भारतका धनाढ्य व्यापारी आकाश अम्बानी र उनकी पत्नी श्लोका मेहता दोस्रो सन्तानको बाबुआमा बनेका छन्। आकाश र श्लोका अर्बपति मुकेश अम्बानी र निता अम्बानीका जेठा छोराबुहारी हुन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार श्लोकाले बुधबार छोरीलाई जन्म दिएकी हुन्।
आकाश र श्लोकाका यसअघि एक छोरा थिए।
टाइम्स अफ इन्डियाका अनुसार श्लोकाले गत अप्रिलमा 'निता मुकेश अम्बानी कल्चरल सेन्टर' को उद्घाटन कार्यक्रममा आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी थिइन्।
छोरीको जन्म हुनुभन्दा केही दिनअगाडि उनीहरू मुम्बईमा रहेको सिद्धिविनायक मन्दिर दर्शन गर्न गएका थिए। उनीहरूका साथमा बुबा मुकेश पनि थिए।
आकाश र श्लोक हाइस्कुलदेखिका साथी हुन्। खबरअनुसार आकाशले श्लोकालाई कलेजको अन्तिम दिनमा बिहेको प्रस्ताव राखेका थिए।
सन् २०१८ मार्चमा गोवामा उनीहरूको इन्गेजमेन्ट भएको थियो। इन्गेजमेन्टमा उनीहरु निकटका व्यक्ति मात्र उपस्थित थिए। उनीहरूको बिहे भने सन् २०१९ मार्चमा भएको हो जुन भव्य रूपमा सम्पन्न भएको थियो।
आकाश अम्बानी समूहको रिलायन्स जियोका अध्यक्ष हुन्।