बलिउड अभिनेता शाहरूख खानको निकै राम्रो फ्यान फलोइङ छ।
उनको एक झलक पाउन हजारौं फ्यान मुम्बईको बान्द्रास्थित घर 'मन्नत' मा उपस्थित हुन्छन्। शाहरूख घरको बार्दली निस्केर आफ्ना फ्यानलाई अभिवादन गर्छन्।
यसैगरी उनी शनिबार पनि घरको बार्दलीमा फ्यानलाई अभिवादन गर्न निस्केका थिए। जुन १० मा भने उनका फ्यानले गिनीज वर्ल्ड रेकर्ड नै राखेका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले शाहरूखसँग एकसाथ आइकनिक पोज दिएर वर्ल्ड रेकर्ड राखेका हुन्।
मन्नतको बाहिर करिब ३०० जना फ्यानले शाहरूखसँगै दुई हात फैलाएर पोज दिएका थिए। साथै उनीहरूले फिल्म 'पठान' को 'झुमे जो पठान' गीतमा नृत्य गरेका थिए।
शाहरूखको फिल्म 'पठान' जुन १८ मा स्टार गोल्डमा प्रिमियर हुँदैछ। स्टार गोल्डले शनिबार शाहरूखका फ्यानलाई एक मञ्चमा उपस्थित गराएको हो।
'आजको यो कार्यक्रम गिनीज वर्ल्ड रेकर्डको मात्र होइन, शाहरूख र उनका फ्यानका सामूहिक जोशको एकताको प्रतीक हो। हामी फिल्म पठानको प्रिमियरको लागि उत्साहित छौं। यतिबेला सबैभन्दा धेरै शनिबारको ऐतिहासिक पलको लागि उत्साहित छौं। यो कार्यक्रम गरेर हामीलाई खुशी लागिरहेको छ,' स्टार गोल्डका प्रवक्ताले भने।
'पठान' योवर्ष भारतमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म हो। फिल्मले विश्वभरबाट १ हजार भारूभन्दा बढी कमाइ गरेको छ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।
शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।