दक्षिण भारतीय अभिनेता अजित कुमारले हालै बाइकमा नेपाल र भुटान भ्रमण गरेका थिए।
नोभेम्बरदेखि बाइक यात्रा सुरू गरेका अजितले मे ६ मा आफ्नो यात्रा अन्त्य गरेका हुन्। उनले सुगत सतपथीसँग नेपाल र भुटान भ्रमण गरेका थिए।
आफ्नो यात्रा सकिएपछि अजितले सुगतलाई १२ लाख भारू मूल्यको बिएमडब्लु सुपरबाइक उपहार दिएका छन्। सुगतले इन्स्टाग्राममार्फत अजितका लागि दुई पटक बाइक यात्रा आयोजना गरेको बताएका छन्।
'मेरो लागि २०२२ को अन्त्य एकदमै राम्रो रह्यो। तमिल फिल्म उद्योगका सबैभन्दा ठूला सुपरस्टार मध्येका एक अजित कुमारको सम्पर्कमा आउन पाउँदा म आफूलाई सौभाग्यमानी ठान्छु। बाइक चलाउन शौखिन अजितका लागि मैले उत्तर-पूर्व भ्रमणको आयोजना गरेँ। म उहाँसँग ड्यूक ३९० मा सवार थिएँ। उहाँसँगको यात्रा अविस्मरणीय रह्यो। हामीले धैरे सुन्दर सूर्यास्त र सूर्योदयहरू देख्यौं,' उनले लेखेका छन्, 'मैले अहिलेसम्म सबैभन्दा राम्रा मान्छेसँग भेटेँ। उहाँ एक चर्चित अभिनेता भए पनि उहाँको नम्रता देखेर छक्क परेँ। सुपरस्टारको पछाडि एक साधारण जीवनलाई ठूलो तरिकामा बाँच्न इच्छुक! ठूलो भन्नुको मेरो मतलब विलासिता होइन तर मानसिक शान्ति हो। तपाईले दिनुभएको यो उपहार मेरो लागि बाइक मात्र नभई धेरै महत्वपूर्ण छ।'
अजित कुमारको पछिल्लो समय फिल्म 'थुनिभु' प्रदर्शन भएको थियो। उनी अभिनेताका साथै कार रेसर पनि हुन्।