भारतीय अभिनेता नसीरुद्दीन शाह अभिनयसँगै विवादका कारण चर्चामा आउँछन्। उनी राजनीतिदेखि संवेदनशील मुद्दाहरूमा पनि आफ्नो धारणा राखिरहेका हुन्छन्।
हालै भारतीय सञ्चारमाध्यम ललन्टपलाई दिएको अन्तर्वाताका कारण उनी पुनः चर्चामा आएका छन्। उनले फिल्मफेयर अवार्डलाई बाथरूमको ढोकाको ह्यान्डलमा राख्ने बताएका छन्।
'मैले मुम्बईमा एक फार्महाउस बनाएको छु। त्यहाँका ढोकामा लागेको ह्यान्डल मैले अवार्डले बनाएको हुँ। यदि मेरो घरमा कोही आए भने उनीहरूले फिल्मफेयरको दुई अवार्ड बाथरूमको ढोकामा पाउनु हुनेछ,' उनले भने।
आफ्नो लागि अवार्डको कुनै महत्व नभएको बताउँदै उनले भने, 'मेरो लागि अवार्डको कुनै महत्व छैन। पहिला अवार्ड पाउँदा खुशी हुन्थेँ। बिस्तारै अवार्ड धेरै भए, खुशी कम हुँदै गयो। मलाई अवार्डको कन्सेप्ट के हो थाहा छैन। मिहेनत त सबै कलाकार गर्छन् तर उत्कृष्ट अभिनेताको अवार्ड एक जनालाई मात्र दिइन्छ। यो उचित होइन।'
उनले पछिल्लो समय दुई अवार्ड लिन समेत नगएको बताएका छन्।
सन् १९७५ मा 'निशान्त' बाट अभिनयमा डेब्यू गरेका नसीरुद्दीनले १ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। उनी पछिल्लो समय फिल्म 'कुत्ते' मा देखिएका थिए।