा भारतीय सेनामा भर्ती भएका तारा सिंहका छोरा पाकिस्तान सेनाको कब्जामा पर्छन्। उनलाई सेनाको कब्जाबाट छुटाउन तारा सिंहले गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।
अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।
सन् २००१ मा प्रदर्शन भएको 'गदर' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।