बलिउड अभिनेता सनी देओल र अमीषा पटेल आफ्नो आगामी फिल्म 'गदर २' को प्रमोशनमा व्यस्त छन्।
अनिल शर्माले निर्देशन गरेको फिल्म 'गदर' ले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको थियो। यसको दोस्रो भागलाई लिएर निर्माण टिमसँगै दर्शक उत्साहित छन्।
फिल्मले राम्रो कमाइ गर्ने भारतीय फिल्मकर्मीको अपेक्षा छ। यो फिल्मसँग दक्षिण भारतीय फिल्म 'जेलर' प्रदर्शन हुने भएको छ।
अभिनेता रजनीकान्तको फिल्म प्रदर्शन हुने भएपछि 'गदर २' को कमाइमा असर पर्न सक्ने भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
'गदर' सन् २००१ मा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको थियो। १९ करोड लगानीमा बनेको फिल्मले १३३ करोड भारू कमाएको थियो। यसको दोस्रो भाग ११ अगस्टदेखि प्रदर्शन हुँदैछ।
यो फिल्मभन्दा एक दिनअघि रजनीकान्तको फिल्म 'जेलर' प्रदर्शन हुनेछ। रजनीकान्तको हिन्दी बक्स अफिसमा पनि राम्रो क्रेज छ। त्यसैले 'गदर २' को कमाइमा असर पर्न सक्ने बताइएको छ।
अनिल शर्माले निर्देशन गरेको फिल्म 'गदर २' मा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।
नेल्सन निर्देशित फिल्म 'जेलर' मा राजनीकान्तसँगै मोहनलाल, ज्याकी श्राफ, तमन्ना भाटिया, शिवा राजकुमार, राम्य कृष्णनलगायत कलाकारको अभिनय रहनेछ। फिल्ममा मोहनलाल अतिथि भूमिकामा देखिनेछन्।