दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म 'आदिपुरुष' को तेलुगु राइटस बिक्री भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो फिल्मको तेलुगु राज्यको थिएट्रिकल राइटस १७० करोड भारूमा बिक्री भएको हो। यो रकम निकै महंगो बताइएको छ।
यो निर्देशक ओम राउतको पहिलो प्यान इन्डिया फिल्म हो। फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा प्रदर्शन हुँदैछ। अन्य भाषाको थिएट्रिकल राइटस बिक्री हुन बाँकी छ।
आदिपुरुष थ्री-डी फिचर फिल्म हो। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ। यसमा कला, संस्कृति र साहित्यको सही मिश्रण पाउन सकिने फिल्म टिमले बताएको छ।
पहिला 'आदिपुरुष' करिब ५ सय करोड भारूमा बनेको बताइएको थियो। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार पुनः भिएफएक्स भएसँगै फिल्मको बजेट करिब ६ सय करोड भारू पुगेको छ। योसँगै 'आदिपुरुष' भारतकै महंगो फिल्म भएको छ।
फिल्ममा प्रभासले राम, कृतिले सिता र सैफ अली खानले रावणको भूमिका निर्वाह गरेका छन्। यो फिल्म जुन १६ अर्थात असार १ गतेदेखि प्रदर्शन हुँदैछ।