बलिउड फिल्म 'द केरल स्टोरी' भारतीय बक्स अफिसमा हिट भयो। फिल्मले घरेलु बक्स अफिसमा २०० करोड भारू बढी कमाइ गरेको छ।
प्रदर्शनअघि फिल्मको खासै चर्चा नभए पनि प्रदर्शनपश्चात 'द केरल स्टोरी' ले बक्स अफिसमा आक्रमक व्यापार गरेको हो। विवादित विषयमा फिल्म बनाएको भन्दै भारतका विभिन्न राज्यमा प्रतिबन्ध लगाइएको थियो।
फिल्ममा हिन्दु युवतीलाई मुस्लिम धर्मान्तरण गरेर इस्लामिक स्टेट अफ इराक र सिरिया (आईएसआईएस) जस्ता आतंकवादी संगठनमा कसरी भर्ना गरिएको छ भन्ने कथा देखाएको छ।
विवादित विषयमा फिल्म बनाएकै कारण फिल्म ओटिटीमा बिकेको छैन। हलमा हिट भएको फिल्मलाई कुनै पनि ओटिटी माध्यम लिन तयार नभएको भारतीय सञ्चारमाध्यम बलिउड हंगामामा उल्लेख छ।
निर्देशक सुदीप्तो सेनले 'द केरल स्टोरी' ओटिटी माध्यममा रिलिज गर्न राम्रो व्यवसायिक प्रस्ताव नपाएको बताए।
'कुनै पनि ओटिटी माध्यमबाट हामीले राम्रो अफर पाएका छैनौं,' उनले भने, 'बक्स अफिसमा हाम्रो सफलताले फिल्म उद्योगका केही व्यक्ति चिन्तित छन्। मनोरञ्जन उद्योगका एक वर्ग हाम्रो सफलताको सजाय दिन एकजुट भएका छन्।'
ओटिटी माध्यमका सञ्चालकहरूले भने कुनै पनि राजनीतिक विवादले घेरिएको फिल्मलाई लिन नचाहेको बताएका छन्।
सुदीप्तो सेनले निर्देशन गरेको फिल्ममा अदा शर्मा, योगीता बिहानी, सोनिया बलानी, सिद्धी अडलानी, विजय कृष्ण, प्रणय पचौरी, प्रनव मिश्रालगायत कलाकारको अभिनय छ।