बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खानले आफ्नो डेब्यू निर्देशनमा बन्ने वेब सिरिजको छायांकन सुरू गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले शुक्रबारदेखि वेब सिरिजको छायांकन सुरू गरेका हुन्। आफ्नो छोराको हौसला बढाउन शाहरूख खान छायांकन सेटमा पुगेका थिए।
यस वेब सिरिजको नाम 'स्टारडम' राखिएको छ। शाहरूख खानले निर्माण गर्न लागेको सिरिज ६ भागमा बन्ने छ।
लक्ष्य लालवानीको मुख्य भूमिका रहने सिरिजमा हिन्दी फिल्म उद्योगको एक काल्पनिक दुनियाँ देखाइने छ।
आर्यन निर्देशकसँगै व्यवसायी पनि हुन्। उनले हालै 'डि याभोल एक्स' कपडाको ब्रान्ड लन्च गरेका थिए। उनी आफ्नो साथी बन्टी सिंह र लेटीसँग मिलेर भोड्का ब्रान्ड पनि लन्च गर्ने तयारीमा छन्।
भोड्का ब्रान्ड लन्च गरेपछि उनी स्पिरिट मार्केट बिस्तारमा लाग्ने बताइएको छ। यस प्रोजेक्टको लागि उनले स्लेब भेञ्चर्स नामको एक कम्पनी खोलेका छन्।
शाहरूखकी छोरी सुहाना खान पनि अभिनयमा डेब्यू गर्दैछिन्। उनी जोया अख्तर निर्देशित ओटिटी फिल्म 'द आर्चिज' मा देखिनेछन्। फिल्ममा उनीसँगै खुशी कपूर, अगस्त्य नन्दा, वेदान्ग रैना र मिहिर आहूजाको अभिनय रहने छ।