बलिउड अभिनेता रणवीर कपूरको फिल्म 'एनिमल' को प्रि-टिजर सार्वजनिक भएसँगै विवादमा तानिएको छ।
फिल्मलाई कोरियन फिल्म 'ओल्ड ब्वाइ' को एक्सन सिन चोरीको आरोप लागेको हो। आइतबार 'एनिमल' को टिजर सार्वजनिक गरिएको थियो। उक्त टिजरमा देखाइएको एक्सन सिन 'ओल्ड ब्वाइ' सँग मिल्दाेजुल्दाे छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले दुवै फिल्मको एक्सन सिन राख्दै तुलना गरिरहेका छन्। दुवै फिल्ममा औजारको सहयोगमा हिरोले गुन्डासँग लडाइँ गरिरहेको देखाइएको छ।
'फिल्मको टिजर क्रोधले भरिएको छ। तर निर्देशकले यसमा कोरियन फिल्म 'ओल्ड ब्वाइ' को एक्सन सीन चोरेका छन्। तपाई योभन्दा राम्रो गर्न सक्नुहुन्थ्यो,' एक सामाजिक प्रयोगकर्ताले लेखेका छन्।
सन् २००३ मा प्रदर्शन भएको फिल्म 'ओल्ड ब्वाइ' एक्सन सिनको कारण चर्चामा आएको थियो। फिल्मलाई पार्क चान वूकले निर्देशन गरेका हुन्।
सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्म 'एनिमल' मा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्मको कथा निर्देशक सन्दीपले नै तयार पारेका हुन्।
फिल्ममा भुषण कुमार, प्रणय रेड्डी वांगा, मुरद खेतानी र कृष्ण कुमारको लगानी रहेको छ।
यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा ११ अगस्टदेखि प्रदर्शन हुनेछ।