बलिउड अभिनेता अजय देवगन र दक्षिण भारतीय अभिनेता मोहनलालको फिल्म 'दृश्यम ३' एकसाथ प्रदर्शन हुने भएको छ।
यी दुवै फिल्मलाई जीतु जोसेफले निर्देशन गर्नेछन्। फिल्मको छायांकन पनि एकसाथ हुने भारतीय सञ्चारमाध्यम पिंकभिलामा उल्लेख छ।
सन् २०१३ मा 'दृश्यम' को सुरूवात मोहनलाल र निर्देशक जोसेफले गरेका थिए। त्यसपछि अजय देवगनले सन् २०१५ मा हिन्दी रिमेक गरेका थिए। यो फिल्म तमिलमा कमल हसन र तेलुगुमा वेंकटेशले रिमेक गरेका छन्।
मलयालम र हिन्दीमा 'दृश्यम' को दोस्रो संस्करण प्रदर्शन भइसकेको छ। यसैबीच 'दृश्यम ३' को तयारी भइरहेको छ।
'दृश्यम ३' मा कहानीको अन्त्य हुने बताइएको छ। फिल्मको कहानी लिक नहोस् भनेर यी दुवै फिल्म एकसाथ प्रदर्शन गर्न लागिएको हो।
मलयालम फिल्म 'दृश्यम ३' मा मोहनलाल जर्ज कुट्टीको भूमिकामा देखिनेछन् भने हिन्दी फिल्म 'दृश्यम ३' मा अजय देवगन विजय सलगाउँकरको भूमिकामा देखिनेछन्। सन् २०२४ मा फिल्मको छायांकन सुरू गरिनेछ।
अजय देवगनको फिल्म 'दृश्यम' र 'दृश्यम २' बक्स अफिसमा हिट भएको थियो। त्यस्तै मोहनलालको फिल्म 'दृश्यम' र 'दृश्यम २' पनि हिट सावित भएको थियो।
यो फिल्मको रिमेक कोरियामा पनि बन्ने भएको छ। कोरियन रिमेकमा अजयले निर्वाह गरेको भूमिकामा 'प्यारासाइट' का अभिनेता सुङ काङ देखिनेछन्।
यो दक्षिण कोरियामा रिमेक हुने पहिलो भारतीय फिल्म हो। कोरियन रिमेकलाई किम जी वनले निर्देशन गर्नेछन्। 'दृश्यम' को रिमेक भए पनि फिल्ममा केही परिवर्तन हुने भारतीय सञ्चारमाध्यम दैनिक जागरणमा उल्लेख छ।