बलिउड अभिनेत्री कृति सेनन निर्माता बन्ने भएकी छन्।
उनले फिल्म निर्माण कम्पनी ब्लू बटरफ्लाई फिल्म्स प्रोडक्सन खोलेकी छन्। उक्त जानकारी उनले इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै दिएकी हुन्।
'अब गियर परिवर्तन गर्ने समय आइसक्यो। मैले जादूमय इन्डस्ट्रीमा ९ वर्षदेखि आफ्नो सपना पुरा गरिरहेकी छु। मैले सानो-सानो पाइला चाले, आफूलाई परिपक्क बनाउँदै गएँ र धेरै कुराहरू सिकेर म एक अभिनेत्री बनेँ। मलाई फिल्म मेकिङको हरेक काम मनपर्छ। मनदेखि ब्लू बटरफ्लाई फिल्म्सबाट ठूलो काम सुरू गर्न निकै उत्साहित छु,' उनले लेखेकी छन्।
उनको निर्माणमा बन्ने पहिलो फिल्म 'दो पत्ती' नेटफ्लिक्समा प्रदर्शन हुनेछ। फिल्ममा कृतिसँगै काजोल, मोनिका, कनिका ढिल्लोको मुख्य भूमिका रहनेछ।
उनी पछिल्लो समय फिल्म 'आदिपुरुष' मा देखिएकी थिइन्। ओम राउतले निर्देशन गरेको फिल्ममा कृतिसँगै प्रभास र सैफ अली खानको मुख्य भूमिका छ।
६ सय करोड लगानीमा बनेको फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन। फिल्मलाई आफ्नो लगानी उठाउन समेत सकस भइरहेको छ।
'आदिपुरुष' पछि उनी शाहिद कपूरसँग नयाँ फिल्ममा देखिनेछिन्। यी बाहेक उनी 'भेडिया २' र 'गणपतः पार्ट १' मा देखिनेछिन्।