पछिल्ला केही वर्षयता दक्षिण भारतीय फिल्महरूले कमाइको मामिलामा बक्सअफिसमा नयाँनयाँ रेकर्ड बनाइरहेका छन्।
अझ कम बजेटमा बनेका फिल्महरूले राम्रो कमाइ गरेर सबैलाई चकित पारिरहेका छन्। हालै रिलिज भएको एउटा तेलेगू फिल्म यसको उदाहरण हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार 'मेम फेमस' नामक कमेडी फिल्म दर्शकहरूले खुबै रूचाएका छन्। सामाजिक सञ्जालहरूमा यो फिल्मको प्रशंसा भइरहेको छ।
यति मात्र होइन, यो फिल्म रिलिज भएको जम्मा पाँच दिनमै आफ्नो बजेट उकासिसकेको छ। यो फिल्म जम्मा तीन करोड भारूमा बनेको हो।
'मेम फेमस' ले पाँच दिनमा दुई करोड ९३ लाख भारू कमाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसले पहिलो दिन ७४ लाख भारू कमाइ गरेको फिल्मले दोस्रो दिन ७३ र तेस्रो तीन ७२ लाख भारू कमाएको थियव। त्यस्तै चौथो दिन ३८ लाख र पाचौं दिन ३५ लाख भारू कमाएको छ।
'मेम फेमस' ले आगामी दिनमा अझै राम्रो कमाइ गर्ने ट्रेड एनालिस्टहरूको अनुमान छ।
दर्शकले यो फिल्म मात्र होइन, यसका कलाकारहरूलाई पनि रूचाएका छन्।
'आरआरआर' निर्देशक एसएस राजामौलीले पनि यो फिल्मको तारिफ गरेका छन्।
उनले आफ्नो ट्विटरमा लेखेका छन्, 'लामो समयपछि थिएटरमा गएर एउटा फिल्मको पूर्ण रूपमा आनन्द लिएँ। यो सुमन्त भन्ने केटासँग सावधान रहनुहोस्। एक अभिनेता र निर्देशक दुवैका रूपमा यिनको भविष्य उज्ज्वल छ। सबै पात्रहरूलाई राम्रोसँग प्रस्तुत गरिएको छ। र कलाकारहरूको अभिनय पनि राम्रो छ।'
सुमन्त प्रभास यो फिल्मका अभिनेता तथा निर्देशक हुन्।