'आरआरआर' का अभिनेता रामचरण र उपासना बुवा-आमा बनेका छन्।
उपासनाले मंगलबार छोरीलाई जन्म दिएकी हुन्। उनीहरू विवाह गरेको ११ वर्षपछि अभिभावक बनेका छन्।
उनीहरू अभिभावक बनेको जानकारी रामचरणका बुवा चिरञ्जिवीले ट्विटरमार्फत दिएका हुन्।
'सानी मेगा राजकुमारीलाई स्वागत छ। तिम्रो आगमनले लाखौं परिवारमा खुशी छाएको छ। तिमीले रामचरण र उपासनालाई बुवा-आमा बनाएकी छौं भने हामीलाई हुजुरबुवा-हजुरआमा। हामी एकदमै खुशी छौं,' उनले लेखेका छन्।
रामचरण र उपासनाले सन् २०१२ मा विवाह गरेका थिए।
चिरञ्जिवीका छोराका रूपमा फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता राम चरण तेलुगु फिल्मका मुख्य स्टारमध्येका एक बनिसकेका छन्।
उनका फिल्म व्यवसायिक रूपमा जति सफल छन् अभिनेताका रूपमा उनी त्यति नै प्रशंसित छन्। 'मगधिरा' देखि 'आरआरआर' सम्म आइपुग्दा उनले त्यसको प्रमाण दिइसकेका छन्।