पछिल्लो समय चर्चामा छिन् भारतीय अभिनेत्री मृणाल ठाकुर। तेलुगु फिल्म 'सीता रमम' हिट भएपछि उनको चर्चा चुलिएको हो।
फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्नुको साथै उनको अभिनयको तारिफ भयो।
उनले टेलिभिजन हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। उनले सन् २०१२ मा स्टार प्लसबाट प्रसारण हुने सिरियल 'ये खामोसियाँ' बाट अभिनयमा डेब्यू गरेकी थिइन्।
उनी सन् २०१४ मा मराठी फिल्म 'विट्टी दान्डू' मा देखिएकी थिइन्। बलिउडमा भने उनले ऋतिक रोशनको फिल्म 'सुपर ३०' बाट डेब्यू गरेकी हुन्।
मृणालले 'बाटला हाउस', 'जर्सी' र 'सुपर ३०' जस्ता बलिउड फिल्ममा पनि अभिनय गरिसकेकी छन्।
आफ्नो लामो अभिनय यात्रापछि उनले पारिश्रमिक बढाएकी छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार 'सीता रमम' हिट भएपछि उनले आफ्नो पारिश्रमिक बढाएकी हुन्। उनले 'सीता रमम' मा ८५ लाख भारू लिएकी थिइन्।
अब उनले आफ्नो पारिश्रमिक बढाएर २ करोड भारू लिने बताएकी छन्।
उनी पछिल्लो समय नेटफ्लिक्सको फिल्म 'लस्ट स्टोरीज २' मा देखिएकी थिइन्। अब उनी फिल्म 'पूजा मेरी जान' मा देखिनेछिन्। फिल्ममा उनीसँगै विक्रम सिंह चौहान, हुमा कुरेशी, इशान खट्टर, प्रियांशु पेन्युल, इशान खट्टरलगायत कलाकारको अभिनय छ।