दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म 'आदिपुरुष' जुन १६ अर्थात असार १ गतेदेखि प्रदर्शन हुँदैछ।
फिल्म प्रदर्शनअघि 'द कश्मीर फाइल्स' र 'कार्तिकेय २' निर्माताले 'आदिपुरुष' को १० हजार टिकट किनेका छन्। बुधबार निर्माता अभिषेक अग्रवालले भगवान श्रीरामको नाममा उक्त टिकट दान गर्ने घोषणा गरेका छन्।
'आदिपुरुष सबैले हेर्नुपर्ने फिल्म हो। श्रीरामप्रति मेरो भक्ति र आस्थाको कारण मैले तेलंगानाको सरकारी विद्यालय, अनाथालय र वृद्धाश्रमहरूलाई १० हजारभन्दा बढी टिकट निःशुल्क दिने निर्णय गरेको छु,' उनले ट्विटरमा लेखेका छन्। साथै उनले टिकट पाउन एक फारम भर्न अनुरोध गरेका छन्।
उनको उक्त निर्णयप्रति प्रतिक्रिया दिदै प्रभासले लेखेका छन्, 'सर यो एकदमै सराहनीय कदम हो।'
त्यस्तै 'आदिपुरुष' निर्माण टिमले पनि हनुमानका लागि हरेक हलमा एक सिट खाली राख्ने बताएका छन्।
ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।
आदिपुरुष थ्री-डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ।
यो फिल्म हिन्दी, तेलुगु, तमिल, मलयालम, कन्नड गरी पाँच भाषामा प्रदर्शन हुनेछ।