बलिउड अभिनेता ऋतिक रोशन र प्रिती जिन्टा अभिनीत फिल्म 'कोइ मिल गया' पुनः रिलिज हुने भएको छ।
राकेश रोशनले निर्देशन गरेको फिल्म 'कोइ मिल गया' रिलिजको २० वर्ष पुरा भएको छ। यही अवसर पारेर भारतमा फिल्म पुनः रिलिज गर्न लागिएको हो।
४ अगस्टदेखि यो फिल्म भारतको ३० सहरमा प्रदर्शन हुँदैछ। फिल्मका निर्देशक राकेश रोशनले फिल्म रिलिजको २० वर्ष पुरा भएपछि खुशी व्यक्त गरेका छन्।
'दर्शकले २० वर्षपछि पनि कसैको फिल्म मन पराइरहेका छन् भने फिल्ममेकरको रूपमा त्योभन्दा ठूलो खुशी कुनै हुँदैन। हामीले यो फिल्म बच्चा र उनको आमाबुबाले मनपराउन सक्छन् भनेर बनाएका हौं,' उनले भने, 'आज २० वर्षपछि पनि दर्शकहरू 'कोइ मिल गया' र रोहितको भूमिकालाई रिक्रिएट गरिरहेका छन्। यो फिल्म अहिलेसम्म दर्शकको मनमस्तिष्क छ भन्ने देखेर निकै खुशी लाग्छ।'
यो फिल्म भारतको पहिलो साइन्स-फिक्सन फिल्म हो। फिल्ममा एक एलियन पनि देखाइएको थियो। फिल्मलाई दर्शकले खुबै रूचाएका थिए।
सन् २००३ मा रिलिज भएको फिल्ममा ऋतिक रोशन, प्रिती जिन्टा र रेखाको मुख्य भूमिका छ।
'कोइ मिल गया' सुपरहिट भएपछि यसको सिक्वेल 'कृष' र 'कृष ३' प्रदर्शन गरिएको थियो। हाल राकेश र ऋतिक 'कृष ४' को तयारीमा छन्।