बलिउड निर्देशक सिद्धार्थ आनन्दको फिल्म 'पठान' भारतीय बक्स अफिसमा हिट भयो।
यो फिल्मले विश्वभरबाट १ हजार करोड भारूमाथि कमाइ गरेको छ। 'पठान' हिट भएसँगै यशराज फिल्म्सले 'टाइगर भर्सेस पठान' निर्माण घोषणा गरिएको थियो। यो फिल्मलाई पनि उनले नै निर्देशन गर्नेछन्।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार यो फिल्मका लागि उनले ४० करोड भारू पारिश्रमिक लिने भएका छन्। योसँगै उनी बलिउडका सबैभन्दा महंगा निर्देशक बनेका छन्।
यसअघि यशराज फिल्म्सले अयान मुखर्जीलाई फिल्म 'वार २' का लागि ३२ करोड भारू पारिश्रमिक दिने सम्झौता गरेको थियो। अयानलाई पछि पार्दै सिद्धार्थ महंगा निर्देशक बनेका हुन्।
त्यसो त उनले प्रभासको अभिनय रहने प्यान इन्डियाको फिल्म निर्देशन गर्न अस्वीकार गरेका छन्। यो फिल्मका लागि निर्माण टिमले ६५ करोड भारू पारिश्रमिकको प्रस्ताव गरेका थिए। उनले आफ्नो व्यस्तताको कारण फिल्म छाडेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
यशराज फिल्म्सले 'टाइगर भर्सेस पठान' लाई भव्य बनाउन हलिउड अभिनेता जेसन ममोआलाई समेत फिल्म प्रस्ताव गरेका छन्।
यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको ७ औं फिल्म हो। यशराज फिल्म्स ब्यानरबाट बनेका 'एक था टाइगर, टाइगर जिन्दा है, वार र पठान' स्पाइ युनिभर्सका फिल्म हुन्।