बलिउड अभिनेता आमिर खानले कमेडियन कपिल शर्मालाई आफ्नो कार्यक्रममा किन नबोलाएको भनेर सोधेका छन्।
पन्जाबी फिल्म 'क्यारी अन जट्टा' को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा उनीहरूको भेट भएको थियो। कार्यक्रममा पुगेका आमिरले र कपिल एकै स्टेजमा देखिएका थिए।
भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार कार्यक्रममा आमिरले कपिललाई आफ्नो कार्यक्रम 'द कपिल शर्मा शो' मा किन नबोलाएको भनेर सोधेका थिए।
आमिरले कार्यक्रममा कपिलसँगै उभिएर भनेका थिए, 'म आजभोलि धेरै समय परिवारसँग बिताइरहेको छु। मलाई हरेक रात सुत्नुभन्दा अगाडि रमाइला कुरा हेर्न मन पर्छ। मैले पछिल्ला केही महिनामा कपिल शर्मा शोका धेरै भागहरू हेरेँ र म कपिलको कामको प्रशंसक पनि बनेँ। केही साताअघि मैले उहाँको प्रशंसा गर्न फोन पनि गरेको थिएँ।'
यसपछि आमिरले कपिललाई सोधे, 'कपिलले मलाई केही भन्नुअगाडि नै म सोध्दैछु। म कपिलभन्दा एक कदम अगाडि छु। मलाई अचम्म लागेको चाहिँ, मलाई कपिल शर्मा शोमा पाहुना बनाएर किन कहिल्यै नबोलाएको?'
आमिरको प्रश्नपछि कपिलले सोही कार्यक्रममा आमिरलाई शोका लागि तीनपटक निम्ता गरिसकेको बताए। तर उनलाई उपस्थित गराउन कपिल असमर्थ भए।
'तपाईंलाई हाम्रो कार्यक्रममा ल्याउन पाए त हाम्रो अहोभाग्य नै हो। मैले तपाईंलाई सधैं भिडभाडमा मात्र भेटेको छु। मैले जहिल्यै उहाँलाई कार्यक्रमका लागि निम्ता दिएँ। तर उहाँले जहिल्यै अन्तै कतै जानु छ, आएर भेटौंला भन्दै टार्नुभयो। त्यसपछि त आज हाम्रो भेट तीन वर्षपछि भएको हो।'
कपिलले यसो भन्दै गर्दा आमिरले उनलाई बीचमै रोकेर भने, 'म सय प्रतिशत आउँछु। तर म एउटा कुरा भन्छु। तपाईं मलाई फिल्म रिलिजको बेला बोलाउनुहुन्छ। मलाई रिलिजका लागि आउनु छैन। मलाई यसै रमाइलोका लागि बोलाउनु न।'
कामको कुरा गर्दा आमिर खान अहिले अघोषित 'ब्रेक' मा छन्। उनले अहिल्यै नयाँ फिल्म खेल्न आफू भावनात्मक रूपमा तयार नभएको बताएका छन्। उनको पछिल्लो फिल्म 'लालसिंह चढ्ढा' सफल हुन सकेन।
यो फिल्मपछि उनी काजोलको फिल्म 'सलाम वेंकी' मा केमियो भूमिकामा देखिएका थिए।