बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान बलिउडमा डेब्यू गर्दैछन्।
उनले 'सरजमीन' नामक फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेका हुन्। फिल्म दर्ता गर्दा 'सरजमीन' नाम राखिए पनि नाम परिवर्तन हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ। फिल्ममा काजोलको पनि मुख्य भूमिका रहनेछ।
इब्राहिमले बलिउडमा डेब्यू गर्न लागेको जानकारी अभिनेत्री सारा अली खानले दिएकी हुन्। कान्स फिल्म फेस्टिभलमा सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले भनिन्, ‘इब्राहिमले हालै आफ्नो पहिलो फिल्मको छायांकन सकेका छन्। उनी छायांकन सेटबाट फर्किदा हामी कुरेर बस्छौं। हामी एक-अर्काको एकदमै नजिक छौं।’
इब्राहिम सैफ र उनकी पूर्व पत्नी तथा अभिनेत्री अमृता सिंहका छोरा हुन्। सारा अली खान इब्राहिमकी दिदी हुन्। साराले बलिउडमा प्रवेश गरेर आफ्नो ठाउँ बनाइसकेकी छन्।
सारा आगामी फिल्म ‘जरा हटके जरा बचके’ मा देखिनेछिन्। फिल्ममा उनीसँगै विक्की कौशलको पनि मुख्य भूमिका रहेको छ।
इब्राहिम आफ्ना बुवा सैफ जस्तै देखिन्छन्। सामाजिक सञ्जालमा बेलाबेला जवान सैफका तस्बिरसँग इब्राहिमको तस्बिर राखेर उनीहरूको समान अनुहारको चर्चा पनि हुन्छ।